बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सङ्घीय अस्पतालका सघन उपचार कक्ष सुधार गर्न संसदीय समितिको निर्देशन

सोमबार, २८ जेठ २०८१, १९ : ४९
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशभरका सङ्घीय अस्पतालमा रहेका सघन कक्ष (आइसियु) र अति सघन कक्ष (सिसियु)को अवस्थाबारे अध्ययन गरी आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । 
.    
समितिको आजको बैठकले वीर अस्पतालमा रहेका आइसियु, सिसियु बेड, भेन्टिलेटर, कार्डियाक युनिट, जेरियाट्रिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सञ्चालनको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो । 
    
समिति सभापति अम्मरबहादुर थापाले उपत्यकाका वीर, पाटन, त्रिवि शिक्षण अस्पतालको अवस्था र सेवा प्रवाहबारे समितिले अनुगमन गर्ने र स्वास्थ्य मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) अघि बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्नेसमेत निर्णय भएको जानकारी दिए ।     
बैठकमा उक्त मन्त्रालयको अवस्था, कार्यप्रगति र चुनौतीबारे छलफलपछि समितिले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार एवं सेवा प्रभावकारिताका लागि मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । 

यसैगरी समितिले अछामको बयलपाटा अस्पतालका लागि प्रदेश सरकारबाट बजेट विनियोजन नहुँदा सञ्चालन व्यवस्थापनमा कठिनाइ भएकाले विशेष अनुदानको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिएको छ । 

बैठकमा मन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले देशका दुर्गम जिल्लामा विशेषज्ञ चिकित्सकलाई परिचालनमा देखिएको समस्याबारे समितिसमक्ष गुनासो गरे । “देशमा तीन तहका सरकार छन् तर सबै तहले आ–आफ्नो जिम्मेवारी पूरा गर्न सकेका छैनन्”, मन्त्री यादवले भने, “चिकित्सकलाई दुर्गम पठाउँदा दबाब र प्रभाव आउने अवस्था छ । सबै चिकित्सक सुगम जाने भए दुर्गममा कसले सेवा दिने ? यस्ता विषयमा पनि अब हामीले गम्भीर बन्नुपर्ने आवश्यकता छ ।” उनले स्वास्थ्य क्षेत्रमा जनशक्तिको अभावपूर्ति गर्नका लागि जनशक्ति थप्न आवश्यक पहलका लागि समितिलाई अनुरोधसमेत गरे ।
    
मन्त्री यादवले समग्र स्वास्थ्य क्षेत्र सुधारका लागि मन्त्रालय प्रयासरत रहेको र सङ्घीय अस्पताल, औषधि व्यवस्था विभाग र स्वास्थ्य बीमा कार्यक्रममा सुधार गर्न थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप