सडक र टोलले सम्झिन्छ सहिद घिमिरेलाई
मकवानपुर । ‘एक युगमा एक दिन एक चोटी आउँछ, उलटपुलट–उथलपुथल, हेरफेर ल्याउँछ ।’ यो गीतका हरेक शब्द र सङ्गीतले युवाहरूमा ऊर्जा थपिदिन्छ । यो गीत दोस्रो जनआन्दोलनका १९ दिनमा हरेक चोक–चौतारोमा गुञ्जिएको थियो ।
२०६३ वैशाख ११ गते जनआन्दोलनको बलमा व्यवस्था ढल्यो । त्यही दिनको सम्झनामा हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिन्छ । तर यो दिन त्यत्तिकै भने आएको होइन । हामीले आज गर्वका साथ राष्ट्रिय पर्वका रुपमा मनाइरहेको यो दिवस आउन कयौँ नेपाली आमाका छोराछोरीले आफ्नो जीवनको बलिदानी दिएका थिए ।
त्यसरी आफ्नो अमूल्य जीवनको आहुति दिनेमध्येका एक थिए बासुदेव घिमिरे । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका– ५ मा जन्मिएका बासुदेवले काठमाडौँको कलंकीमा प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए ।
उनै सहिद बासुदेव घिमिरेका परिवार भने अहिले पनि राज्य र सम्बन्धित निकायको बेवास्ताको सिकार भएको छ । बासुदेव सहिद हुँदा उनको छोरा ३ वर्षका थिए । ती छोरा अहिले उच्च शिक्षाका लागि विदेश गएका छन् ।
बासुदेवका ८३ वर्षीय पिता ख्याउटो अनि कुप्रिएको शरीरका साथ जसोतसो लगलग काँप्दै उभिन्छन् र घरको पिँढीमा रहेको फलैँचा (लामो बेञ्च)मा बस्छन् । दम र खोकीका कारण उनी त्यति बोल्न सक्दैनन् । हिँडडुल त टाढाको कुरा, कति बेला के हुने हो भन्ने अवस्थामा छन् उनी ।
आफ्नोजस्ता कैयन् छोराछोरीको बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र नेपाली जनताले पाउनुपर्ने न्यूनतम सुविधासम्म पाउने वातावरण नबनेको देख्दा उनी दुःखी छन् । सहिदको परिवार भए पनि आफूहरू राज्यबाट सधैँ बेवास्तामा परेको उनको गुनासो छ ।
सुरु सुरुका दिनमा सहिद परिवार भनेर राज्य र राजनीतिक दलहरूले निकै चासो देखाए पनि अहिले बेवास्ता गरेको सहिदपिता घिमिरे बताउँछन् ।
‘पहिले पहिले त विभिन्न राजनीतिक दलका नेताले सम्झिरहन्थे, भेट्न आउँथे, विभिन्न कार्यक्रममा बोलाउँथे,’ उनले भने, ‘तर हिजोआज खासै कसैले सम्झेका छैनन् । अब निकै बुढो भइयो । आवश्यकता नभएर होला ।’
सरकार र राजनीतिक दलहरूसँग उनको धेरै ठुलो अपेक्षा छैन । लोकतन्त्र प्राप्तिको युद्धमा सहादत प्राप्त गरेको छोरोलाई देखाएर राज्यबाट के के नै पाउनुपर्छ भन्ने उनको चाहना छैन । तर सम्झनुपर्नेहरूले नसम्झेकोमा भने गुनासो छ ।
‘सहिदका परिवार के गर्दैछन्, कस्तो अवस्थामा छन् भनेर राज्य र सम्बन्धित निकायले खोजी गर्नुपर्ने होलाजस्तो लाग्छ,’ उनले भने, ‘उमेरले नेटो काट्यो, जीवनसङ्गीले छोडेर गएको तीन वर्ष पुग्नै लाग्यो, रोगहरूले बिस्तारै च्याप्दै लगेको छ । हिँडडुल गर्न र धेरैबेर बोल्न सकिँदैन । औषधिको भरमा जीवन चलिरहेको छ ।’
सहिद परिवारले पाउनुपर्ने सम्मान र इज्जत नगुमोस्, सहिदले लोकतन्त्र ल्याउन गरेको योगदान खेर नजाओस्, सहिदका परिवारलाई नै यो व्यवस्थाप्रति वितृष्णा नजागोस् भन्ने नै आफ्नो चाहना र आकांक्षा रहेको उनले सुनाए ।
सडक र टोल विकासले सम्झिन्छ बासुदेवलाई
सडकको केही माथिपट्टी घिमिरेको घर छ । जस्ताले छाएको घर अनि घर तलतिर पाखो बारी । ५ भाइका लागि १७ कट्ठा जग्गा छ । बारीको तलबाट स्ल्याब गरिएको बाटो छ ।
सो बाटोले सम्झाउँछ सहिद बासुदेव घिमिरेको नाम । गाउँको मुनिबाट बग्छ स्थानीय भालु खोला । हेटौंडा प्रवेशको उत्तरी नाका सामरी पुलबाट पूर्व तर्फ ७÷८ किलोमिटर यात्रा गरेपछि पुगिन्छ भालु खोला । भालु खोला पुल नतर्दै उत्तरतर्फको कोरिडोर कच्ची सडक करिब १ किलोमिटर यात्रा गरेपछि सुरु हुन्छ सहिद बासुदेव मार्ग ।
स्ल्याब ढलान गरिएको करिब ३ किलोमिटर लामो सो सडकको नामकरण सहिद बासुदेवकै नामबाट गरिएको हो ।
मकवानपुरगढी–५, आमभञ्ज्याङमा रहेको घिमिरेको घर रहेको टोलको नाम पनि उनकै नामबाट राखिएको छ । सहिद बासुदेव घिमिरे टोल विकास संस्था नामकरण रहेको सो टोलमा ८० घर रहेको मकवानपुरगढी–५ का अध्यक्ष दिपेश दाहालले जानकारी दिए ।
सो टोल विकास समितिको १ नम्बर घर कायम गरिएको छ सहिद घिमिरेको घर । राज्यले उचित व्यवस्था नगरे पनि सडक र टोल विकासको नामबाट सहिद बासुदेव घिमिरेलाई स्मरण गरिएको छ ।
३ गोली लागेका तिवारीको जागिर खोसियो
२०६२/०६३ को जनआन्दोलनमा लागेको गोलीले जीवनभर शारीरिक रुपमा कमजोर बनाए पनि जनआन्दोलनपछि प्राप्त राजनीतिक उपलब्धिले गोकर्ण तिवारीलाई खुसी दिलाएको छ ।
जनआन्दोलनका क्रममा २०६२ साल चैत २७ गते उनलाई गोली लागेको थियो । काठमाडौँस्थित नयाँ बानेश्वर र कोटेश्वरको मध्य भागमा तत्कालीन राज्य व्यवस्थाको विरुद्ध निस्किएको आन्दोलनको अग्रमोर्चामा रहेका तिवारीलाई प्रहरीले चलाएको ३ वटा गोली लागेको थियो ।
पेट र खुट्टामा गोली लागेर ढलेका तिवारीको ललितपुरमा रहेको बीएण्डबी अस्पतालमा उपचार भएको थियो । झण्डै ३ महिना अस्पताल बसेका तिवारीलाई पेटमा लागेको गोलीले पेटका विभिन्न भाग र मेरुदण्डमा चोट पुगेको थियो भने खुट्टामा लागेको गोलीले जीवनभर सहायक सामग्रीको भरमा हिँडडुल गर्नुपर्ने अवस्थामा पु¥यायो । तर पनि उनी आजको आफ्नो आवस्थाभन्दा आफूले चाहेको व्यवस्था आउँदा खुसी लागेको बताउँछन् ।
जनआन्दोलनको उपलब्धि कै कारण मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएको उनको बुझाइ छ । देशमा जनताका प्रतिनिधिले लेखेको लोकतान्त्रिक संविधान कार्यान्वयनमा रहेको उनले बताए ।
उनका अनुसार देशमा रहेका विभिन्न जातजाति, भाषा भाषी, धर्म सम्प्रदाय, दलित, महिला, पिछडिएका वर्ग सबैको समानुपातिक सहभागिताको सुनिश्चितता हुनेकुरा संविधानमा उल्लेख गरिएको छ, जो आफैँमा ठुलो उपलब्धि हो । राज्यले सधैँ विभेद गरेकाहरू आज राज्यको मुलधारमा आइपुगेको र अन्य कयौँ राजनीतिक उपलब्धिले आफूलाई खुसी दिएको जनआन्दोलनका घाइते तिवारी बताउँछन् ।
तर यी सबैका बाबजुद आज पनि जनताको आर्थिक अवस्थामा परिवर्तन हुन नसक्नु, अझै देशमा राजनीतिक अस्थिरता कायम हुनु, सत्ता प्राप्तिलाई राजनीतिक दलहरूले मूल उद्देश्य बनाउनु, देशले स्थायी सरकार पाउन नसक्नु, भ्रष्टाचार, कमिसनखोरी मौलाउनु, लोकतन्त्रको लडाइँमा हातेमालो गरेका राजनीतिक दल र तिनका नेता कार्यकर्ताहरू लोकतन्त्र संस्थागत गर्ने विषयमा विभाजित हुनु र एकआपसमा आरोप प्रत्यारोपमा उत्रिनुले उनलाई निराश बनाएको छ ।
‘हिजो यो व्यवस्था ल्याउन आफ्नो ज्यानको बाजी लगाएर हिँडेकाहरू आज विभाजित छन् । आम जनताको जनजीविकासँग जोडिएको विषयभन्दा आफ्ना र आफन्तको पछिमात्रै लागे कि भन्ने लाग्छ,’ उनले भने, ‘दलहरूमा सत्ताप्राप्तिभन्दा अर्को ठुलो उद्देश्य नै नभएको भान हुन्छ । देशमा भ्रष्टाचार मौलाएको छ । राज्य र जनताको कुनै पनि काम समयमा सम्पन्न हुँदैनन् । ढिलासुस्ती व्यापक छ । महँगी, बेरोजगारी तीव्ररुपमा बढेको छ । यी कुराहरूले भने साँच्चै मन रुन्छ ।’
जनआन्दोलनको घाइतेका लागि सात राजनीतिक दलको सहमतिबाट स्थानीय तहमा जागिर उपलब्ध गराइएको थियो । सोही अनुरुप तत्कालीन जिविस मकवानपुर र पछि हेटौंडा उपमहानगरपालिकामा जनआन्दोलनका घाइतेका रुपमा उनले रोजगारी त पाए । तर अहिले उनीसँग रोजगारी छैन । तर पनि उनी निराश भने छैनन् ।
केही समय अघिमात्रै हेटौँडा उपमहानगरपालिकाले करारका कर्मचारी कटौती गर्ने बेलामा जनआन्दोलनका घाइते गोकर्ण तिवारीलाई पनि जागिरबाट हटायो । उनलाई जागिरबाट हट्नुपरेको भन्दा पनि जुन आन्दोलनमा आफू घाइते भएर जीवनभर अपाङ्गता भएर बस्नुपरेको छ, त्यसैको उपलब्धिका जगमा निर्वाचित जनप्रतिनिधिले बिर्सिएकोमा भने दुःख लागेको छ ।
‘हुन त हामी सबै जनआन्दोलनको मोर्चामा सँगै थियौँ । यो व्यवस्था ल्याउन उहाँहरूको पनि ठुलो योगदान छ । आजको व्यवस्थाबाट सबैले अवसर पाउँछन् भनेर नै यो व्यवस्थाका लागि लडेका थियौँ,’ उनले भने, ‘जनआन्दोलनको घाइते भएको भएर मैले एउटा जीविका गर्ने बाटो पाएको थिएँ तर त्यो आज खोसिएको छ । मलाई मैले पाइनँ भन्नेभन्दा पनि कतै मजस्तै धेरै जनआन्दोलनका सहिदका परिवार र घाइतेहरू राज्यको बेवास्ताको सिकार त भइरहेका छैनन् भन्ने चिन्ता लागेको छ ।’
जनआन्दोलनका घाइते तिवारी आफूले केही नपाए पनि आफूजस्ता कयौँले लडेर ल्याएको व्यवस्थाले जनताको अपेक्षा पूरा गर्न सक्ने वातावरण बनिदियोस् भन्ने कामना गर्छन् ।