आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
विमानस्थल सञ्चालन

कसरी सञ्चालनमा ल्याउन सकिन्छ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ?

मङ्गलबार, २५ वैशाख २०८१, ०८ : २७
मङ्गलबार, २५ वैशाख २०८१

काठमाडौँ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा २०७८ साल जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए) व्यावसायिक रुपमा चल्न सकेको छैन । सञ्चालनमा आएको झण्डै तीन वर्ष बित्न लाग्दा पनि व्यावसायिक रुपमा चल्न नसकेको विमानस्थलले नयाँ प्रमुख पाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व महाप्रबन्धक प्रताप तिवारी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख नियुक्त भएका छन् ।

आफूले जिम्मेवारी पाएलगत्तै तिवारीले विमानस्थल सञ्चालनमा ल्याउन १० योजना अघि सारेका छन् । तिवारीका अनुसार विगत तीन वर्षदेखि सञ्चालनमा आएर पनि चल्न नसकेको विमानस्थल चलाउन कम्तीमा १० वटा योजना कार्यान्वयन गर्नुपर्ने हुन्छ ।

रातोपाटीसँगको कुराकानीमा तिवारीले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई व्यावसायिक रुपमा चलाउन नसक्ने भन्ने कुरै हुन्न । यसलाई ट्रान्जिटका रुपमा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि नेपाल एयरलायन्स र हिमालय एयरलायन्सले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।’

विभिन्न सांसदसँगको छलफलपछि विमानस्थल सञ्चालनका लागि झण्डै दर्जन योजना अघि बढाएको उनको भनाइ छ ।

कस्ता छन् तिवारीका योजना ?

  •  हाल आईएलएस (इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम) विधि ‘लो भिजिविलिटी’मा अवतरण गर्ने विधि एयरस्पेसको लिमिटेसन एसएफ सञ्चालनमा आउन नसकेको अवस्थामा यान्त्रिक विधि (आईएफआर)मा उडान गर्दा न्यूनतम भिजिविलिटी १८०० मिटर चाहिने भएकाले विशेष गरी चिसो याममा अन्तर्राष्ट्रिय उडान होल्ड वा डाइभर्ट हुन्छ । जसका कारण उडान नियमित हुन नसकेको अवस्थामा यसको विकल्पको रुपमा प्राधिकरणले भू–उपग्रहमा आधारित आरएनपी–एआर अप्रोच विधि बनाउँदा थप खर्च पनि नलाग्ने, भिजिविलिटी १००० मिटरभन्दा कम हुँदा अवतरण गर्न सक्ने सम्भावना छ ।
  • Pratap-babu-tiwari
  • गत वर्षको बजेट नीति तथा कार्यक्रममा हवाई टिकटमा भ्याट लगाउने निर्णयले हवाई भाडा बढेको गुनासोसहित विभिन्न वायुसेवा कम्पनीले हवाई भाडा घटाउन माग गरी आएका छन् । साथै यस विमानस्थलबाट उडानका लागि यात्रु आकर्षित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा हवाई भाडा सस्तो हुनुपर्छ । यसका लागि प्राधिकरणले ल्यान्डिङ पार्किङ, पार्किङ, न्याभिगेशन, सेक्यूरिटी चार्ज छुट दिइसकेकोमा थप  यात्रु सेवा दस्तुर  घटाउने, ग्राउण्ड ह्यान्डलिङ दस्तुर घटाउने, इन्धन ढुवानी शुल्क नजोडी मूल्य कायम गर्ने, जीआईएबाट उडान भर्ने अन्तर्राष्ट्रिय उडानका लागि मात्र इन्धनको मूल्य छिमेकी मुलुकको तुलनामा महँगो नपर्ने गरी इन्धन ढुवानी शुल्क निश्चित अवधिको लागि छुट दिएको खण्डमा अन्तर्राष्ट्रिय उडानको हवाइ भाडा कम हुन गइ यात्रुहरू यस विमानस्थल प्रयोगमा आकर्षित हुने माग भइआएकाले यस सम्बन्धमा आगामी आर्थिक वर्षको बजेटले उपयुक्त सम्बोधन  गर्नुपर्ने ।
  • हाल  नेपाल वायुसेवा निगमले मात्र हप्तामा एक उडान क्वालालम्पुरबाट गौतमबुद्ध विमानस्थल गरिरहेको छ । विगतमा जजिरा एयरलायन्सले खाडी मुलुकबाट सिधा उडान गरेको भए पनि यिनै विविध कारण देखाइ उडान बन्द गरेको छ । अब नेपाल एयरलायन्स र हिमालयन एयरलाइन्सबाट खाडी मुलुक उडान भर्ने व्यवस्था गर्नुपर्ने हुन्छ ।
  • यस विमानस्थललाई  ट्रान्जिट कार्गोको रुपमा विकास गर्न तथा ट्राफिक लोडका लागि नेपाली वायुसेवाले सेवा दिन नसक्ने अवस्थामा अन्य मुलुकका वायुसेवाका लागि फिप्थ फ्रिडम राइट प्रदान गरी विमानस्थलको उपयोग बढाउने नीति पर्यटन मन्त्रालयलले लिनु पर्ने ।
  • यस विमानस्थललाई सबै वाईडबडी क्याटेगरीको जहाजको लागि टीआईएको अल्टरनेटका रूपमा तयार गर्न नेपाल वायु सेवा निगमले वाइडबडीलाई समेत हुने गरी ग्राउण्ड ह्यान्डिलिङ उपकरण र जनशक्तिको व्यवस्था गर्ने ।
  • अहिले खाडी मुलुकमा रोजगारको लागि जाने यात्रुले मेडिकल टेस्ट काठमाडौँको तोकिएको टेस्ट सेन्टरबाट मात्र गरी आएकोमा यात्रुका लागि काठमाडौं जानु पार्ने झन्झटका कारण विगतमा हिमालयन एयरलाइन्सको उडानसमेत प्रभावित हुन पुगेकाले भैरहवाको सरकारी अस्पतालबाट टेस्ट गर्न सक्ने व्यवस्थाका लागि स्वास्थ्य तथा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित मुलुकमा पहल हुनुपर्ने ।
  • भैरहवामै मेनपावर कम्पनी अफिस खोल्ने व्यवस्था श्रम मन्त्रालयले मिलाइदिन पर्ने ।
  • धनगढी, नेपालगञ्ज, भैरहवा, चन्द्रगढी र विराटनगर र जनकपुर, अन्तरप्रदेश उडान सञ्चालन गरी यात्रुका लागि सहज आवागमन गराउन आन्तरिक वायुसेवा कम्पनीलाई पर्यटन मन्त्रालय र प्राधिकरणले छलफल गर्नुपर्ने ।
  • उपरोक्त व्यवस्था मिलाई खाडी मुलुकका वायु सेवाले टीआईबाट गर्ने कुल उडानको २० प्रतिशत उडान गौतमबुद्ध अन्तर्राष्ट्रियबाट गर्नुपर्ने र थप उडान माग गर्ने वायुसेवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘स्लट’ नदिने व्यवस्था मिलाउने ।
  • यात्रुको लागि विमानस्थल आवागमन गर्न सहज यातायात व्यवस्था र यात्रुको चाहना अनुकूलको थप सुविधा स्थानीय निकायले व्यवस्था गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप