सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय
कृषि

‘फूल लाग्ने समयमा पर्याप्त पानी नभए मकै शत प्रतिशत नोक्सान हुन्छ’

सोमबार, २४ वैशाख २०८१, ०६ : ११
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । नेपालमा बसन्ते मकै बाली अर्थात् माघदेखि फागुनको बिचमा छरेको मकैको फूल लाग्ने बेला भएको छ । फूल लाग्ने समयमा पर्याप्त पानी नभए मकै शत प्रतिशत नोक्सान हुने विज्ञ बताउँछन् ।

छर्ने, गोड्ने र फूल खेल्ने समयमा मकै बालीलाई पर्याप्त मात्रामा माटोमा चिस्यान आवश्यक पर्ने कृषि वैज्ञानिक डा. घनश्याम भण्डारीले बताए । ‘मकै बालीलाई छर्ने, गोड्ने र फूल खेल्ने समयमा माटोमा चिस्यान आवश्यक हुन्छ,’ उनले भने, ‘मकैमा धानजस्तो बाला वा जुँगा निस्किँदा पानी आवश्यक पर्छ । यो समयमा पानी भएन भने शत प्रतिशत मकै बाली नोक्सान हुन्छ ।’

देशभर खडेरीको अवस्था विकराल बन्दै गएको छ । यो सिजनको मकै खेती तराईमा गरिन्छ । जमिनमुनिको पानी वा कुलो लाग्ने स्थानमा यो मकै खेती गरिन्छ । बसन्ते मकै बालीमा खासै असर नपरे पनि अब बर्खे सिजनको मकै खेतीमा समस्या देखिएको किसानको गुनासो छ ।

मध्य पडाडी क्षेत्रमा विशेष गरी बर्खे मकै छर्ने सिजन भए पनि खडेरीका कारण मकै छर्न नसकिएको नुवाकोटका स्थानीय रामकृष्ण श्रेष्ठले सुनाए । ‘खेतमा छरेको मकैको बोट गर्मीले सुक्न थालेका छन्,’ उनले भने, ‘कतिपय किसानले खेत तयार गरेका छन् तर पानी नपरेकाले मकै छरेका छैनन् ।’

अहिले बर्खे मकै रोप्ने बेला हो । यो सिजनमा मध्य पहाडमा मकै खेती गरिन्छ । नेपालको कुल मकै खेतीमध्ये ७० प्रतिशत मध्यपहाडमा खेती हुन्छ । कृषि विज्ञ राम बहादुर केसीका अनुसार मकै बाली मध्यपहाडको प्रमुख बाली हो । ‘पहिला–पहिला खाए मकै, नखाए मकै भनिन्थ्यो,’ उनले भने, ‘फागुनमा प्रि–मनसुन भएर वैशाखमा मकै छर्ने हो, तर सुक्खा भएर किसानले मकै छर्न सकेका छैनन् ।’

  • नेपालमा तीन सिजनमा मकै खेती

नेपालमा तीन सिजनमा मकै खेती गरिन्छ । बर्खे अर्थात् वैशाखदेखि जेठमा छरिने मकैलाई बर्खे सिजनको बसन्ते मकै भनिने कृषि वैज्ञानिक डा. घनश्याम भण्डारीले बताए । यस्तै, हिउँदे अर्थात् असोजदेखि कार्तिकबिचमा छरिने मकैलाई हिउँदे मकै भनिन्छ । यस्तै, माघ अन्तिमदेखि फागुन १५ सम्म छरिने मकै खेतीलाई बसन्ते मकै खेती भनिने वैज्ञानिक डा. भण्डारीले बताए ।

तीन सिजनमा हुने मकै खेतीमध्ये पछिल्लो समय बसन्ते मकै खेतीमा किसानको आकर्षण बढेको डा. भण्डारीको तर्क छ । ‘मकैको खेती गर्ने तौरतरिकामा पनि परिवर्तन आएको छ,’ उनले भने, ‘पहिला बर्खे मकैको मात्रै खेती हुन्थ्यो । अचेल वसन्त र हिउँद सिजनमा पनि मकै खेती गरिन्छ ।’

तराईका धेरैजसो क्षेत्रमा हाइब्रिड जातको मकै लगाउने चलन बढेको उनको भनाइ छ । नेपाल कृषि अनुसन्धान परिषद्ले रामपुर–१०, १२, १४, १६, खुमल हाइब्रिड–२ लगायत १० थरी मकैको जात विकास गरेको छ ।

  • मकैको माग र किसानको आकर्षण बढ्दो

पशुपालनमा दानाको रूपमा प्रयोग हुने भएकाले नेपालमा मकैको माग बढेको छ । मकैको माग बढेसँगै यसको खेतीप्रति किसानको आकर्षण पनि बढ्दो छ । मकैको व्यावसायिक खेती प्रवर्द्धन हुँदै जानु, नेपालमै नयाँ–नयाँ हाइब्रिड जात विकास हुनु, उत्पादन बढ्नुले मकै खेतीप्रति किसानको आकर्षण बढेको डा. भण्डारीको भनाइ छ ।

‘खेतीपातीमा आधुनिकीकरण हुँदै गएको छ, यसले हाल किसानमा एक खाले जागरण देखिएको छ,’ उनले भने, ‘किसानले हाइब्रिड जातमा धेरै विकल्प भेट्छन्, हाइब्रिड जातको उत्पादन झन्डै दोब्बर हुन्छ, यसले गर्दा किसानको आकर्षण बढेको छ ।’

  • कति हुन्छ नेपालमा मकै उत्पादन ?

सरकारी तथ्याङ्क अनुसार नेपालमा वार्षिक रूपमा ९ लाख हेक्टर क्षेत्रफलमा २९ लाख मेट्रिक टन मकै उत्पादन हुँदै आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ९ लाख ५७ हजार हेक्टर क्षेत्रफलबाट २८ लाख ३५ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ९ लाख ७९ हजार  हेक्टर क्षेत्रफलमा २९ लाख ९९ हजार मेट्रिक टन मकै उत्पादन भएको थियो ।

आर्थिक वर्ष २०७८/२०७९ मा ९ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा ३१ लाख ६ हजार मेट्रिक टन मकै उत्पादन भएको छ ।

मकै बालीका लागि मल, बिउ र सिँचाइको उपलब्धता बढाउन सके उत्पादन बढाउन सक्ने विज्ञहरूको भनाइ छ । यसका साथै पछिल्लो समय बढ्दो वातावरणीय परिवर्तनले देखिएका किरा, रोगहरूलाई निराकरण गर्न प्राविधिक सहयोग आवश्यक रहेको उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप