शिक्षा मन्त्रालयको समितिले काम नगरेपछि पूर्वसचिवको नेतृत्वमा अर्को समिति गठन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी सम्बन्धमा शिक्षण संस्थाको विषयमा अध्ययन गर्न विज्ञ समिति गठन गरेको छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित शिक्षण संस्थाको विषयमा अध्ययन गरी सुझाव दिन विज्ञ समिति गठन गरिएको हो ।
नेपाल सरकारका पूर्वसचिव शंकरप्रसाद कोइरालाको संयोजकत्वमा ३ सदस्यीय विज्ञ समिति गठन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । उक्त समितिमा प्राध्यापक राजेशकुमार राई र उच्च शिक्षा महाशाखाका एक जना उपसचिव समितिका सदस्य रहने छन् ।
निर्देशिका र त्यसका अनुसूचीहरूमा भएका संशोधन बारेमा अध्ययन गर्ने, विदेशी सम्बन्धनमा उच्च शिक्षा प्रदान गर्ने शिक्षण संस्थाहरूले हालसम्म पाएको स्वीकृति र अनुमतिको अध्ययन गरी सुझाव दिने कार्यादेश तोकिएको छ ।
उक्त समितिले नीतिगत, कानुनी र सुझावसहितको प्रतिवेदन पेश गर्नेछ । उक्त समितिलाई आवश्यक परेको खण्डमा त्यस्ता शिक्षण संस्थाहरूमाथि निरीक्षण गर्ने अधिकार समेत दिइएको छ । समितिलाई ३० दिनभित्रमा प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।
शिक्षा मन्त्रालयले यसअघि उच्च शिक्षा महाशाखा प्रमुख सहसचिव डा.कमलप्रसाद पोखरेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले काम नगरेपछि बाहिरका विज्ञको नेतृत्वमा अर्को समिति गठन गरेको हो । विदेशी शिक्षण संस्थाको सम्बन्धमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका २०५९ बनेको थियो ।
त्यही निर्देशिकाको भरमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजहरूले विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले विदेशी सम्बन्धन प्राप्त शिक्षण संस्थाहरू निर्देशिकाको भरमा चलिरहेको भन्दै एक्सनमा उत्रिएकी थिइन् ।
उनले उक्त निर्देशिकालाई थप व्यवस्थित गर्न भन्दै निर्देशिकामा आवश्यक संशोधन गर्नुपर्ने बताइन् । मन्त्री श्रेष्ठले विदेशी सम्बन्धन लिएर सञ्चालनमा रहेका शिक्षण संस्थाहरूमाथि अनुगमन गर्न समेत निर्देशन दिएकी थिइन् । तर, मन्त्रालयका अधिकारीहरू हालसम्म पनि अनुगमनमा निस्केका छैनन् ।
एकातिर मन्त्रालयका अधिकारीहरू अनुगमनमा निस्केका छैनन् भने अर्कोतिर मन्त्रालयमा गठन गरिएको समितिले समेत काम थालेको छैन । त्यसपछि मन्त्री श्रेष्ठले पूर्वसचिव कोइरालाको संयोजकत्वमा अर्को समिति गठन गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी
-
टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु
-
जुम्लाबाट एक वर्षमा चार हजारले लिए नागरिकता
-
विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
-
कालीगण्डकी जलविद्युत् : लागत दुई खर्ब २४ अर्बभन्दा बढी
-
बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव