मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

खेलकुदमा अप्रत्याशित निधन र खेल निकायको उदासीनता

बुधबार, ०२ जेठ २०८१, ११ : ००
बुधबार, ०२ जेठ २०८१

नेपालको खेलकुद इतिहासलाई मनन गर्ने हो भने हजारौँ वर्ष पहिलेदेखि नै मानिसले विभिन्न चाड, पर्व, जात्रा र विभिन्न शारीरिक क्रियाकलापसहित आ–आफ्नै मौलिक परम्परा मान्दै आइरहेको पाइन्छ । 

यसैगरी प्राचीन ग्रिसमा विभिन्न खेलकुद प्रतियोगिता र प्राचीन ओलम्पिक आयोजना भएको इतिहास पाउन सक्छौँ । सन् १८९६ मा आधुनिक ओलम्पिक सुरु भएदेखि विश्वका विभिन्न देशका जनताले विभिन्न खेलमा सहभागी भई आफ्नो देश र समाजको पहिचान दिन सफल भएर प्रसिद्धि पाउँदै देशको इज्जत राखेको पाइन्छ । 

आधुनिक ओलम्पिक प्रतियोगिता प्रारम्भ हुँदा नेपाली जनताले राणाशासन भोगिरहेकाले यस कालखण्डलाई शिक्षा र खेलकुद विकासका निम्ति अन्धकारको युग मान्दा हुन्छ । 

त्यस समयमा खेलकुदका क्रियाकलाप दरबारको भित्री मैदानमा मात्रै सीमित थियो । 

खासगरी २००७ सालमा प्रजातन्त्रको प्रादुर्भाव भएपछि मात्र नेपाली जनताले खुला रूपमा आधुनिक खेल स्वतःस्फुर्त रूपमा खेल्ने मौका प्राप्त गरेकामा कसैको दुई मत नहोला । 

त्यसैले गएको ६ दशक पहिलेदेखि नेपालमा आधुनिक खेलको विकासको क्रम सुरु भई हजारौँ–लाखौँ नेपाली जवानले आफ्नो रगत पसिना खेलकुदमा बगाउँदै आएका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएका छन् । यो ६ दशकको खेलकुद यात्रामा नेपाली खेलाडीले केही अन्तर्राष्ट्रिय सफलता पनि प्राप्त गर्न सफल भएका छन्, तर समग्रमा भन्नुपर्दा धेरै असफलता नै भोगेका छन् । 

नेपालको खेल समाजमा धेरै खेल सङ्घ र त्यसका अधिकारीले सीमित साधन–स्रोतको उपयोग गरेर अन्तर्राष्ट्रिय खेल जगत्मा देशको इज्जत–प्रतिष्ठा अभिवृद्धि गर्नका लागि सक्रिय छन् । यसभित्र पनि केही व्यक्ति सोखका रुपमा तलबबिना र अव्यावसायिक रूपमा लागिपरेको पाइन्छ । 

काम गर्दै जाँदा उक्त क्षेत्रका लागि आवश्यकीय व्यवस्थापकीय सीपको विकास गरेको हुन सक्छ । यस क्रमममा लाखौँ लाख नेपाली युवाले स्वास्थ्य लाभ गरिरहेका हुन्छन् भने केही उच्च वर्गका खेलाडीबाहेक धेरै निम्न वर्गका (आर्थिक रूपमा कमजोर) खेलाडीले घरको दालभात खाएर खेल मैदानमा आफ्नो रगत पसिना बगाइरहेका छन् । 

उनीहरूले विभिन्न प्रतियोगितामा केही गर्न सकिन्छ कि भनेर आफ्नो जीवनको महत्त्वपूर्ण क्षण खर्च गरिरहेका छन् । भविष्यमा आफ्नो स्वास्थ्य कस्तो हुन्छ, कसरी बाँकी जीवन बिताउने भन्नेबारे बिचारै नगरी उनीहरू खेलकुद क्षेत्रमा सक्रिय देखिन्छन् । 

यस क्रममा नेपाली खेलाडीमध्ये कतिको किड्नी खराब भएको छ । कसैलाई फोक्सोको क्यान्सर भएको छ । धेरै खेलाडीको मस्तिष्कमा रक्तस्रावका कारण अकालमै मृत्यु भएको छ भने कति खेलाडी पक्षघातको सिकार पनि भएका छन् ।

धेरै खेलाडीले खेल्दाखेल्दै मैदानमा अचेत भएर (हार्ट अट्याक भएर) जीवन बलिदान गरेको पनि पाइन्छ । यस्तो स्थिति हाम्रोजस्तो देशमा मात्रै नभई अन्य विकसित मुलुकमा पनि भइरहेका हुन्छन् । 

यसै सन्दर्भमा विशेषगरी खेल्दाखेल्दै मुटुमा समस्या आएर खेलाडीको मृत्युको घटनालाई लिएर अमेरिका र इटालीमा वैज्ञानिक अनुसन्धान भएका छन् । यसबारे केही उल्लेख गर्नु सान्दर्भिक हुन्छ । 

सन् २००४ मा युरोपका विभिन्न मुलुकका कार्डियोलोजिस्टले खेलाडीको स्वास्थ्यका विषयमा गम्भीर अनुसन्धान गरेका थिए । यस्तो अनुसन्धान कार्यमा विभिन्न संस्था अनि युरोपियन कार्डियोलोजिस्ट समाज, मुटु विशेषज्ञ, खेलकुद चिकित्सकले संलग्न थिए । 

त्यो अनुसन्धानपछि उनीहरूले सर्वस्वीकृति रूपमा घोषणा गरेका छन् कि १२ वर्षभन्दा माथिका बालबालिकाले कुनै पनि आधिकारिक खेल प्रतियोगितामा प्रतिस्पर्धा गर्नुअघि अनिवार्य रूपमा मुटुको परीक्षण (१२–लिड ईसीजी) गरेको प्रमाणपत्र प्रस्तुत गर्नु आवश्यक छ । 

यस विषयमा इटालीमा दीर्घकालीन मुटु रोगको विषयमा गरिएको अध्ययन बढी सादर्भिक देखिन्छ । उक्त अनुसन्धानले खेल्नु वा प्रतियोगितामा सहभागी हुनुअघि खेलाडीको मुटु परीक्षण अनिवार्य गरिनुपर्ने सुझाव दिन्छ । खेल्नुअघि खेलाडीको मुटुमा केही खराबी देखिएमा बेलामै सचेत हुन सकिन्छ । जसले गर्दा खेल्दाखेल्दै अचानक मुटुको समस्याका कारणले खेलाडीलाई मृत्यु हुनबाट बचाउन सकिन्छ । 

सन् २००३ को कोराडो र उनका अन्य साथीले १२ देखि ३५ वर्ष उमेर समूहका खेलाडीबिच गरेको अध्ययनले विभिन्न खेलकुद क्रियाकलापको कारणले मुटुमा समस्या भएकालाई २.५ गुणाले अचानक मृत्यु हुन सक्ने सम्भावना देखाएको छ । उनीहरूको अध्ययन अनुसार मृत्यु हुने कारणमा लुप्त रूपमा रहेका कार्डियो–भास्कुलर रोग विशेष गरेर कार्डियोमायोप्याथिज, समयभन्दा अगाडि नै कोरोेनरी आर्टरीमा समस्या देखापर्नु, कन्जिनेटल कोरोनरीमा अमिल्दो अवस्था आदि छन् । 

इटालीकै मेनेटो भन्ने क्षेत्रमा प्रत्येक एक वर्षमा एक लाख युवा खेलाडीमध्ये अचानक मृत्यु हुनेको संख्या २.३ जना रहेछ (२.६२ छात्र र १.०७ छात्रा) । जसलाई उनीहरूले एक किसिमको भयावह महामारीका रूपमा लिएका थिए । त्यसपछि उनीहरूले यस विषयमा बेग्लै कानुन नै बनाएर प्रतियोगितामा खेल्नुअघि प्रत्येक बालबालिकाले १२–लिड ईसीजी गर्नैपर्ने कानुन पनि ल्याएका थिए । 

वर्तमान आधुनिक खेलकुदको विश्व समाजभित्र विगत २० वर्षदेखि आश्चर्यजनक रूपमा व्यावसायिक, ओलम्पिक, कलेज र विद्यालयस्तरका प्रतियोगिताका क्रममा खेलाडीको मृत्यु हुने क्रम वृद्धि हुँदै गएको देखिन्छ । 

जसमध्ये १३ वर्षका खेलाडी बालबालिकाको मृत्यु हाइपरट्रोफिक कार्डियोमायोप्याथीका कारणले भएका छन् । यसतर्फ नेपाली खेलकुद पनि बेलैमा सचेत हुनु आवश्यक देखिन्छ । यस्ता घटना हुनबाट जोडिन सम्बन्धित विषयमा ऐन–नियम बनाउनेतर्फ सोच्नु आवश्यक देखिन्छ । विशेषगरी प्रतियोगिताका क्रममा खेलाडीलाई निम्न पाँच तत्वले स्वास्थ्यमा नकारात्मक असर पार्ने गरेको देखिन्छ । यसको तात्पर्य यो होइन कि साधारण मानिसलाई केही असर पर्दैन ।

१) दुव्र्यसनीयुक्त रसायन र कुपोषणयुक्त खाद्य पदार्थ ।

२) हावापानीको माध्यमबाट हामीले उपयोग गर्ने खाद्यवस्तुमा मिसिन

सक्ने वातावरणीय विषाक्त कणहरू ।

३) इलेक्ट्रोम्यानेटिक प्रदूषणको माध्यमले हाम्रो स्वास्थ्यमा हुने

नकारात्मक असर ।

४) कठोर अभ्यासका कारण स्वास्थ्यलाई हुने नोक्सानी ।

५) खेलाडीलाई विभिन्न चोटपटक लाग्दा प्रयोग हुने औषधिहरूको

अत्यधिक प्रयोग ।

अमेरिकाका एनबीए बास्केटबल खेल्ने ज्यासन कोलियरको केवल २८ वर्षको अल्पायुमै मृत्यु भयो । जसले गर्दा ईएसपीएनको टीभी कार्यक्रममा खेलकुद डाक्टरहरूले हाइट्रोफिक कार्डियामायोप्याथी पारिवारिक रोगको इतिहास नै उनको मृत्यु भएको कारण भएको बताएका थिए । 

त्यसपछि उनीहरूले खेलकुदको प्रमुख सुरु हुनुभन्दा अगाडि खेलाडीलाई मुटुसम्बन्धी रोग छ वा छैन भनेर जाँच गर्ने र दुई सय पाउन्डभन्दा बढी शारीरिक तौल भएका खेलाडीलाई रगतमा कोलेस्टेरोल कम गर्ने औषधि लिनुपर्ने नियम बनाए । 

यस्ता विभिन्न सावधानीका उपाय अपनाउँदा अपनाउँदै पनि खेलाडीको अचानक मृत्यु हुने क्रम भने रोकिएको छैन । उच्चस्तरको प्रशिक्षण गर्नुपर्ने बाध्यताले पनि खेलाडीको स्वास्थ्यमा धेरै हदसम्म नकारात्मक असर गर्ने गर्छ । 

खेलाडीको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सक पनि कहिलेकाहीँ भ्रममा पर्ने गरेको पाइन्छ । खासगरी उच्च स्तरका व्यावसायिक खेलाडीको उपचार गर्दा चिकित्सकहरू पनि भ्रममा पर्न सक्छन् । 

उच्च स्तरका खेलाडीलाई हरेक समाजमा स्वस्थ नागरिकका रूपमा लिने गरिन्छ र उनीहरूलाई विशेष वंशानुगत क्षमता भएको मानिस भन्ने धारणा राख्ने गरिन्छ । 

उनीहरूलाई उच्चस्तरको कार्यक्षमता भएको; शारीरिक बल र सहनशीलता बढी भएको; कम बिरामी पर्ने र रंगशालामा हजारौँ दर्शकमाझ पनि आफ्नो मानसिक सन्तुलनलाई काबुमा राखेर खेल्न सक्ने मानिस मानिन्छ । तर, विभिन्न स्वास्थ्य विशेषज्ञका भनाइ अनुसार केही उच्च स्तरका खेलाडीमा विशेष प्रकारको खेलकुदसँग सम्बन्धित रोग लाग्ने सम्भावना पनि रहन्छ ।

खेलकुद प्रशिक्षणको धपेडीका कारण समेत खेलाडीलाई मुटुरोग र मल्टिपल स्कलेरोसिसजस्ता रोग लाग्ने सम्भावना रहन्छ ।

अति कठोर प्रशिक्षणका कारणले खेलाडीको शरीरमा निम्न प्रकारले हानि हुन सक्छन् । 

१) हानिकारक तत्त्व शरीरमा उत्पादन हुन सक्छन्, जसले मुटुलाई हानि पुर्‍याउँछन् ।

२) एसिड उत्पन्न भई शरीरको शक्ति प्रणालीलाई हानि पुर्‍याउँछ, जसले गर्दा शरीरका भित्री अंगलाई नोक्सानी गर्छ ।

३) एमोनियाका कारण टाउको दुख्ने, धमिलो देख्ने र शरीरका विभिन्न तन्तुलाई हानि पुग्ने र मगजलाई असर गर्छ । 

४) शरीरका विभिन्न भागमा सुन्निने, जलनशीलताको अनुभव हुने आदि ।

५) उच्च तापक्रमका कारण कार्यक्षमतामा गिरावट आउने, विषाक्त रसायनको निष्कासन हुने, स्वतन्त्र र्‍याडिकल्सहरूको अन्तक्र्रिया हुने गर्छ, जसलाई मेडिकल भाषामा थर्मोजेनिक्स भनिन्छ ।

६) शरीरका तन्तु र कोषमा प्रत्यक्ष हानि हुन सक्छ । रातो रक्तकणको नाश हुने, मांसपेसीमा आघात पुग्ने कम्प्रेसन हेमोलाइसिस हुने गर्छ ।

७) शरीरमा प्रवाह हुने विभिन्न हर्मोनमा केही गडबडी उत्पन्न हुन सक्छ ।

त्यसैले खेलाडीलाई यस्ता विभिन्न नकारात्मक पक्षबाट बचाउन अमेरिकाजस्ता देशले प्रोटिन, कार्बोहाइडे«ट, एन्टिअक्सिडेन्टयुक्त पेय पदार्थको विकास गरेका छन् । खेलाडीहरूले प्रशिक्षण सकिएपछि तुरुन्तै यस्ता पेस पदार्थहरूको सेवन गर्छन् । जसले गर्दा २४ घन्टाभित्रै खेलाडीको शरीरबाट फ्री र्‍याडिकल्स (विषाक्त तत्त्व) ६९ प्रतिशतले घटाउने गर्छ । यी विषय हाम्रोजस्तो देशका खेलाडीका लागि भने स्वर्गको बयानजस्तो लाग्छ । यसै सन्दर्भमा मलेसियाको केही तथ्याङ्क प्रस्तुत गर्नु सान्दर्भिक देखिन्छ ।

  • सन् १९९५ देखि सन् २००५ का बिचमा खेलकुद गतिविधिका क्रममा विभिन्न उमेर समूहका खेलाडीको अस्वाभाविक मृत्युको अवस्था :

 pdf1111

  • फिफा स्पोर्टस मेडिकल कमिटी

फुटबलको सर्वोच्च संस्था विश्व फुटबल महासङ्घ (फिफा) ले पनि यस्ता खेल मैदानमा हुने अचानक मृत्युलाई ध्यानमा राखेर एफ–मार्क २००५ को अध्याय ४.५ मा चिकित्सकीय व्यवस्था गरेको पाइन्छ । इटालियन फुटबल अनुसन्धानको अनुभव र अमेरिकन फुटबल तथा अन्य अनुभवलाई सँगालेर चिकित्सकीय व्यवस्था र अन्य नियम बनाइएका छन् । 

हाइपरट्रोफिक कार्डियोमायोप्याथी भन्नाले विशेष गरेर मुटुको बाँया भेन्ट्रिकल समस्याका कारणले हुन्छ । यसका कारण वार्षिक १ देखि २ प्रतिशत सर्वसाधरणको मृत्यु हुने गर्छ । अन्य धेरै कारणमा छाती दुख्ने, मुटुको धड्कनमा केही गडबडी हुने, अलि थकान महसुस हुने आदि रहेका छन् । यसबाट बच्नका लागि प्रतियोगितामा सामेल हुनुअघि नै खेलाडीको रोगसम्बन्धी इतिहासको अध्ययन गर्ने, शारीरिक परीक्षण गर्ने र इलेक्ट्रो कार्डियोग्राफ लिने आदि गरिन्छ । 

फिफाजस्तो ठुलो संस्थालाई संसारभरिका २५० मिलियन फुटबल खेलाडीका लागि अनिवार्य रोकथामका उपाय गर्न कठिन र अव्यावहारिक भए पनि उनीहरू यो समस्यालाई सम्बोधन गर्न लागि परेका छन् । 

सन् २००६ मा जर्मनमा भएको विश्वकप फुटबल प्रतियोगिताका क्रममा सहभागी ३२ टोलीका सम्पूर्ण खेलाडीको इकोकार्डियोग्राम लिइएको थियो । नेपालमा यो चलन र संस्कार हालसम्म आएको छैन । 

खेल र खेलाडीको जीवन बचाउनेतर्फ सकारात्मक रूपमा सोचेको खण्डमा अवश्य पनि सम्भव हुन्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ राजीव राजभण्डारीका अनुसार १२–लिड टेस्ट ईसीजी गर्न गाह्रो काम होइन ।

करिब तीन सय रुपैयाँमै यो परीक्षण सम्भव हुन्छ, तर यति सामान्य कुरातर्फ पनि नेपाली खेलकुद अझै पनि सचेत देखिएको पाइँदैन ।

विगतका केही वर्षमा नेपाली खेलकुद इतिहासमा कल्पना नै नगरेका दुई घटना भएका छन् । अन्डर–१६ फुटबल प्रतियोगिता च्यासलमा भएको थियो । त्यसमा १६ वर्षका फुटबल खेलाडी गोल्जेन लामा यस्तै सडन डेथका सिकार भएका थिए । 

च्यासल फुटबल मैदानमा खेल्दाखेल्दै अचेत भएका उनलाई केवल आठ मिनेटभित्र बीएन्डबी हस्पिटल पुर्‍याउँदा पनि हार्ट अट्याकका कारण उनको मृत्यु भएको थियो । त्यस्तै, घटना हेटौँडामा पनि भएको थियो । 

हेटौँडामा सम्पन्न बक्सिङ प्रतियोगिताका क्रममा खेलाडी राजु बुढामगरको (५६ केजी तौल समूहबाट ५२ केजी समूहमा खेलेका) बक्सरको खेल्दाखेल्दै अचेत भएपछि विभिन्न अस्पतालमा उपचार गराउँदा गराउँदै मृत्यु भएको थियो । 

केही हप्ताअगाडि क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा शंकर गैरेको टेम्पोरल बोनमा स्ल्याप किक परेकाले मगजमा आन्तरिक रक्तश्राव भएपछि बोली लर्बराउने र पक्षघात अवस्थामा पुगेकोजस्ता नराम्रा घटना पनि नेपाली खेलकुदमा भइसकेका छन् ।

यति हुँदा पनि नेपाली खेल पदाधिकारी वा सम्बन्धित निकाय यसतर्फ गम्भीर देखिएको पाइँदैन । त्यसैले आगामी दिनमा खेलकुदसँग सम्बधित आधिकारिक संस्था युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले खेलाडीको हकहितमा उचित कदम उठाउँदा राम्रो हुन्थ्यो कि ? 

विगतमा दलबहादुर रानामगरलाई खेलकै क्रममा फोक्सोको क्यान्सर लागेको, सङ्कटा क्लबबाट खेल्ने राष्ट्रिय फुटबल खेलाडी ईश्वरमान तुलाधर र वैकुण्ठ मानन्धरलाई दौडँदा दौडँदै मुटुको रोगले समातेका केही अन्य उदाहरण हुन् । यस्ता थुप्रै उदाहरण पाइन्छन्, नेपाली खेलकुदमा ।

देशमा गणतन्त्रको युग सुरु भएपछि थुप्रै नयाँ ऐन–कानुन बनिसकेका छन् । कतिपय ऐन–कानुन बन्ने क्रममा पनि छन् । यस्तो अवस्थामा देशको गौरव बढाउने खेलाडीको हकहितका लागि ऐन, नियम, कानुन बनाउन सांसद पनि अग्रसर हुन आवश्यक देखिन्छ । 

खेलाडीको बिमा, रोजगारसम्बन्धी स्पष्ट कानुन छैन । होसियारी राख्न नसक्दा खेलाडीको मृत्यु भएमा दोषीहरू, खेलकुद शिक्षक/प्रशिक्षक, विद्यालय/कलेज खेलका आधिकारिक संस्था, प्रतियोगिता सञ्चालकलाई कस्तो सजाय हुनुपर्छ भन्ने कुनै कानुन आवश्यक देखिन्छ । यसतर्फ पनि विस्तृत ध्यान दिने कि चन्दा उठाएर सङ्कलन गरिएको पैसा पीडित खेलाडीको परिवारलाई हस्तान्तरण गरेको फोटो अखबारमा छपाएर मात्र खेलकुद चलाइ राख्ने ?

यसतर्फ खेलकुदमा संलग्न सबै पक्षले घनीभूत रूपमा विचार गर्नुपर्ने अवस्था आइसकेको छ । नयाँ नेपालमा नयाँ खेलकुद नीति र कानुन बनाउन सरोकारवालाहरू अग्रसर हुनैपर्ने समय आइसकेको छ ।

(लेखक खेल अनुसन्धानविज्ञ हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिवाकर लाल अमात्य
दिवाकर लाल अमात्य
लेखकबाट थप