बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

माधव नेपालले गरे चीन भ्रमण रद्द

हमाल आउने भए चीन
सोमबार, १४ जेठ २०८१, १३ : ५०
सोमबार, १४ जेठ २०८१

चीन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यसै साता हुन लागेको चीन भ्रमण रद्द गरेका छन् । राजनीतिक दलका नेताहरुमध्ये विदेश यात्रामा बढी यात्रा गर्न रुचाउने  आरोप खेपेका अध्यक्ष नेपालको भ्रमण तयारी पुरा भएपनि अन्ततः चीन यात्रा नगर्ने भएका हुन् ।  

आगामी विहीबारदेखि चीन सरकारको निम्तोमा सुचवान प्रान्तको राजधानी छेन्दुको भ्रमण गर्ने कार्यतालिका थियो । अध्यक्ष नेपालले भ्रमण गर्न नसक्ने भएपछि पार्टीका उपाध्यक्ष प्रमेशकुमार हमालको नेतृत्वमा सात सदस्यीय टोली बिहीबार छेन्दु पुग्नेछन् । हमाल नेतृत्वको टोलीले चारदिन चीन यात्रामा रहँदा छेन्दुमा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग भेटवार्ता र भ्रमण गर्नेछन् । 

त्यसअघि अध्यक्ष नेपालको नेतृत्वका टोली छेन्दु भ्रमण सकेर चीनको स्वसासित क्षेत्र तिब्बतको समेत भ्रमण तालिका तय हुँदै थियो । तर, अध्यक्ष नेपालको भ्रमण रद्द भएपछि हमाल नेतृत्वको टोली भने तिब्बत जाने छैन । 

यस पटकको चीन यात्रामा अध्यक्ष नेपालले सनातनीहरूको पवित्रस्थल कैलाश मानसरोवरको यात्रा गर्ने विषयमा चिनियाँ पक्षसँग छलफल भइरहेको थियो । अध्यक्ष नेपाल नआउने भएपछि तिब्बत यात्रा पनि पनि स्थगित भएको हो । 

पछिल्लो समय नेपालको राजनीतिक परिस्थितिका कारण अध्यक्ष नेपालको चीन भ्रमण स्थगित भएको होला भन्ने अनुमान चिनियाँ पक्षले गरेका छन् । 

नेपालका लागि चीनका राजदूत विष्णुपुकार श्रेष्ठले अध्यक्ष नेपालको भ्रमणका बारेमा आफूलाई कुनै जानकारी नभएको बताए । उनले भने, ‘मैले अध्यक्ष नेपालको भ्रमणबारे छेन्दुतिर बुझ्नु पर्ला । छेन्दुमा नेपालको महावाणिज्य दूतावास पनि रहेको छ ।’    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप