बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

सुनको गहनामा जर्तीको विवाद उत्कर्षमा :  रिद्धि सिद्धिको घोषणासँगै आरोप-प्रत्यारोप

निर्णय फिर्ता हुँदैन : गुप्ता
मङ्गलबार, ०४ असार २०८१, १५ : ५०
मङ्गलबार, ०४ असार २०८१

काठमाडौँ । सुनको गहनाको खरिद बिक्री हुँदा ग्राहकसँग कुनै पनि जर्ती बापतको शुल्क नलिने राजधानीको श्री रिद्धि सिद्धि ज्वेलर्सले निर्णय गरेपछि अन्य व्यवयासीहरु तरङ्गित बनेका छन् । यो विवादमा श्री रिद्धि सिद्धि एकातिर र अन्य व्यवसायी तथा संघ सङ्गठनहरू अर्कातिर हुँदै वक्तव्यबाजी हुन थालेका छन् । 

यही क्रममा असार २ गते नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासंघले एक संयुक्त विज्ञप्ति जारी गर्‍यो । उक्त विज्ञप्ति सुनको जर्ती नलिने घोषणा गर्ने श्री रिद्धि सिद्धि ज्वेलर्ससँग नै सम्बन्धित थियो । 

विज्ञप्तिमा गहना व्यवसायीहरूलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढबीच द्वन्द्व सिर्जना गर्ने कार्य भएको भन्दै महासङ्घहरूको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । 

राज्यले गहना व्यवसायको सञ्चालन एवं नियमनका लागि ऐन, नियम, निर्देशिका आदि जारी नगरेको विद्यमान अवस्थामा गहना व्यवसायीहरुका प्रतिनिधिमूलक छाता सङ्गठनहरूले आपसी सहमतिमा निर्धारण गरेको विधि र पद्धति अनुरूप मुलुकभर व्यवसाय सञ्चालन एवं यस सम्बन्धी विषयहरू व्यवस्थापन हुँदै आएकोमा त्यसरी फर्म विशेषले आफू खुसी ‘धमाका अफरहरू’ दिएर गरिने प्रचारले राज्य, आम उपभोक्ताका साथै यस क्षेत्रमा संलग्न व्यवसायी एवं कालीगढबीच विश्वासको सङ्कट पैदा गराउने स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ । 

मजदुरको पारिश्रमिक, निर्माण क्षति जर्ती, ज्याला आदि बारेमा नेपाल सरकारबाट विभिन्न समयमा विभिन्न परिपत्रहरू जारी भएको विज्ञप्तिमा उल्लेख छ । जसअनुसार नेपाल राष्ट्र बैंकको सुन आयात तथा विक्री वितरण कार्यविधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्ती बापत १० प्रतिशत थप शोधभर्ना दिने नियम रहेको उल्लेख छ । यस्तै टक्सार विभागमा सिक्का टकमरी गर्दा पनि ७.२ प्रतिशत जर्तीको व्यवस्था रहेको उल्लेख छ । यी व्यवस्थाहरूलाई मध्यनजर गर्दा कुनै फर्म वा कम्पनीले जर्ती नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गरगहना विक्री गर्ने भन्नु सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने स्पष्ट रहेको महासङ्घहरूको दाबी छ । 

7258ea1e-9f8e-48e7-a6f7-a6cebd0a2b14

अर्जुन रसाईली, किसान सुनार, प्रचण्ड शाक्यको उक्त विज्ञप्तिपछि रिद्धि सिद्धिका सञ्चालक नरेन्द्र गुप्ताले भने आफ्नो कदम उपभोक्तामैत्री भएको भन्दै निर्णयमा पुनर्विचार नहुने स्पष्ट पारे । उनले अब आफूहरूले जर्तीको शुल्क नलिने भन्दै तयारी गहना ७ प्रतिशत शुल्कमै उपभोक्तालाई दिने घोषणा गरिसकेका छन् । यसअघि १२ प्रतिशत शुल्क भएपनि आफूहरूले ७ प्रतिशतमै ग्राहकलाई सेवा दिनेगरी असार १५ गतेसम्मका लागि अफर ल्याएको उनको भनाइ छ । असार १५ पछि पनि जर्ती बापत भनेर ग्राहकसँग असुल नगर्ने उनको भनाइ छ । 

सुनचाँदी व्यवसायीबिच बढ्दो विवादका बिच उनले अन्य व्यवसायीलाई चुनौती दिँदै यस्तो अफर ल्याएपछि व्यवसायीहरू आरोप प्रत्यारोपमा उत्रिँदै विज्ञप्ति जारी गर्नेसम्मको अवस्थामा पुगेका हुन् । उसो त गुप्ताले कोटाको सुनको सुनमा बेथिति रहेको भन्दै विगतदेखि नै विरोध गर्दै आएका थिए । 

‘अस्वाभाविक तरिकाले सरकारले १५ बाट २० प्रतिशत भन्सार दर पु-याइएको छ । सुनको मूल्य पनि अस्वाभाविक बढेको छ । उपभोक्तालाई असारको महिनामा छुट दिनलाई मैले ७ प्रतिशत ज्यालामा गहना दिने  भनेको छु’, गुप्ताले भने, ‘यो आपत्तिको विषय होइन । समर्थनको विषय हो। तीन वटा महासंघले जुन विरोध गरेको छ, यो विरोधका लागि विरोध मात्रै हो । यहाँ लेटरप्याडको दुरुपयोग भएको छ ।’

उनले पहिला १२ प्रतिशत ज्याला रहेपनि अहिले आफूले ७ प्रतिशतमा ल्याउँदा प्रतिस्पर्धी व्यवसायीले आपत्ति जनाउनुको कुनै अर्थ नहुने उल्लेख गर्दै भने, ‘उपभोक्तालाई छुट नदिनुस् भनेर भन्न पाइँदैन, यसो नगर्न मेरो आग्रह छ ।’

narendra gupta

काम गर्दा अलिअलि सुन हराउने कुरा ठिक भएपनि हराएको सुन बापत जर्ती भनेर ग्राहकसँग लिनु उचित नहुने उल्लेख गर्दै उनले भने, ‘ज्याला भनेर मात्रै लिनुस् भनेर मैले आन्दोलन चलाएको छु। आन्दोलनको विरुद्धमा मेरा प्रतिस्पर्धी लाग्नु भएको छ । मेरो अनुरोध छ, तपाईँहरु ग्राहकको पक्षमा लाग्नुहोस् ।’

उनले आफूले कोटाको आडमा सुनको तस्करी भयो भनेर आवाज उठाउँदा आफू विरुद्ध खनिने काम भएको पनि बताए । ‘हामीले उपभोक्ताको साथ पाएका छौँ । हामीलाई जर्तीको यो निर्णयमा जस्तोसुकै दबाब आए पनि टसमस हुँदैनौँ’, उनले भने। उनले सुनको जर्तीको नाममा सयौँ किलो सुन अपचलन भएको दाबी पनि गरे । यसबारे गम्भीर अनुसन्धान हुनुपर्ने पनि बताए । 

यसैबिच सुनचाँदी व्यवसायीहरुबीचमा जर्तीको विषयमा पछिल्लो समय देखिएको विवादका बिच सुनचाँदी व्यवसाय तथा कालिगढ बचाउ अभियान’ गठन गरिएको छ । बजार व्यवस्थित गर्न  भन्दै काठमाडौँ सुनचाँदी व्यावसायिक संघका अध्यक्ष रोहिणीदेवी शाक्यको संयोजकत्वमा समिति गठन गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप