बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बेनीमा मौसम मापन केन्द्र स्थापना

सोमबार, १० असार २०८१, १४ : १९
सोमबार, १० असार २०८१

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा मौसम मापन केन्द्र स्थापना भएको छ । बेनी नगरपालिकासँगको समन्वयमा जल तथा मौसम विज्ञान कार्यालय पोखराले जलवायु परिवर्तन  र मौसमका सूचना समयमा सहजै प्राप्त गर्न सकिने केन्द्र स्थापना गरेको हो । 

केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट बेनी आसपासका  तापक्रम, वर्षा, हावाको गतिसम्बन्धी सूचना तत्कालै उपलब्ध हुनुका साथै तथ्याङ्क भण्डारण गरिने जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख सुजन सुवेदीले जानकारी दिए । 

“केन्द्रमा जडान गरिएको स्वचालित उपकरणबाट प्राप्त हुने मौसमसम्बन्धी जानकारी केन्द्रीय सर्भरमा निरन्तर अपडेट र भण्डारण हुन्छ,” उनले भने– “सर्भरसँग कनेक्सन गरिएको वेबसाइटमार्फत विवरण सार्वजनिक हुने व्यवस्था मिलाइएको छ ।” 

विपद् व्यवस्थापनको पूर्वतयारी र क्षति न्यूनीकरणका साथै भण्डारण भएको तथ्याङ्क र अभिलेख अध्ययन–अनुसन्धानका लागि उपयोगी हुने कार्यालय प्रमुख सुवेदीले जानकारी दिए । बेनीमा रहेको मौसम मापन केन्द्र विसं २०६० चैत ७ गते बेनी भिडन्तका क्रममा क्षति पुगेपछि बन्द भएको थियो । बेनी नगरपालिकाले मौसम मापन केन्द्र स्थापना गर्न कार्यालय परिसरमा जग्गा उपलब्ध गराएको छ । 

जिल्ला सदरमुकाममा मौसमसम्बन्धी जानकारीको अभाव भएको गुनासो बढेपछि मौसम मापन केन्द्र पुनःस्थापनाका लागि पहल गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताए । तापक्रम, वायु र वर्षाबारे जानकारी लिने संयन्त्र जडान भएपछि विपद्को क्षति न्यूनीकरण र व्यवस्थापनका लागि पूर्वतयारी गर्न सहज हुने उनको भनाइ छ । 

बेनीसहित गण्डकी प्रदेशमा २६ वटा मौसम मापन केन्द्र रहेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्राविधिक प्रकाश गुरुङले जानकार दिए । २६ मध्ये १२ वटा मौसम मापन केन्द्रमा स्वचालित उपकरण जडान भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप