बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

टरुवा ताल संरक्षणमा जुटे स्थानीय

आइतबार, ०२ असार २०८१, २२ : ५०
आइतबार, ०२ असार २०८१

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल संरक्षणका लागि जुटेका  छन् ।  ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर चौरजस्तै बन्न थालेपछि आफूहरू सरसफाइसहित संरक्षणमा जुटेको ताल संरक्षण तथा सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए ।

सरसफाइ नहुँदा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेकाले यसको सरसफाइमा जुटेको उनले बताए । “यो जिल्लाकै महत्वपूर्ण ताल हो तर संरक्षण हुन नसक्दा सङ्कटमा पर्दै गएकाले स्थानीयको सक्रियतामा ताल सफा गर्ने अभियान सञ्चालन गरेका छौँ”, अध्यक्ष सापकोटाले भने ।

दैनिक रूपमा स्थानीयको सक्रियतामा तालभित्र रहेको जलकुम्भी झार हटाउने काम भएको उनले बताए । पानी भएको स्थानको जलकुम्भी हटाउने काम करिब सकिएको र जेसिबीको सहायताले छेउछाउमा सफा गर्नुपर्ने देखिएको उनले भने ।

कावासोती नगरपालिका वडा नम्बर ७ र ८ मा फैलिएको ताल पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको नवलपुर होटल व्यवसायी सङ्घका अध्यक्ष एवं स्थानीय सन्तोष रानाले बताए । दिगोरूपमा संरक्षणको योजना बनाएर अघि बढ्न सके टरुवा ताल जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्ने उनको भनाइ छ ।

“बजार क्षेत्रबाट नजिक रहेको र पानीको पर्याप्त स्रोत भएको हुँदा यसको दिगोरूपमा संरक्षणको योजना बनाउँदै अघि बढ्न आवश्यक छ । त्यसो गरेमा आर्थिक विकाससमेत टेवा पुग्नेछ”, रानाले भने ।

हालको कावासोती बजार स्थापनामा टरुवा ताल जोडिन्छ । बजार क्षेत्र मानिने कावासोती वडा नं २, ३ र ८ मा तत्कालीन बस्ती विकासको समयमा खानेपानीको उपलब्धता नहुँदा यही तालको पानीले स्थानीयले आवश्यकता परिपूर्ति गर्ने गर्दथे । सोही तालको मुहानबाट पानी ल्याएर यहाँका बासिन्दाले पिउने, गाईवस्तुलाई खुवाउनदेखि घर निर्माणका कार्यमा प्रयोग गर्ने गर्दथे । 

करिब ३ दशमलव ५२ हेक्टर क्षेत्रफलमा ताल फैलिएको छ । टरुवा तालसँगै हरियाली वातावरण, नजिकै रहेको नर्मदेश्वर महादेव मन्दिर, ताल परिसरसँगै जोडिएको गुम्बा आफैँमा पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन् । यसलाई जोडेर एकीकृत रूपमा विकास गर्न सके जिल्लाकै सुन्दर पर्यटकीय गन्तव्य बन्ने अध्यक्ष रानाले बताए ।

दुई वडामा फैलिएकाले संरक्षण कसले गर्ने भन्ने अन्योलता छ । ताल संरक्षणका लागि भनेर विभिन्न समिति निर्माण भएका छन् तर ती समितिले एकीकृत कार्ययोजना निर्माण नगर्दा संरक्षणमा नै चुनौती थपिएको यहाँका स्थानीयको बुझाइरहेको छ ।    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप