शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

वनस्पतिबाट औषधीका लागि प्रयोग हुने ११ हजार बढी रसायनको डाटाबेस तयार

बुधबार, १९ वैशाख २०८१, ११ : ३०
बुधबार, १९ वैशाख २०८१

काठमाडौँ । आयुर्वेदिक औषधीमा प्रयोग हुने नेपालका १७ सय बढी जडिबुटीलाई कम्प्युटर डाटाबेसमा समावेश गरिएको छ । बागमती प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयले युवा वैज्ञानिक प्रोत्साहन कोषको अनुदानबाट सञ्चालन कार्यक्रमबाट १७ सय ७७ वटा औषधीय वनस्पतिबाट औषधीका लागि प्रयोग हुने ११ हजार २४० वटा सक्रिय जैविक रसायनहरूलाई डाटाबेसमा समावेश गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डा.भीष्मकुमार भुसालले जानकारी दिए । 

सचिव भुसालले भने– ‘परम्परागत तरिकाले उपचार गर्दा कुन–कुन वनस्पति प्रयोग गरिन्छ, त्यसका के कस्तो औषधीय गुण छ, कुन स्वास्थ्य समस्यामा उपचारका लागि प्रयोग हुन्छ, ती वनस्पतिको वैज्ञानिक नाम के हो ? लगायतका जानकारी अब सजिलै पाउन सहज भएको छ । जडीबुटीको रसायनलाई वैज्ञानिक ढंगबाट डाटाबेसमा समावेश गरिएको छ । यसबाट जडीबुटीबाट औषधी निर्माण गर्न, खोज अनुसन्धान गर्नका लागि सहज हुन्छ ।’

नेपालमा उपलब्ध जडीबुटीहरूको हालसम्म अभिलेखीकरण नभएको अवस्थामा आयुर्वेदीय औषधी प्रणालीलाई वैज्ञानिक र तथ्यपरक ढङ्गले वैज्ञानिक प्रणालीमा आबद्ध गराई भविष्यमा जडीबुटी वा नेपाली वनस्पतिमा आधारित आयुर्वेदीय औषधि प्रणालीको नवप्रवर्तन र विकासका लागि सहज हुने उल्लेख गरे । 

मन्त्रालयले प्रतिस्पर्धाबाट परियोजना प्रस्ताव छनौट गरी भुवन गुरुङ, दिलीप श्रेष्ठ, विष्णु कार्की, महेश अर्याल र विशाल गुरुङको टिमले डाटाबेस तयार गरेको हो । 

महत्त्वपूर्ण २ सय वटा जडीबुटीको जैविक–रसायन डाटाबेस तयार पार्ने सम्झौता भए पनि काम गर्दै जाँदा १७ सय ७७ आयुर्वेद र वनस्पतीय औषधीका जडीबुटी डाटाबेसमा समावेश गरिएको परियोजनाका युवा वैज्ञानिक भुवन गुरुङले बताए । 

कम्प्युटर प्रणाली प्रयोग गरी महत्त्वपूर्ण औषधीय सम्भावना बोकेका नवीन–जैविक रसायनहरूको पहिचान गरी नयाँ औषधी विकास गर्ने कार्यमा सहयोग हुने, विभिन्न, संस्था तथा व्यक्तिबाट हुने जडीबुटी र औषधीजन्य वनस्पति सम्बन्धी एकै प्रकारका अनुसन्धान कार्यका लागि पटक पटक दोहोरिने काम निरुत्साहित भई राज्यकोषको रकम सही र नवीन खोज कार्यमा लगाउन सकिने गुरुङले बताए । 

यसबाट बहुउपयोगी व्यवसायिक औषधी जन्य वनस्पति र जडीबुटी खेतीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न सरकारलाई सहज हुने, देशबाट कच्चा जडीबुटीको सट्टा प्रशोधित औषधीजन्य जैविक रसायन निर्यात गर्न सकिने, औषधी र प्राकृतिक पोषणयुक्त खाद्य पदार्थ विकास गर्न सकिने उनले बताए । १७ सय ७७ प्रकारका वनस्पति र तिनीहरुको औषधीय गुणबारे www.phytomednepal.com बाट थाहा पाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप