आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
नेपाली चलचित्र

२०८० मा १५२ फिल्म दर्ता, एक अर्ब ८७ करोडभन्दा बढी निर्माण लागत

सोमबार, १० वैशाख २०८१, १० : २३
सोमबार, १० वैशाख २०८१

काठमाडौँ । नेपाली फिल्म ‘होस्टेल ३’ वैशाख ३ गते निर्माण घोषणा भयो । ‘होस्टल’को तेस्रो सिक्वेलको रूपमा निर्माण हुन लागेको फिल्म सशान कँडेलले निर्देशन गर्दैछन् । फिल्मले घोषणाको अघिल्लो दिन अर्थात् २ गते चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको थियो ।

एक समयका भाइरल बालगायक अशोक दर्जीको मुख्य भूमिका रहने फिल्म ‘मनबिनाको धन ठुलो कि धनबिनाको मन’ गत बुधबार निर्माण घोषणा गरियो । सङ्गीतकार टंक बुढाथोकीको निर्माण, निर्देशन रहने फिल्मले घोषणा गरेको भोलिपल्ट अर्थात् बिहीबारमात्र निर्माण इजाजत पत्र लियो ।

यी दुवै फिल्मले नयाँ वर्ष लागेपछि अर्थात् २०८१ को सुरुवातमा निर्माण इजाजत पत्र लिएका हुन् । यसरी हरेक वर्ष बोर्डबाट निर्माण इजाजत पत्र लिने फिल्मको सङ्ख्या १०० देखि १६० सम्म हुने गरेको छ ।

गत वर्ष अर्थात् २०८० (वैशाखदेखि चैतसम्म) बोर्डबाट निर्माण अनुमति लिने फिल्मको सङ्ख्या १५२ छ । यो वर्ष कुनै महिना ६ फिल्म र कुनै महिना २१ फिल्मसम्मले निर्माण इजाजत पत्र लिएको देखिन्छ ।

बोर्डबाट वैशाखमा ९ फिल्म, जेठमा १०, असारमा १७ फिल्मले निर्माण इजाजत पत्र लिएका छन् । त्यस्तै साउनमा १०, भदौमा १९, असोजमा १३, कार्त्तिकमा ६, मङ्सिरमा १६, पुसमा १०, माघमा २१, फागुनमा १३ र चैतमा ८ फिल्मले निर्माण इजाजत पत्र लिएका छन् ।

यो वर्ष सबैभन्दा बढी माघमा २१ फिल्म र कम  कार्त्तिकमा ६ फिल्मले निर्माण इजाजत पत्र लिएका छन् । नेपालमा चलचित्र निर्माणपूर्व विकास बोर्डबाट निर्माण अनुमति लिएपछि मात्र छायाङ्कनमा जाने प्रावधान छ । तर कतिपयले भने फिल्म निर्माण सकाएर पनि अनुमति पत्र लिने गरेको बोर्डका प्रवक्ता केएल बुढाथोकी बताउँछन् । यसो गर्दा कहिलेकाहीँ नाममा समस्या समेत पर्ने गरेको बुढाथोकीले बताए ।

  • कति लगानीको घोषणा ?

वर्ष २०८० मा चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिने १५२ फिल्म सबै एकै खालमा छैनन् । यीमध्ये धेरैजसो नेपाली फिल्म र केही भाषाभाषी फिल्मसमेत छन् । फिल्म अनुसार निर्माण लागत घोषणा हुने गर्दछ ।

दर्ता भएकामध्ये सबैभन्दा थोरै निर्माण लागत घोषणा भएका फिल्म ‘एल्लो’ र ‘पापी मन’ गरेर दुई फिल्म छन् । यी दुई फिल्मको निर्माण लागत जम्मा १२ लाख ५० हजार उल्लेख गरिएको छ ।

‘एल्लो’ मझारे इन्टरटेनमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । फिल्मका निर्देशक अर्पण गिरी हुन् । ‘पापी मन’ अदिति कलेक्सन मल्टिप्रपोज प्रालिको ब्यानरमा बन्न लागेको हो । फिल्मका निर्देशक प्रेम बस्याल हुन् ।

त्यस्तै सबैभन्दा धेरै निर्माण लागत फिल्म ‘सिड्नी ब्लुज’को छ । ५ करोड निर्माण लागत घोषणा भएको फिल्म ‘सिड्नी ब्लुज’ आर्ट मुभिज प्रालिले बनाउन लागेको हो, जसको निर्देशक शंकर कार्की छन् ।

यस्तै निर्माण घोषणा भएकामध्ये ५ करोडभन्दा तल ४ करोडसम्म लागत रहने ‘काजी’ र ‘बेहुली फ्रम मेघौली’ गरेर २ फिल्म छन् । ‘बेहुली फ्रम मेघौली’ अभिनेत्री स्वस्तिमा खड्का निर्माता रहेको फिल्म हो भने ‘काजी’ लक्ष्मण रिजालले निर्माण–निर्देशन गर्न लागेका हुन् ।

३ करोडदेखि ४ करोडभित्रका फिल्म भने ५ वटा छन् । जसमा ‘भिमा देवी इन सिड्नी’, ‘यो मन त मेरो नेपाली हो’, ‘लाकुरी’, ‘एक्लो’ र ‘फर्कि फर्कि’ छन् ।

२ करोडदेखि ३ करोडभित्रका फिल्म भने २४ वटा छन् । जसमा ‘तेल भिषा’, ‘जय नेपाल’, ‘रंगेली’, चमेलीको पोई’, ‘लाइटर’, ‘हब्बा’, ‘अवतार’, ‘राजमहल’, ‘ट्वीङ्कल ट्वीङ्कल’, ‘छब्बिस करोड’, ‘बलिघाट’, ‘दान्भी’, ‘रुमानी रंग’, ‘कैँची’, ‘पहाड’, ‘बाघचाल’, ‘ज्वाइँ साब’, ‘फनफनी’, ‘बाणी’, ‘ओह प्रिया’, ‘कासाङ’, ‘कोत पर्व’, ‘वरिष्ठ बलराम’ छन् ।

बाँकी १२० फिल्मको निर्माण लागत १३ लाखदेखि २ करोडभन्दा तल छ ।

२०८० मा दर्ता भएका सबै फिल्मले घोषणा गरेको लागत एकमुष्ट जोड्ने हो भने १ अर्ब ८७ करोड ९३ लाखभन्दा बढी हुन आउँछ ।

  • आठ फिल्म प्रदर्शन भइसके

चलचित्र विकास बोर्डबाट वर्ष २०८० मा निर्माण अनुमतिपत्र लिएकामध्ये ८ फिल्म तयार भएर प्रदर्शनमा आइसकेका छन् । जसमा ‘डाकिनी लुकिङ’, ‘हल्कारा’, ‘नीरफूल’, ‘परदेशी २’ ‘उपहार’, ‘रंगेली’, ‘जम्प’ र ‘महानगर’ छन् ।

त्यस्तै ‘उनको सुइटर’, ‘खजुरे ब्रो’, ‘मनसरा’, ‘दान्भी’, ‘पूजार सार्की’ र ‘लाखे आजु’, ‘बिच्छेद’ गरेर ७ फिल्म निर्माण पूरा भएर प्रदर्शनको तयारीमा छन् ।

फिल्म ‘मायाबी’, ‘ईश्वर’, ‘सितामोल’, ‘झिल्को’, ‘बेहुली फ्रम मेघौली’, ‘पर्खि बसे फर्कि आउनेछ’ु, ‘मेयर’, ‘पिताम्बर’ र ‘सितामोल’ मध्ये केही फिल्मको छायाङ्कन भर्खर सकिएको छ भने केही फिल्म पोष्ट प्रोडक्सनमा छन् ।

  • कहिल्यै नबन्ने फिल्म पनि दर्ता : बोर्ड

चलचित्र विकास बोर्डमा हरेक वर्ष दर्ता हुने दर्जनौँ फिल्ममध्ये कतिपय फिल्म निर्माण नै नहुने गरेको पनि पाइन्छ । समयमा फिल्म निर्माण नभएर कतिपयले पुनः दर्ता गर्ने गरेको पनि पाइन्छ । बोर्डमा दर्ता भएको फिल्म तीन वर्षभित्र निर्माण पूरा गरेर सेन्सर गराउनुपर्ने प्रावधान छ । अन्यथा फेरि बोर्डमा दर्ता गर्नुपर्छ ।

चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकी पनि बोर्डमा दर्ता भएका सबै फिल्म निर्माण नहुने बताउँछन् । ‘केही आइडिया आयो वा नाम राम्रो लाग्यो भने पहिले नाम दर्ता गरेर राख्ने चलन छ । त्यसले गर्दा पनि फिल्म दर्ता धेरै हुन्छ’, बुढाथोकीले भने, ‘दर्ता भएको फिल्म सबै निर्माण कहिल्यै भएको छैन । त्यो सेन्सर बोर्डको डाटाले पनि देखाउँछ ।’

कतिपय फिल्म हावामा, विना तयारी दर्ता गर्ने गरिएको बुढाथोकीको भनाइ छ । ‘लहरको रूपमा पनि दर्ता गरेर पछि हराउने गर्छन्’, उनले थपे, ‘कतिपय त राम्रो नाम ओगटेर दर्ता गर्ने र फिल्म नबनाउने पनि छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप