बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

लुम्बिनीमा १० महिनामा धेरै उपलब्धि भए : उपाध्यक्ष डा. ल्यारक्याल लामा

शनिबार, ०८ असार २०८१, १४ : ४५
शनिबार, ०८ असार २०८१

बुटवल । सिन्धुपाल्चोकको हेलम्बुमा २०२१ सालमा जन्मिएका डा.ल्यारक्याल लामा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएको ११ महिना बित्यो । २०८० साल साउनमा कोषको उपाध्यक्षमा नियुक्त भएपछि डा.लामाले लुम्बिनी क्षेत्रको विकासमा धेरै रणनीतिक महत्वका काम गरेको दाबी गरेका छन् । उनले के के काम गरे त ?  भए गरेका काम, कोषको विकासमा देखिएका समस्या र चुनौती अनि भावी योजनालगायतका विषयमा रातोपाटीकर्मी तेजेन्द्र केसीले डा.लामासँग कुराकानी गरेका छन् ।

कोषमा नियुक्त भएको ११ महिना भयो । यो अवधिमा तपाईले कस्ता कस्ता काम गर्नुभयो ?

लुम्बिनीमा मैले काम गर्न थालेको १० महिना पुगेको छ । यो अवधिमा १० भन्दा बढी महत्त्वपूर्ण काम भएका छन् । म आउँदा लुम्बिनी एक प्रकारले अस्तव्यस्त थियो भन्दा हुन्छ । बुुद्धजन्मस्थल लुम्बिनीभित्रको सडक, विद्यूत, सडकको साइड लाइन, पानी र विभिन्न गेटहरूको अवस्था लथालिङ्ग थियो ।

म आएपछि सरोकारवाला ठेकेदार, योजना प्रमुख, र कन्सल्टेन्सीहरूलाई राखेर बाहिर यति राम्रो लुम्बिनी भित्र किन लथालिङ्ग भयो ?  यो तरिकाको काम गराइले हुँदैन चुस्त र दुरुस्त काम गर्नुपर्छ भनेर निर्देशन दिएँ ।

काम गर्नलाई रकम समस्या भए मैले व्यवस्था गर्ने  प्रतिबद्धता जनाएँ । त्यसपछि अहिले धेरै सुधार भएको पनि छ । लुम्बिनी परिसरभित्र सडक, विद्युत् समस्या समाधान भएको छ । आउँदा कोही ठेकेदार यहाँभित्र दुई वर्ष ६ महिनासम्म पनि काम नगरी सुतेर बसेको अवस्था थियो त्यो समस्या हल  भएको छ ।

कपिलवस्तुमा रहेको तिलौराकोट झाडी थियो । त्यहाँ वर्षौँदेखि रहेका काँडाहरूका कारण मानिस त के जनावर पनि जानसक्ने अवस्था थिएन । त्यो हटाउन नेपाल आर्मीलाई आग्रह गरेँ । उनीहरुसँगै हामी लागेर साढे दुई महिनामा त्यो झाडी सफा भएको छ । झाडी सफा भएपछि तिलौराकोट राम्रो र सुन्दर देखिएको छ ।

lyarkal-lama (1)

लुम्बिनीमा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस ल्याउन हामी सफल भयौँ । उहाँले यहीँ अशोक स्तम्भबाट गौतम बुद्ध शान्तिको सन्देशको  प्रतीक भनेर सन्देश दिनुभयो । जसले गर्दा लुम्बिनीको गौरव संसारभर थप उच्च हुने अवसर प्राप्त भएको छ ।

अर्को मैले काम सुरु गरेपछि ठुला ठुला पूजा भएका छन् । ७ देखि ९ दिनसम्म विभिन्न पूजाआजाका कर्म हुँदा फरक फरक मुलुकका बौद्ध धर्मालम्वीहरुको आगमनमा वृद्धि भएको छ । ती महत्त्वपूर्ण पूजाआजाले लुम्बिनीलाई थप चलायमान गराउने काम गरेको छ ।

लुम्बिनीमा विराट चक्र विज्ञान तथा ध्यानसहितको प्रयोगात्मक शिविरमा ५ हजार मानिसहरू सहभागी भएका छन् । विभिन्न देशका प्रधानमन्त्रीदेखि विभिन्न उच्च ओहोदामा बसेका व्यक्तित्वहरूलाई लुम्बिनीमा ल्याएर ठुलो कार्यक्रम सम्पन्न गरिएको छ । लुम्बिनीमा थप विभिन्न गुम्बाहरू निर्माण भएका छन् ।

मैले निर्माण सुरु गरेका गुम्बाहरू सकभर बर्षौ लम्ब्याउने होइन छिटो निर्माण सम्पन्न गर्नुपर्छ भनेको छु । यदि भनेको समयमा नभए सम्झौता नै खारेज गर्नेसम्मको चेतावनी दिएपछि निर्माणाधीन अवस्थामा रहेका धेरै गुम्बाहरूको निर्माणको काम धमाधम चलिरहेको छ । केही निर्माण सम्पन्न पनि भइसकेका छन् ।

अर्कोतिर लुम्बिनी विकास कोषको प्रशासनमा केही कमजोरी रहेको थियो । म आएपछि बुद्ध जन्मेको ठाउँमा  हामीले जति दिन बस्न सकिन्छ त्यति दिनको लागि राम्रो गरौँ, त्यो हाम्रो जीवनको लागि महत्त्वपूर्ण पुण्य हुन्छ, यदि नगरे त्यो महापाप हुन्छ भन्ने सन्देश दिने काम गरेपछि प्रशासनमा धेरै सुधारका काम भएका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार भएको छ । आन्तरिक आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । गुरुयोजनामा विनियोजित सरकारी बजेटविना करोडौँको काम गर्न सकिएका छन् ।

 

कोषमा तपाई आएपछि अन्तर्राष्ट्रिय उच्च तहका व्यक्तिहरू धेरै आए भन्नुभयो, उनीहरूलाई ल्याउन किन जोड गर्नुभयो र त्यसको नेपाललाई हुने फाइदा के के हुन् ?

मैले काम सुरु गरेपछि विभिन्न देशका उच्च तहका कूटनीतिक व्यक्तिहरूलाई लुम्बिनी ल्याउन धेरै आग्रह गरेको छु । मेरो पनि केही अन्तर्राष्ट्रिय नेटवर्क रहेको छ । चीन, भारत, अमेरिका, श्रीलङ्काका राजदूत, केही मन्त्रीहरू तथा अन्य उच्च तहका व्यक्तिहरू आउँदा लुम्बिनीलाई धेरै पक्षबाट लाभ हुन्छ ।

जस्तै हामीले चीनसँग अन्य बुद्धमार्ग भएका देशमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानका लागि आग्रह गरेका छौँ । त्यो सम्बन्धमार्फत यहाँको भौतिक विकासका लागि पनि कतिपय निकायलाई आग्रह गर्न सकिएको छ, सकिन्छ ।

अर्कोतिर उच्च तहका व्यक्तिहरूले लुम्बिनीको बारेमा सकारात्मक काम गरिदिँदा यहाँ आउने पर्यटक सङ्ख्या स्वाभाविक रूपमा वृद्धि हुन्छ । त्यसअनुसार अहिले वृद्धि पनि भएको छ । हाम्रो ध्यान विश्वभरका बुद्धमार्गीहरुको आस्थाको केन्द्रबिन्दु लुम्बिनीको प्रवर्द्धन र विकास गर्ने हो । त्यसको लागि उच्च तहका व्यक्तिहरूसँग सम्बन्ध वृद्धि पनि एउटा महत्त्वपूर्ण कामै हो ।

लुम्बिनी गुरुयोजना सम्पन्न गर्न किन ढिलाइ भएको हो ?

लुम्बिनी गुरु योजना सुरु भएको ४ दशकभन्दा धेरै समय भएको छ । यो गुरुयोजना म आउँदैमा र तत्काल पूरा हुन सम्भव हुँदैन भन्ने बुझ्न जरुरी छ । यहाँको विकासका लागि बजेट अभाव र केही हदसम्म इच्छाशक्तिको पनि कमी देखिन्छ । राष्ट्रिय गौरवको आयोजनालाई अलपत्रजस्तै भएकाले यो तत्काल पूरा हुने सम्भावना देखिँदैन ।

गुरुयोजना अन्तर्गतका ६ वटा भवन, फोहोर व्यवस्थापन, नदी डाइभर्सन बाहेकका धेरै योजना बहुवर्षीय ठेक्का लागिसकेका काम भइरहेकै छ । मैले स्रोत सुनिश्चितता गरेर मात्र काम गर्न निर्देशन दिएको छु –ताकि भत्काउने तर काम पूरा नगरी लथालिङ्ग छाड्ने नहोस् भनेर ।

बजेट सुनिश्चितताको अभावमा यसअघि अलपत्र परेका योजनाहरू म आएपछि सुचारु हुने चरणमा छन् । यसअघिको नेतृत्वले योजना कार्यान्वयनमा गरेको लापरबाहीलाई सुधार गर्ने काम पनि भइरहेको छ । बजेटको सुनिश्चितता भए गुरुयोजना अनुसार काम काम सकिन्छ, तर माथि बस्नेहरूको चिन्ता यसमा हुनुपर्छ ।

आगामी दिनमा बजेट सुनिश्चितताका लागि हामीले निरन्तर पहल गरिरहेका छौँ । मन्त्रालय धाउने काम पनि भइरहेको छ ।  गुरुयोजना बनेको ४६ वर्षसम्म पनि सम्पन्न हुन नसक्नु संसारभरिका बौद्धमार्गीहरुका लागि लज्जाको विषय छ । यो अवस्था हटाउन मैले ठुलो मेहनत गर्नुपर्ने छ ।

राज्यले बजेट सुनिश्चितता गर्न गरेको विलम्ब र विनियोजित बजेटको कार्यान्वयनमा भएको विलम्बका कारण गुरुयोजना सम्पन्न नभएको सबैलाई थाहा छ । यसअघि बजेट विनियोजन भएर ठेक्का लागेका कतिपय काममा पनि ढिलासुस्तीका कारण अस्तव्यस्त जस्तै थिए तर अहिले कार्यशैली फेरिएको छ । यद्यपि चाहिनेभन्दा निकै कम बजेट विनियोजन भएकाले त्यो समस्या हटाउन चुनौती छ ।

गुरुयोजना कार्यान्वयनमा बजेट मात्र कमी हो वा इच्छा शक्ति या प्रक्रियाको झन्झट पनि ?

एक दर्जनभन्दा धेरै उपाध्यक्ष फेरिँदा गुरुयोजना सम्पन्न गर्न नसक्नु  सबैको लागि लाजमर्दो विषय हो । गुरुयोजना सम्पन्न हुनका लागि चाहिने मुख्य त बजेट हो । अर्कोतिर अर्बौँ बजेट चाहिने लुम्बिनीमा सरकारले बहुवर्षे प्रणालीबाट निकै कम रकम छुट्ट्याइने गरेको छ । यो समस्यासँगै हाम्रो इच्छा शक्तिको पनि कमी छ । अब हामीले स्रोत खोजी गरेर गुरुयोजना समयमा नै सम्पन्न गर्नुपर्छ ।

म आउने बेला गुरुयोजना अन्तर्गतका ठेक्का लागेका योजनाहरूको काम १०–१२ प्रतिशत मात्रै काम भएको थियो । जसमा ठेकेदारका कर्मचारी, इन्जिनियर र सरकारी कर्मचारीलाई हारगुहार गरेर ८० देखि ९० प्रतिशत सम्पन्न गराउन सकेको छु । ती काम सक्नासाथ नयाँ ठेक्काका प्रक्रिया अगाडि बढाउँछौँ ।

lyarkal-lama (3)

७,८ अर्बको बजेटमा ३ देखि ४ वर्षमा गुरुयोजना अन्तर्गतका सबै काम सक्नेगरी योजना बनाइएको छ । फोहोर व्यवस्थापन र नदी डाइभर्सनको काम ठेक्का प्रक्रियामा गइसकेको छ । पूर्ववत् बनेका तर गुरुयोजनाको मापदण्ड नपुगेका ५ वटा भवन र अन्य केही योजनाका कामहरु गर्न बाँकी छ । 

गुरुयोजना क्षेत्रभित्र शुद्ध पानी वितरणको निम्ति ११ लाख लिटर क्षमताको भूमिगत तथा तीन लाख लिटर क्षमताको दुई वटा विशेष डिजाइनका पानी ट्याङ्की र करिब २५ किलोमिटर क्षेत्रमा जीआई पाइपसहितको पानी वितरण प्रणाली सम्पन्न भएको छ । ३५० किलोवाट क्षमताको सोलार पावर प्लान्ट जडान भएको छ । यस्तै पाँच हजार जना अटाउने अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलन तथा ध्यान केन्द्र पनि सञ्चालनमा आएको छ ।

लुम्बिनीको विकाससँगै  गुरु योजनामा देवदह, तिलौराकोट र रामग्राम नसमेटिएको गुनासो आउँछ नि किन ?

भगवान् गौतम बुद्धको जन्मस्थल यहाँ भए पनि शाक्यहरूको दरबार  तिलौराकोट, गौतम बुद्धको मावली रुपन्देहीको देवदह, भगवान् गौतम बुद्धको अस्तु रहेको नवलपरासीको रामग्राम क्षेत्रको विकास गर्नुपर्छ अन्यथा अधुरो हुन्छ ।

त्यही आधारमा बृहत्तर लुम्बिनीको योजना अगाडि सारिएको हो । देवदह उत्खनन् भइरहेको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल भएको छ । रामग्राममा केही महिना अघिमात्र बृहत् कार्यक्रम गरिएको छ जसले विश्वका धेरै ठाउँमा रामग्रामबारे प्रचार भएको छ ।

हिजो के भयो त्यो समीक्षाको विषय होला, अहिले त्यसमा कुनै समस्या छैन । हामीले लुम्बिनी गुरु योजनासँगै कपिलवस्तु र नवलपरासीको विकासका लागि योजना बनाएका छौँ । तर धेरै काम गर्न बाँकी छ ।

अब यहाँको गुरुयोजना सक्ने मात्रै होइन, ती दुई जिल्लाको योजना समेत समेटेर बृहत्तर लुम्बिनी गुरु योजनालाई अघि बढाउनुपर्छ भनेर योजनामा पनि समेटिएको छ । त्यसका लागि म प्रतिबद्ध पनि छु ।

लुम्बिनीको समग्र विकास गर्न के के चुनौती देख्नुभएको छ ?

काम गर्न सहज वातावरण बन्दै छ । स्थानीयको मन विकास कोषले जित्नुपर्छ । स्थानीय, प्रदेश सरकार सहभागी भएरै लुम्बिनीको विकास गर्न सकिन्छ ।

लुम्बिनी स्थानीयकै हो त्यस कारण कार्यक्रम गर्दा स्थानीयको पनि सहभागिता गराउने काम भएको छ । तर कहिले कहिले महत्त्वपूर्ण काम गर्दा पनि रोक्न खोजिन्छ, भाँजो हाल्न खोजिन्छ । किन यसो गरिन्छ ? यो मैले बुझ्न सकेको छैन,तर जति दिन यहाँ बस्छु जति सक्छु लुम्बिनी बनाउन मेहनत गर्छु । मलाई अरू कुनै चाहना छैन ।

लुम्बिनी र पुरातत्त्व विभागबिच बेलाबेला असन्तुष्टि देखिएको छ । हामीले गरेका कामहरूमा पुरातत्त्व विभागले पत्र लेख्ने गरेको छ । जस्तै मायादेवी मन्दिरमा ध्यान बस्दा काठको काठ राख्ने र अशोक स्तम्भ छेवैमा दियो बाल्ने स्थान बनाउँदा समस्या आयो ।

त्यो काम गर्दा हामीले कतै खनेको पनि छैन । ध्यानमा बस्नलाई काठका फल्याक राख्ने कामले झन् राम्रो देखिन्छ । आनन्द आउँछ । कतिपय अवस्थामा लुम्बिनीको विकास गर्दा सबै पुरातत्त्वविद् र गुरु योजनाले सोचेजस्तै नहुँदो पनि रहेछ ।

गुरु योजना विपरीत कामहरू भए भनेर किन आलोचना भइरहन्छ ?   

विगतमा गुरु योजना विपरीत केही काम भएका छन् । केही  गुम्बाहरू पनि बनेका छन् । केही भौतिक संरचना निर्माण भए पनि सबै काम गुरु योजना विपरीत भएको भन्ने होइन । हामीले विगतमा जे भए पनि अब गुरु योजना भन्दा बाहिर गएर काम गर्दैनौँ । गर्न पनि दिँदैनौँ । 

त्यसमा म आफै प्रतिबद्ध छु । तर केही गर्न थाल्यो कि गुरु योजना विपरीत भनेर प्रचार गर्ने, भाँजो हाल्ने काम हुने रहेछ । लुम्बिनीको विकास गर्नै म आएको हुँ । मैले यहाँको गुरु योजना विपरीत काम गरेर बदनाम हुने होइन । अरूको पालामा भएका सबै कामको जिम्मा लिने विषय भएन, तर हामी गलत गर्दैनौँ

भावी योजना के के छन् ?

म बौद्ध समुदायको मान्छे । गौतम बुद्धको जन्मस्थल लुम्बिनी बनाउने मेरो जिम्मेवारी हुँदै गर्दा मैले धेरै काम गर्नुपर्ने हुन्छ । सबै भन्दा ठुलो काम स्थानीयहरूलाई आफ्नो महसुस गराउने काम मेरो कार्यकालमा हुन्छ । तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पनि मैले विभिन्न पहलकदमी गरिरहेको छु ।

प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विभिन्न दस्ताबेज युनेस्को र विश्व सम्पदा केन्द्रमा पेस भएका छन् ।  त्यसले अब अन्तिम चरण पार गर्ने छ । मेरो पहलमा लुम्बिनीमा बर्थिङ्ग सेन्टरको नीति तथा कार्यक्रममा घोषणा भएको छ । यो कार्यक्रम लागु गर्दा विश्वका धेरै बुद्धिस्टहरूलाई यहाँ आएर बच्चा जन्माउन आकर्षण गर्न सकिन्छ । किनकि बुद्ध जन्मेको ठाउँमा मेरो बच्चा जन्मियोस् भन्ने इच्छा धेरै बुद्धिस्टहरूको हुन्छ । त्यस आधारमा मैले सरकारसँग बर्थिङ्ग सेन्टरको लविङ्ग गरेको हो । 

मेरो योजना ‘सिद्धार्थ टु जनकपुर’ कार्यक्रम घोषणा होस् भन्ने छ ।  जसमा गौतम बुद्ध जन्मेको ठाउँबाट जनकपुरधाममा राम र सीताको विवाह भएको ठाउँसम्म पैदल यात्राको लागि सरकारले विशेष संरचना तयार पार्ने छ । यहाँबाट हिँडेर मानिसहरू जनकपुर जाने या उताबाट यता आउने गर्दछन् । यात्राका क्रममा नेपाली खाना, नेपाली बासको व्यवस्था गरेर थप पर्यटक भित्र्याउन सकिन्छ ।

सोहीअनुसारका योजना ल्याउन सरकारसँग मेरो पहल रहनेछ । लुम्बिनी गुरु योजना पूरा गर्ने मेरो प्रतिबद्धता नै भयो । अर्को दसैँ र तिहारको बिचमा अन्तर्राष्ट्रिय बौद्ध शिखर सम्मेलन गर्ने योजना पनि बनाएको छु । 

मैले विश्व शान्तिको केन्द्र रहेको लुम्बिनीलाई बनाउनै पर्छ, जति सकिन्छ गर्नुपर्छ भन्ने अठोट लिएरै लुम्बिनी रोजेको हुँ । त्यसमा सरकारले बजेट दिएर साथ दिनुपर्छ भने स्थानीय, मिडिया र अन्तर्राष्ट्रिय जगत् सबैको साथ अनिवार्य चाहिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप