मङ्गलबार, ११ असार २०८१
ताजा लोकप्रिय
सन्दर्भ : शैलजा स्मृति दिवस

जसले पञ्चायती शासनविरुद्ध लड्न पुरुषको भेषमा हतियार ल्याइन्

मङ्गलबार, २९ जेठ २०८१, १२ : २०
मङ्गलबार, २९ जेठ २०८१

आजको सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा हामीले निर्बाध रूपमा मनमा लागेको लेख्न, बोल्न, असन्तुष्टि पोख्न पाएका छौँ । क्रमशः निरङ्कुश राणाशासन, पञ्चायती शासन र राजाको प्रत्यक्ष शासन फालेर आज तीन तहको सरकारमार्फत नागरिकलाई सेवा–सुविधा दिने प्रयत्न गरिएको छ । नागरिक नै सर्वेसर्वा हुने र गाउँ–गाउँमा सिंहदरबार पुग्ने यो अवस्था त्यत्तिकै सजिलै आएको भने होइन । यो व्यवस्थाका लागि कैयौँको पसिना बग्यो, कतिको रगत । 

नागरिक अधिकार प्राप्तिका लागि जोडिएका त्यस्तै कैयौँ सपुतमध्ये एक हुन्, नेपालकी पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य । 

उनले नेपालमा नागरिकलाई अङ्कुश लगाउने तानाशाही पञ्चायत व्यवस्था हटाउन निकै महत्त्वपूर्ण योगदान गरिन् । 

शैलजा ती नेता हुन्, जसले राजा र उनको निरङ्कुश व्यवस्थाविरुद्ध मान्छे बोल्न समेत डराउँदा सशक्त आन्दोलनको अग्रपंक्तिको नेतृत्व गरेकी थिइन् । व्यवस्थाविरुद्धको सङ्घर्षमा पुरुषका लागि समेत जोखिमपूर्ण मानिने हतियार ओसार्ने काममा समेत संलग्न रहेर शैलजाले विचार मात्र होइन, नागरिक अधिकारका लागि जस्तोसुकै कदम चाल्न समेत साहस भएको प्रमाणित गरिन् । 

आफैँ पाकिस्तानसम्म पुगेर धेरै मिहिनेत अनि अनेक किसिमका झन्झट र अप्ठेरा सहेरै पनि शैलजाले नेपालमा प्रजातन्त्रको पुनर्स्थापनाका लागि सशस्त्र सङ्घर्षमा हतियार आपूर्ति गर्नेजस्तो साहसिक कार्य गरिन् तर यो कुरा सायद धेरैको जानकारीमा छैन । 

हतियार बोकेर फर्कँदै गर्दा बाटामा भारतीय प्रहरीसँग जम्काभेट पनि भयो तर महान् उद्देश्य पूरा गर्ने शपथ खाएकी शैलजाको चलाखीका कारण भारतीय प्रहरीको आँखा छल्दै उनी सीमा पार गर्न सफल भइन् ।

उनका सङ्घर्षका कुरा सुन्दा सिनेमाको कथा जस्तो लाग्छ । पुरुषको भेषमा उनी पाकिस्तानमार्फत नेपालमा हतियार आपूर्ति गर्न होमिएकी थिइन् । यस क्रममा उनी पुरुषजस्तै सर्ट–पाइन्ट र बुटमा सजिएर हिँड्थिन् । फेटामा लामो कपाल लुकाएर त्यसमाथि टोपी लगाउँथिन् । 

अनेक हन्डर खेप्दै धोद्रो स्वरमा पुरुष आवाज निकाल्दै भारत राजस्थानको बाटो हुँदै पाकिस्तान पुग्न उनी सफल भइन् । त्यसपछि आफ्नो योजनाअनुसार हतियार नेपाल ओसार्ने काममा उनले सफलता पाइन् । 

हतियार बोकेर फर्कँदै गर्दा बाटामा भारतीय प्रहरीसँग जम्काभेट पनि भयो तर महान् उद्देश्य पूरा गर्ने शपथ खाएकी शैलजाको चलाखीका कारण भारतीय प्रहरीको आँखा छल्दै उनी सीमा पार गर्न सफल भइन् । त्यतिखेर शैलजाले १७ दिनसम्म राजस्थानको मरुभूमिमा बसेर पाकिस्तानबाट हतियार ओसारेकी थिइन् ।

यो त एउटा घटना मात्र भयो । वैचारिक हिसाबले लोकतन्त्रप्रति प्रतिबद्ध उनका साहसका कथा यत्तिमै रोकिन्नन् । मात्र १७ वर्षकै उमेरमा मुलुकमा अपदस्थ प्रजातन्त्र पुनर्स्थापना गर्ने कदमलाई साथ दिन राजा महेन्द्रलाई कालो झन्डा देखाउने आँट पनि उनले गरेकी थिइन् । 

चाहे जेलमा बस्दा होस् या निर्वासित जीवनमा, देशमा लोकतन्त्र प्राप्तिका लागि साहसी शैलजाले अनवरत सङ्घर्ष गरिरहिन् ।

राजा महेन्द्रले नेपालको पहिलो जननिर्वाचित सरकारलाई २०१७ पुस १ गते अपदस्थ गरे । त्यसपछि लोकतन्त्र हर्ने राजा महेन्द्रको त्यस कदमका विरुद्ध कांग्रेसको नेतृत्वमा भूमिगत अभियान चलाउन सुरु गरियो । त्यसै वर्ष राजा महेन्द्रले विशाल सभामार्फत प्रजातन्त्र दिवस (फागुन ७) मनाउने तयारी गरेका थिए । त्यो सभामा अरू केही महिलासँगै गएर शैलजाले राजा महेन्द्रलाई मञ्चमै कालो झन्डा देखाउने साहस गरिन् । नागरिक अधिकार नै कुण्ठित त्यो समयमा एउटा महिलाले देखाएको त्यो साहस अहिले कोही–कसैले लेखे बोलेभन्दा निकै ठुलो अर्थमा क्रान्तिकारी अनि असाधारण थियो । 

ज्यानै जाने जोखिमका बिच त्यस घटनामा उनले ‘तानाशाह मुर्दावाद’को नारा पनि लगाइन् । उनकै हस्तक्षेपपछि कडा सुरक्षाका बिच जारी पञ्चायतकालको त्यो महत्त्वपूर्ण कार्यक्रम नै बिथोलियो । त्यसको फलस्वरूप केही समयपछि उनलाई पक्राउ गरी जेलमा कोचियो तर पनि उनी चुप लागेर बसिनन् । आफूसँगै जेल परेका साथीसँग त्यहीँभित्र सङ्घर्ष थाल्ने अर्को साहसपूर्ण कदम उनले चालिन् । 

चाहे जेलमा बस्दा होस् या निर्वासित जीवनमा, देशमा लोकतन्त्र प्राप्तिका लागि साहसी शैलजाले अनवरत सङ्घर्ष गरिरहिन् । भारतमा निर्वासित रहँदा पनि उनको राजनीतिक सक्रियतामा कहिल्यै कमी आएन । कलेज पढ्ने त उनका लागि बहाना थियो । त्यहाँ पनि विद्यार्थी बटुलेर निरकुंश राजतन्त्रलाई कसरी घुँडा टेकाउन सकिन्छ भन्नेमा उनको ध्याउन्न हुन्थ्यो ।

जनताकै मुक्तिका लागि नेता शैलजाले अनेकन् आफ्ना रहर मारिन् । कहिल्यै आफू महिला हुँ भन्ने नसोचेकी उनलाई महिला नेताका रूपमा मात्र सीमित गर्नु अन्याय हुन्छ भन्दा फरक नपर्ला ।

मीठो खाने राम्रो लाउने वा पढ्ने युवावस्थामै उनले जेलनेल भोग्नुपरेको थियो । भारतमा निर्वासित जीवन जिउने क्रममा उनी र बीपीपुत्र प्रकाश कोइरालाले पालैपालो खाना बनाउने जिम्मा लिएका थिए । शैलजाको पालामा खाना बनाउँदा आधा घण्टामै खाना तयारी भएछ । खान बस्दा उनले भात, तरकारी र दाल मिसिएको खाना थालमा देखे । उनले अचम्म मान्दै सोधे, ‘के गर्नुभाको शैलजा दिदी !’ । शैलजाले भनिन्, ‘जसरी पनि पेट भर्ने हो, थालमा छुट्टाछुट्टै खाना भए पनि चपाएपछि पेटमा सबै मिसिन्छ । आखिर सबै एकै ठाउँमा मिसिन्छ भने किन फरक–फरक भाँडोमा पकाएर समय बर्बाद गर्ने ?’ 

यसरी उनले समय र सन्दर्भलाई ख्याल गरीकन मुलुक र जनताका हितका लागि सदैव अग्रपंक्तिमा रहेर कार्य गरिन् । पद र शक्तिको पछाडि कहिल्यै नलागेकी शैलजाले आफू मन्त्री हुँदा धेरै उल्लेखनीय कार्य गरेकी थिइन् ।

मन्त्रालयमा सुशासन कायम गर्न हर तरहका प्रयासमा लागिन् पनि, नसकेपछि राजनीतिक इमानदारिताको ज्वलन्त उदाहरण प्रस्तुत गर्दै कृषिमन्त्रीबाटै राजीनामा दिइन् । 

जनताकै मुक्तिका लागि नेता शैलजाले अनेकन् आफ्ना रहर मारिन् । कहिल्यै आफू महिला हुँ भन्ने नसोचेकी उनलाई महिला नेताका रूपमा मात्र सीमित गर्नु अन्याय हुन्छ भन्दा फरक नपर्ला । नेपाली कांग्रेसको लामो इतिहासमा पहिलो महिला उपसभापति शैलजा आचार्य नै हुन् ।

मुलुकको हितका लागि त सधैँ अग्रसर शैलजा आफ्नो पार्टी कांग्रेसलाई पनि नीति र विधिमा हिँडाउन लागिरहन्थिन् । उनी पछि आजका मितिसम्म अरू महिला उपसभापति भएका छैनन् । शैलजाले पार्टीमा पनि कहिल्यै गुट र उपगुटको राजनीति गरिनन् । बीपीको आदर्श र मान्यतालाई उनले जीवनभर अनुशरण गरिन् । कांग्रेसले पनि बीपीको सिद्धान्त अनुसार हिँड्नपर्छ अक्सर उनी भन्ने गर्थिन् ।

भ्रष्टाचारले जरा गाडेको र नागरिकमा चरम निराशा व्याप्त भएको यो घडीमा शैलजाजस्ता नेताले अपनाएको जीवन आदर्श, व्यवहार पद्धति अनि सोचको सानो मात्र अंश राजनीतिमा लागु हुने हो भने धेरै समस्या हल हुने थियो ।

६६ वर्षको उमेरमा २०६६ जेठ २९ गते संसारबाट बिदा भएकी उनी जति बाँचिन्, जनताका लागि जनताबाटै शासन गर्ने जनताको लोकतन्त्र लागि उनी लडिरहिन् । त्यति मात्र होइन, आफूले अथक दुःख सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र र कांग्रेसको सुधारका लागि आजीवन उनी प्रयत्नशील रहिरहिन् ।

नैतिकताको खडेरी लागेको अहिलेको समयमा शैलजा आचार्यको सादगीपन र साहसिक कदमबाट पाठ सिकेर सोही अनुसारको जीवनशैली नेतृत्वले अवलम्बन गर्ने हो भने देशको लोकतन्त्र बलियो अनि विकाररहित बन्न सक्छ । 

भ्रष्टाचारले जरा गाडेको र नागरिकमा चरम निराशा व्याप्त भएको यो घडीमा शैलजाजस्ता नेताले अपनाएको जीवन आदर्श, व्यवहार पद्धति अनि सोचको सानो मात्र अंश राजनीतिमा लागु हुने हो भने धेरै समस्या हल हुने थियो ।

शैलजाको स्मृति दिवसमा हरेक वर्ष उनका नाममा खोलिएका केही सङ्घसंस्थाले औपचारिक कार्यक्रम त गर्छन् तर एउटा पार्टी वा वर्गका लागि नभई आम नागरिकको अधिकार, स्वतन्त्रता, विकास अनि पारदर्शिताका लागि लडेकी एक साहसी महिला नेता शैलजाबाट सिक्नुपर्ने कुरामा चाहिँ उनको दल र समग्र राजनीतिक वृत्त नै चुकेको छ । 

अहिलेको समयमा समेत आदर्शका रूपमा रहेका उनका विचार अझ फैलाउन राज्य त के उनको पार्टीबाट पनि पर्याप्त कार्य भएको भेटिन्न । कलिलो उमेरमै ज्यानको पर्बाह नगरेर हतियार उठाउनेदेखि राजाविरुद्ध कालो झन्डा बोक्ने अनि नागरिकको अधिकारका जीवनभर सक्रिय शैलजाको योगदानलाई कांग्रेससँगै राज्यले पनि भुल्नु हुँदैन । 

(लेखक नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सचिव हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सृजना अर्याल
सृजना अर्याल
लेखकबाट थप