बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

‘पूजार सार्की’ले ‘लभरब्वाई’को ट्याग मेट्छ – आर्यन

शनिबार, ०५ जेठ २०८१, ०८ : ०२
शनिबार, ०५ जेठ २०८१

काठमाडौँ । अभिनेता आर्यन सिग्देलले फिल्म ‘पूजार सार्की’ले समाजमा रहेको जातीय विभेदको अन्धकार चिर्ने बताएका छन् । फिल्ममा आफूले पुजारीको भूमिका निर्वाह जानकारी दिँदै उनले त्यही पुजारीले नै समाजमा चेतना छर्ने उनको भनाइ छ । 

फिल्ममा अभिनेत्री अञ्जना बराइली आर्यनको अपोजिटमा छिन् । अञ्जनाले दलित समुदायको प्रतिनिधित्व गर्ने चरित्र निभाएकी छन् । अञ्जना र आर्यनबिचको प्रेम नै फिल्मको मुख्य कथा हो ।

‘मैले पूजापाठ गर्दागर्दै अञ्जनासँग अफेयर हुने हो । मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ । त्यस कारण प्रेम गर्दा पनि म त्यति साह्रो खुल्न पाउँदिनँ र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिन’, आर्यनले भने ‘अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी छ । त्यो शिक्षा हामी फिल्मबाट दिन्छौ ।’

फिल्म अभिनयमा आर्यनको ‘लभरब्वाई’ ट्याग लागेको छ । चाहेर या नचाहेर सो ट्याग बोकेर उनले दुई दशक लामो समय दर्जनौँ फिल्ममा काम गरे । ‘पुजार सार्की’बाट आफ्नो छवि बदल्ने कोसिस उनको हो । 

‘कलाकार भएपनि यो धारको फिल्म पनि गर्नुपर्छ भन्ने मेरो मान्यता हो । दुवैलाई सन्तुलन गरेर अगाडि लैजान सकियो भने उद्योगलाई पनि फाइदा हुन्छ’, उनले थपे ‘आर्यन केवल प्रेमकथाका मात्र फिल्ममा काम गर्न रुचाउँछन् भन्ने मानसिकतालाई ‘पुजार सार्की’ले चिर्छ ।’ फिल्मले आफ्नो करियरमा एक इँटा थप्नेमा उनले विश्वास व्यक्त गरे । 

फिल्म दिनेश राउतले निर्देशन गरेका हुन् । विकास सुवेदीको लेखन रहेको फिल्ममा पल शाह र प्रदीप खड्काको समेत मुख्य भूमिका छ । फिल्मले ३५–४० वर्ष अगाडि हाम्रो समाजको अवस्थिति कस्तो थियो भन्ने थाहा हुने निर्माण युनिटले बताउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप