शनिबार, ०५ साउन २०८१
ताजा लोकप्रिय

प्रेम भरिएको अनाहत चक्र

मङ्गलबार, २९ जेठ २०८१, १० : ०९
मङ्गलबार, २९ जेठ २०८१

गएको चैतको १७ देखि २३ गते (२०८०)सम्म लुम्बिनीमा सञ्चालन भएको विराट चक्र विज्ञान कार्यक्रमले नेपालीलाई मात्र होइन, मानव जगतलाई नै जीवनपयोगी सन्देश दिएको छ । 

उक्त कार्यक्रममा मनुष्यको सूक्ष्म शरीरमा रहेका सात चक्रमध्ये हरेक दिन एक–एक चक्रको बोध गुरुदेवहरूले गराउनुभयो । पहिलो दिन मूलाधार, दोस्रो दिन स्वाधिष्ठान, तेस्रो दिन मणिपुर र चौथो दिन अनाहत अर्थात् हृदयचक्रलाई जगाउने प्रयोगात्मक अभ्यास गरियो । पाँचौँ दिनपछि अरू चक्रहरूको जानकारी र अभ्यास गराइयो । 

यो लेख अनाहत चक्रमा केन्द्रित छ । अनाहत चक्र प्रेमको अपार खानी हो । अनाहत चक्र भक्ति योग हो । सहस्रार चक्रबाहेक अरू ६ चक्रमा एक–एक स्वाद हुन्छ । तीमध्ये अनाहत चक्रमा भएको स्वाद गुलियो हो भने रङ हरियो हो । 

संसार प्रेमले चलेको छ । भगवान्ले जीवलाई आमाबाबु बन्ने, प्रेम उत्पादन गर्ने र बर्साउने गुण हालिदिएका छन् । हाम्रो समाजमा एउटा उखान छ— खेती अर्काको राम्रो, सन्तान आफ्नो राम्रो भन्ने । पहिले हजुरबा–हजुरआमाले घरमा खाना पकाउँथे, बच्चाबच्ची र बुढापाकाको स्याहार गर्ने गर्थे । छोराबुहारीले घर बाहिरको काम गर्थे । पढाइका लागि गुरुकुल थियो । मातापिता, मान्यजन, गुरु, किसान सबैको स्थान उच्च थियो । सबैको अनाहत चक्र सबल थियो । 

आजकल समाज फेरिएको छ । विज्ञान र प्रविधिको विकासले खेतीपातीको काम गर्ने शैलीमा परिवर्तन आएको छ । घरबाहिर गएर गरिने कार्यले नगद आर्जनको अवसर बढाएको छ । सन्तान आमाबाबुबाट टाढा हुँदै गए । प्रेमको तार पनि लामो र मसिनो हुँदै गयो । 

हरेक आमाबाबु चाहन्छन्, छोराछोरीको आहारविहार सात्त्विक होस् । सन्तानको दाम्पत्य जीवन सुखी होस् । तिनका सन्तान असल र निरोगी होऊन् । आफूले कहिल्यै आफ्नो छोराछोरीको दुःख देख्न–सुन्न नपरोस् । अनि आफूलाई बुढेसकालमा सन्तानबाट भरोसा होस् । सबै आमाबाबुको चाहना यति मात्र हो । 

हामीले आजकल देखिरहेका छौँ, धेरैका सन्तान विदेशमा छन् । स्वदेशमा भएका छोराबुहारीले पनि आफूलाई राम्रो गरेका छैनन् भन्ने आभास भए मरेतुल्य लाग्छ आमाबाबुलाई । त्यसमाथि पनि आजकल धेरैमा सम्मानको कुरै छाडौँ, हेला गरेको पनि देखिन्छ । आफ्ना सन्तानलाई माया गरिरहँदा मेरा आमाबाबुले पनि यसैगरी माया गरेर म यत्रो भएँ भन्ने भुलेकोे देखिन्छ । आफूले छोराछोरीलाई माया गर्दा आफ्नो मुटुमा आमाबाबुको धड्कन सुन्नुपर्छ । नत्र आफ्ना सन्तानलाई गरेको मायाको फल विष बराबर हुन्छ । ठुला मान्छेले आफ्ना बाबुआमाप्रति गरेको व्यवहार छोराछोरीका लागि खुला पुस्तक हो ।

भनिन्छ, यस जुनीमा आमाबाबुलाई हेला गर्नेले अर्को जुनीमा मनुष्य बाबुआमा पाउँदैनन् । ईश्वरको बुझाइ हुन्छ, यिनलाई मनुष्य आमाबाबु मन पर्दैन र आवश्यक पनि छैन । जसलाई यो जुनीमा मन नपर्ने कुरा अर्को जुनीमा किन दिन्छन् भगवानले ? यस तथ्यलाई मनन गर्दा आफ्नो रोजाइले नै मान्छे पशु योनिमा पुग्छ । पशु भएर जन्मेपछि आमाबाबुलाई प्रेम गर्नैपदैन; आमाले नहुर्कंदासम्म ख्याल गर्ने हो । आफ्नै सन्तानै भए पनि पशुमा भाले र पोथीमा यौनिक सम्बन्ध हुन्छ, भावनात्मक प्रेमको कुरै आउँदैन । 

आमाबाबु हाम्रो जीवनका स्रोत हुन् । ती थिए र पो हामी भयौँ । मनुष्यको सुषुम्ना नाडीले स्रोतलाई सम्झन भन्छ । स्रोतलाई बिर्सनु भनेको माटोले समातेर म बन्धनमा परेँ भनेर रुखले भनेजस्तै हो ।

अनाहत चक्र भगवानले किन दिए ? चक्र विज्ञान कार्यक्रममा यस्ता कुरा अझै गहिरोसँग बुझ्दै गइन्छ । मानिस ईश्वरको सन्तान रहेछ । संसार प्रेमले अडेको भएर ईश्वरले मान्छेलाई जन्म दिएपछि आफ्नो प्रतिनिधिका रूपमा आमाबाबु दिए । आफूलाई संसार देखाउने माध्यम बाबुआमा नै हुन् । नेपाली समाजमा बुहारीहरूले सासुससुराको स्याहार गर्ने प्रचलन छ । छोरी विवाह भएर श्रीमानकहाँ जाँदैमा आफ्ना आमाबाबुलाई गर्ने प्रेमको भाँडो पखालेर जानुपर्छ भन्ने कदापि होइन । श्रद्धा र सम्मान यथावत राख्न सकिन्छ । यस्तै गरी श्रीमान्का आमाबाबुप्रति गहन जिम्मेवारी लिनैपर्छ । कुनै पनि बोटको फल मिठो लाग्छ भने बोटको महत्त्वको बोध हुनैपर्छ । 

यति कुरा बुझिरहँदा, आमाबाबु वा सासुससुरा जीवित हुनेले त आफ्नो व्यवहार सुधार्ने अवसर पाउँछन् । जसले बाआमा बाँचुन्जेल हेला गरेका थिए, बाआमाको मृत्युपछि उनीहरूमा पश्चाताप हुन्छ । तिनको सुषुम्ना नाडीमा गहिरो घाउ बन्छ । जसले गर्दा कुनै पनि चक्रमा बल हँुदैन, छटपटाहट हुन्छ । खान, निदाउन र रमाउन सक्दैनन् । पीडा हुँदाहुँदा अन्त्यमा विछिप्त हुन्छन् भन्ने कुराको तथ्य उजागर गरिन्छ गुरुदेवहरूबाट । 

कार्यक्रमको दौरानमा यति सुनिरहँदा कोही घोप्टो परे । कोही उत्तानै पल्टिए । कोहीले आँखा बन्द गरे । कोहीको साँक्कसँुक्क गरेको सुनियो । कसैले डाँको छोडे । एक छिनमा पूरा हल स्तब्ध भयो । अघिल्लो दिन मणिपुर चक्रको जोसले जुरुक्क उठेको हल, भोलिपल्टको अनाहत चक्रको दिन आकाश–पातालको अनुभव भयो । 

त्यस दिनको दोस्रो सत्र सकिएपछि आमाबाबु त्यहीँ हुनेले रुँदै अँगालो मारेको देखियो । कोही दिदी–बहिनीलाई समातेर भक्कानिएको पनि देखियो । सन्तान विदेश गएका आमाबाबुहरू खै के सम्झेर हो उदास देखिन्थे । कोही बाहिर निस्केर फोनमा भावुक भएको देखिन्थ्यो । 

यसअघि जे जे भयो भयो । त्यो कुरा र काम सकियो । गएका दिनलाई केही गर्न सकिँदैन । व्यवहार सुधार्ने भनेको आजदेखि हो । कुरा नबुझ्दै गरेको भन्दा पछि कुरा बुझेपछि गरेको गल्तीको दोष हजार गुना बढी लाग्छ भनिन्छ । यसैले अब हामीले तलका तीन कुरामा ध्यान दिनुपर्छ । 

क) आमाबाबु हाम्रो जीवनका स्रोत हुन् । ती थिए र पो हामी भयौँ । मनुष्यको सुषुम्ना नाडीले स्रोतलाई सम्झन भन्छ । स्रोतलाई बिर्सनु भनेको माटोले समातेर म बन्धनमा परेँ भनेर रुखले भनेजस्तै हो । माटोले नसमातेको भए म मर्थें भन्ने रूखले भुल्न मिल्दैन । त्यस्तै जरा मजबुत भएर हामी हाँगाबिँगा सप्रेका हौँ भन्ने नभुलौँ । 

ख) बालबच्चालाई राम्रो संस्कार दिऊँ । हजुरबा–हजुरआमा, बाबुआमा, गुरु, समाजका अग्रजलाई सम्मान र श्रद्धा गर्न सिकाऊँ । आफूभन्दा साना र कमजोरलाई स्नेह गर्न सिकाऊँ । प्रतिस्पर्धा अरूसँग होइन, आफ्नै हिजो र आजसँग गर्न सिकाऊँ । अरूलाई होँचो नपारी आफू अग्लो बन्ने व्यावहारिक ज्ञान दिऊँ । यस्ता ज्ञान दिनुअघि आफू ज्ञान दिन लायक बनौँ । 

ग) आमाबाबुका माध्यमबाट बनेका हाम्रा शरीरका अवयव अर्थात् हाड, छाला, रगत, मासु कसरी फेर्ने ? मरेर गएका आमाबाबुसँग पनि सम्बन्ध–विच्छेद हुँदैन । त्यति मात्र होइन, आफैँ मरेपछि पनि हुँदैन । सन्तान दरसन्तानमा बहिरहन्छ । 

अन्त्यमा, गहिरोसँग सोचौँ, स्पष्ट बुझौँ । सकभर अरूलाई पनि बुझाऊँ । अनाहत चक्रका साथै सबै चक्र सबल बनाऊँ । यो दुर्लभ मनुष्य जीवनलाई हामी सबै ‘म’ले सुखी, खुसी, सुन्दर र समृद्ध बनाऊँ । मानवता भावले भरिएको नवयुगको निर्माण गरौँ । 

(लेखक पण्डित जीवन विज्ञान संस्थाकी प्रशिक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यवदना घिमिरे पण्डित
सूर्यवदना घिमिरे पण्डित
लेखकबाट थप