बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

१६ नोभेम्बरमा अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने

शुक्रबार, ३२ जेठ २०८१, १६ : ०८
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । अमेरिकाको सन फ्रान्सिस्कोमा गोल्डेन नेपाली फिल्म अवार्ड हुने भएको छ । अमेरिकामा रहेको गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाले राजधानीमा एक कार्यक्रमका बिच अवार्डको जानकारी दिएको हो । 

गोल्डेन स्टेट मुभी मेकर्सका प्रमुख यज्ञलाल श्रेष्ठले नेपाली फिल्मको विकास, विस्तार र प्रवर्द्धनका लागि नेभेम्बर १६ ( मङ्सिर १) मा भव्य रूपमा अवार्ड समारोह आयोजना गरिने बताए । अवार्डका लागि नेपालबाट चर्चित डेढ दर्जन कलाकार अमेरिका लगिने र त्यही रहेका नेपाली कलाकारलाई पनि समेटिने उनको भनाई थियो । अवार्डमा ०८० साउन १ गतेदेखि ०८१ असार मसान्तसम्म प्रदर्शित नेपाली फिल्महरूमा प्रतिस्पर्धा हुनेछ ।

कार्यक्रममा समाज सेवी संस्था सिन्धुपाल्चोक समाज नेपालको औपचारिक उद्घाटन भयो । वरिष्ठ अभिनेत्री त्रय वसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी, नीर शाह, शिव श्रेष्ठ, सुनिल थापा र अवार्ड आयोजक प्रमुख यज्ञलाल लगायतले संयुक्त रूपमा संस्थाको उद्घाटन गरेका थिए । 

जिल्लावासीहरूलाई एकत्रित गरी समाज सेवा कार्यलाई प्रभावित बनाउने उद्देश्य लिएको सिन्धुपाल्चोक समाजको संस्थापक पनि यज्ञलाल श्रेष्ठ हुन् । कार्यक्रममा सिन्धुपाल्चोक समाज नेपालका अध्यक्ष फुर्वा ग्याल्बो लामा र सिन्धुपाल्चोक समाज अमेरिकाका अध्यक्ष दीपेश लामाले समाजमार्फत सिन्धुपाल्चोकवासीलाई आपतविपत पर्दा आफूहरू अग्रस्थानमा उभिने प्रण गर्दै यस शुभ कार्यमा साथ दिन सबैलाई आव्हान गरे । 

कार्यक्रममा वरिष्ठ अभिनेता नीर शाह, सुनिल थापा, चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रवीन्द्र खड्का तथा अभिनेता कृष्ण मल्लले अमेरिकामा बसे पनि यज्ञलालले आफ्नो माटो नभुलेको बताउँदै उनले समाजसेवा तथा नेपाली चलचित्रको श्रीवृद्धिमा अतुलनीय योगदान पुर्‍याइरहेको भन्दै तारिफ गरे । 

अवार्ड आयोजक कमिटीमा वरिष्ठ अभिनेता शिव श्रेष्ठ, सुनिल थापा, अभिनेत्री दीपाश्री निरौला, अभिनेता सुनिल कटुवाल र पत्रकार, फिल्म निर्देशक लक्ष्मण सुवेदी छन् । विभिन्न पपुलर १० विधामा अवार्ड प्रदान गरिने कार्यक्रमको अफिसियल एमसी नरेश भट्टराई छानिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप