बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

टी–२० विश्वकप : अमेरिका र क्यानडाबिचको खेलमा बनेका यी सात कीर्तिमान

आइतबार, २० जेठ २०८१, १४ : ५५
आइतबार, २० जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले चिर प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हरायो । उक्त खेलमा दुबै टोलीले ठुलो स्कोर बनाएका थिए ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५ विकेट गुमाएर एक सय ९४ रन बनायो । अमेरिकाले १७.४ भने ओभरमा ३ विकेट गुमाएर एक सय ९७ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

टी–२० विश्वकपको इतिहासमा कुनै पनि टोलीले हासिल गरेको यो तेस्रो ठुलो लक्ष्य हो । यसअघि सन् २०१६ को टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले दिएको दुई सय ३० रनको विजयलक्ष्य इङ्ल्यान्डले १९.४ ओभरमा आठ विकेट गुमाएर पुरा गरेको थियो ।

यसैगरी सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणमा वेस्ट इन्डिजले दिएको दुई सय ६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.४ ओभरमा केवल दुई विकेट गुमाएर दुई सय आठ रन बनाउँदै पार गरेको थियो । 

यसका अतिरिक्त सन् २०१० को टी–२० विश्वकपको सेमिफाइनलमा पनि पाकिस्तानले दिएको एक सय ९२ रनको विजयलक्ष्य अस्ट्रेलियाले १९.५ ओभरमा ७ विकेट गुमाएर एक सय ९७ रन बनाउँदै पार गरेको थियो । 

टी–२० विश्वकपको इतिहासमा अमेरिका सबैभन्दा ठुलो विजयलक्ष्य पुरा गर्ने आईसीसीको पहिलो एसोसिएट्स सदस्य राष्ट्र पनि बनेको छ । यसअघि टी–२० विश्वकपमा कुनै पनि एसोसिएट्स सदस्य राष्ट्रले यति ठुलो विजयलक्ष्य पुरा गर्न सकेको थिएन ।

क्यानडाविरुद्ध आइतबार खेलिएको खेलमा अमेरिकाका ब्याट्सम्यान एरोन जोन्सले अविजित ९४ रन बनाएका थिए । यस क्रममा उनले केवल ४० बलको सामना गरी १० छक्का र चारवटा चौका पनि हिर्काएका थिए । 

एरोन जोन्स टी–२० विश्वकपको इतिहासमा उद्घाटन खेलमा १० वटा छक्का प्रहार गर्ने विश्वकै दोस्रो ब्याट्सम्यान बनेका छन् । यसअघि सन् २००७ को टी–२० विश्वकपको उद्घाटन खेलमा वेस्ट इन्डिजका क्रिस गेलले दक्षिण अफ्रिकाविरुद्ध १० वटा चौका प्रहार गरेका थिए । 

त्यो खेलमा क्यारेबियन ब्याट्सम्यान क्रिस गेलले एक सय १७ रन बनाएका थिए । उनले केवल ५७ बलको सामना गरी १० छक्का र सातवटा चौका पनि हिर्काएका थिए । यद्यपि, त्यो खेलमा दक्षिण अफ्रिका ८ विकेटले विजयी भएको थियो । 

यसका अतिरिक्त क्रिस गेलले सन् २०१६ को विश्वकपको सुपर–१० चरणको आफ्नो पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध ११ वटा छक्का प्रहार गरेका थिए । त्यो खेलमा उनले अविजित एक सय रन बनाएका थिए । त्यो खेलमा वेस्ट इन्डिज ६ विकेटले विजयी भएको थियो । 

यसैगरी आइतबार सम्पन्न क्यानडाविरुद्धको खेलमा अमेरिकाका ब्याट्सम्यान एरोन जोन्स र एन्ड्रिज गौसले तेस्रो विकेटका लागि ५८ बलमा एक सय ३१ रनको साझेदारी गरेका थिए । एन्ड्रिज गौसले ४६ बलमा तीन छक्का र सात चौकाको मद्दतले ६५ रन बनाएका थिए । 

टी–२० विश्वकपको इतिहासमा तेस्रो विकेटका लागि कुनै पनि ब्याट्सम्यानले गरेको यो दोस्रो ठुलो साझेदारी हो । यसअघि सन् २०१४ को टी–२० विश्वकपमा श्रीलंकाविरुद्ध इङ्ल्यान्डका एलेक्स हल्स र ईयोन मोर्गनले तेस्रो विकेटका लागि एक सय ५२ रनको साझेदारी गरेका थिए । 

यसैगरी एरोन जोन्स र एन्ड्रिज गौसले आइतबार क्यानडाविरुद्धको खेलमा गरेको एक सय ३१ रनको साझेदारी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाका ब्याट्सम्यानले कुनै पनि विकेटका लागि गरेको हालसम्मकै सबैभन्दा ठुलो साझेदारी पनि हो । 

यसअघि सन् २०२१ मा खेलिएको आयरल्यान्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाका लागि सुशान्त मोदानी र गजानन्द सिंहले एक सय १० रनको साझेदारी गरेको थिए । उनीहरुले त्यो साझेदारी पाँचौँ विकेटका लागि गरेका थिए । 

यसैगरी एरोन जोन्सले आइतबार क्यानडाविरुद्धको खेलमा केवल २२ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । यो कुनै पनि उत्तर अमेरिकी राष्ट्रका ब्याट्सम्यानले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा बनाएको अर्धशतक हो । 

यसैगरी आइतबार क्यानडाविरुद्धको खेलमा अमेरिकाका एरोन जोन्स र एन्ड्रिज गौसले केवल ४२ बलमा एक सय रनको साझेदारी गरेका थिए । टी–२० विश्वकपको इतिहासमा कुनै पनि ब्याट्सम्यानले यति कम बलमा एक सय रनको साझेदारी गरेको यो पहिलो पटक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप