बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

विभिन्न १० देशका २०० भन्दा बढी युवाहरू काठमाडौँमा भेला

सोमबार, १० असार २०८१, २० : ५४
सोमबार, १० असार २०८१

काठमाडौँ । एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्स  २०२४ को नवौँ संस्करण काठमाडौँमा सुरु भएको छ । विभिन्न १० देशका २०० भन्दा बढी युवाहरू सहभागी सम्मेलन सोमबारदेखि सुरु भएको हो ।

युथ थिंकरर्स सोसाईटीद्वारा नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा पाँच दिने सम्मेलनको आयोजना गरेको हो । सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, म्यानमार, जापान, सुडान, कजाकिस्तान र किर्गिस्तान जस्ता देशका २०० भन्दा बढी युवा नेताहरूको सहभागिता रहेको छ ।

युवाहरूलाई मानवीय सुरक्षा संकट र साइबर खतराहरू, राजनीतिक क्षेत्रमा महिलाको सहभागिता, डिजिटल गलत सूचना, कृषि जैविक विविधता संरक्षण, दिगो ऊर्जा र पानी व्यवस्थापन जस्ता विश्वव्यापी समस्याहरूको सामना र समाधान गर्न सशक्त बनाउने उद्देश्य राखिएको छ । 

बौद्धिक गरिबी मुख्य समस्या रहेको र यस किसिमका कार्यक्रमहरू मार्फत युवामा लगानी गर्नु अति आवश्यक रहेको युवा चिन्तक समाजका सह–संस्थापक चेवन राईले बताए ।

नेशन्स दक्षिण र मध्य एशियाली क्षेत्रको सबैभन्दा प्रतिष्ठित मोडेल युएन  सम्मेलनहरूमध्ये एक मानिन्छ । यो सम्मेलनले विभिन्न सांस्कृतिक पृष्ठभूमिका युवाहरूलाई गहन बहस र वार्तामा संलग्न गराएर उनीहरूको कूटनीतिक क्षमतालाई सुदृढ बनाउने अवसर प्रदान गर्दछ ।

सोमबार काठमाडौँमा आयोजित उद्घाटन समारोहमा परराष्ट्र मन्त्रालयका प्रवक्ता सह–सचिव अमृत बहादुर राई, नेपालका लागि अमेरिकी राजदूत डिन आर. थोम्पसन, र संयुक्त राष्ट्र महिला नेपालको लागि प्रतिनिधि पेट्रीसिया फर्नान्डेज–पाचेको लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहका वक्ताहरूले विश्व मामिलामा युवाहरूको संलग्नताको महत्वलाई जोड दिएका थिए । नेशन्सले सांस्कृतिक समझदारीलाई प्रोत्साहन गरी र कूटनीतिक सीपहरूलाई प्रखर बनाई सहभागीहरूलाई भविष्यमा राम्रो र दिगो समाज निर्माण गर्न आवश्यक उपकरणहरू प्रदान गर्न लक्ष्य लिएको राईले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप