आइतबार, २० जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

नो इफ, नो बट, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल

आइतबार, ०६ जेठ २०८१, १५ : ०१
आइतबार, ०६ जेठ २०८१

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन् ।

आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ । हामी पनि सरकारमा सहभागी छौँ । हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन । मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ, कुनै इफ, कुनै बट छैन । विथआउट रिजर्भेसन हामी मत दिनेछौँ ।’

उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको तर्फबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरिसकेको पनि स्मरण गराए । त्यस्तै पूर्वको कोशी प्रदेशमा पनि आफूहरूले विश्वासको मत दिएको उनले बताए । ‘माग्न आए पनि, नआए पनि । भने पनि नभने पनि हामीले विश्वासको मत सहज रूपमा दिएका छौँ । किनभने हामी जिम्मेवार राजनीतिक शक्ति हौँ,’ अध्यक्ष नेपालले भने ।

उनले अहिले राजनीतिक अवस्था जटिल भएको पनि बताए । उनले भने, ‘हामी सत्ताको साथमा छौँ । तर लामो साथ दिएका प्रतिपक्षीका साथीहरूलाई पनि हामीले बिचैमा छाडेर हिँड्न हुँदैन । के गर्ने, कसो गर्ने भन्ने छलफलका विषयहरू बन्नुपर्छ ।’

सबैलाई मिलाएर समेटेर जान सकिन्छ किन भनेर आफूहरूले प्रयास गरे पनि यसै भन्न सक्ने अवस्था नरहेको उनको भनाई छ । उनले प्रधानमन्त्रीले सहमतिको लागि गरिरहेको प्रयत्नको पनि सराहना गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप