बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
खानपान

मोहीको मोह बढ्दो, यस्ता छन् मोहीका फाइदा

मङ्गलबार, ०४ असार २०८१, १६ : ००
मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । नेपालमा पछिल्लो समय मोहीप्रति उपभोक्ताको मोह बढेको छ । मोही गर्मी मौसमका लागि स्वास्थ्यवर्द्धक पेय पदार्थ हो । मोहीमा विभिन्न पोषण तत्त्व पाइने भएकाले यसले पाचन प्रणाली, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्ने जानकारहरूको भनाइ छ ।

पोषणविद् सञ्जय महर्जनका अनुसार मोही रसायनरहित प्राकृतिक पेय पदार्थ हो । मोही पिउँदा गर्मी छल्नुका साथै स्वास्थ्यका लागि विभिन्न पौष्टिक तत्त्व प्राप्त हुन्छ । ‘मोही प्राकृतिक पेय हो, यसमा कुनै केमिकल मिसाइएको हुँदैन,’ पोषणविद् महर्जनले भने, ‘खाना खाएपछि पानीको सट्टा मोही पिउन सकिन्छ । मोही हाम्रो पाचन प्रणालीका लागि राम्रो हुन्छ ।’

मोहीमा क्याल्सियम, माइक्रो प्रोटिन लगायतका पोषण तत्त्व हुन्छ । मोही पिउनाले हड्डीको विकासमा सहायता गर्ने उनको भनाइ छ । ‘मोहीमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ । एमिनो एसिड हुन्छ,’ उनले भने, ‘बच्चादेखि वृद्धसम्मका लागि यो एकदमै राम्रो हुन्छ । बच्चाको लागि एकदम स्वास्थ्यवर्द्धक पेय पदार्थ हो ।’

सुरुमा दैनिक एक हजार लिटर मोही उत्पादन गरेर बिक्री गरेको उद्योगले अहिले दैनिक तीन हजार लिटरसम्म मोही उत्पादन गरेर बिक्री गरिरहेको छ ।

दुग्ध व्यवसायी तथा नेपाल डेरी एसोसिएसनका केन्द्रीय सचिव शिवहरि आचार्यले दैनिक एक हजार लिटर मोही बजारमा ल्याउने तयारी गरेका छन् । उनले भने, ‘मोहीमा १ प्रतिशत फ्याट राखिन्छ, ५ प्रतिशत एसएनएफ राखेर उत्पादन गरिन्छ । यसमा क्याल्सियम बढी हुन्छ ।’

व्यवसायी आचार्यले सहरबजारमा हुर्केकालाई मोहीको महत्त्व जानकारी नरहेको पाइएको बताए । ‘गाउँमा हुर्केकाले यसको महत्त्व बुझेका छन्,’ उनले भने ।

  • ब्रान्ड बन्दै मोही

मोही ब्रान्ड बन्दै गरेको नेपाल डेरी एसोसिएसनको भनाइ छ । नेपालमा पछिल्लो समय विभिन्न स्थानीय तहले मोहीलाई ब्रान्डिङ गर्न थालेका छन् । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार मोहीप्रतिको मोह बढ्न थालेपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ इमिलियामा ग्लोबल डेरी उद्योगले वैशाख पहिलो हप्तादेखि व्यावसायिक रूपमै मोही उत्पादन सुरु गरेको छ ।

मोही पिउने समय र व्यक्ति अनुसार फरक हुन सक्छ । विशेष गरी ग्यास्ट्रिकको समस्या हुनेहरूले अमिलो मोही पिउन नहुने पोषणविद् महर्जनले बताए ।

सुरुमा दैनिक एक हजार लिटर मोही उत्पादन गरेर बिक्री गरेको उद्योगले अहिले दैनिक तीन हजार लिटरसम्म मोही उत्पादन गरेर बिक्री गरिरहेको छ । चितवनको इच्छाकामना गाउँपालिकाको कार्यालयमा पाहुना तथा सेवाग्राहीलाई मोहीले स्वागत गर्न थालिएको दाहालले बताए ।

पछिल्लो समय बाराको निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरले पनि पाहुनालाई चिया तथा चिसो पेय पदार्थको सट्टा मोही दिने गरेको उनको भनाइ छ । पोखरा महानगरपालिका–१७ मा एसएण्डएस डेरी उद्योगले पनि व्यावसायिक रूपमा दैनिक १ हजार लिटर मोही बजारमा ल्याउने तयारी गरेको छ ।

  • मोही कुन बेला पिउने ?

मोही पिउने समय र व्यक्ति अनुसार फरक हुन सक्छ । विशेष गरी ग्यास्ट्रिकको समस्या हुनेहरूले अमिलो मोही पिउन नहुने पोषणविद् महर्जनले बताए । मोही बेलुकीभन्दा बिहान र दिउँसो पिउँदा प्रभावकारी मानिन्छ । ‘आयुर्वेदमा खाना खाने बित्तिकै पानी पिउनु राम्रो मानिँदैन’ उनले भने, ‘तर मोही पिउँदा स्वास्थ्यलाई हानि हुँदैन ।’

स्वास्थ्यको दृष्टिकोणले उत्तम मानिएको पेय पदार्थ मोहीलाई बजार ल्याउनुअघि यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने सरोकारवालाले सुझाएका छन् । ‘यसमा चिनी लगायत अन्य विकार वस्तु हाल्नु भएन,’ पोषणविद् महर्जनले भने, ‘बजारमा यसलाई शुद्ध रूपमा ल्याउनु प¥यो ।’

अध्यक्ष दाहालले मोहीको बजारीकरणमा विशेष ध्यान दिनुपर्ने सुझाएका छन् ।

  • मोही पिउँदाका फाइदा 

–मोहीमा पर्याप्त मात्रामा क्याल्सियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ,

–मोहीलाई भुटेको जिराका साथ पिउनाले पाचन प्रणाली दुरुस्त राख्न मद्दत गर्छ, साथै पेटको गर्मी र अन्य समस्याबाट पनि जोगाउन मद्दत गर्छ,

–मोटोपना अधिक हुँदा मोहीमा नुन मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ,

–बिहान–साँझ मोही पिउँदा स्मरण शक्ति तेज हुन्छ ।  पटकपटक बाडुल्की लाग्ने समस्या रहेमा मोहीमा एक चम्चा अदुवाको रस र पाउडर मिलाएर पिउनु लाभदायक हुन्छ,

–बान्ता आउने जस्तो भएमा मोहीमा जाइफल पिसेर त्यसको मिश्रण पिउँदा लाभदायक हुन्छ,

–सौन्दर्य समस्याको लागि मोही निकै फाइदाजनक हुन्छ, मोहीमा पिठो मिलाएर तयार गरिएको लेप लगाए छालाको चाउरीपना कम हुन्छ,

–गुलाबको जरालाई मोहीमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोरको समस्या कम हुन्छ,

–शरीरमा पोलेको भाग छ भने तुरुन्त मोही लगाउँदा आराम मिल्छ ,

–कपाल झर्ने समस्यामा पनि मोही उत्तिकै उपयोगी हुन्छ । यसको लागि बासी मोहीले हप्तामा दुई दिन कपाल पखालेमा सिल्की र चम्किलो बनाउने गर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप