बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

भीमफदीले ल्यायो ७४ करोड ३६ लाखको बजेट

सोमबार, १० असार २०८१, २१ : ०७
सोमबार, १० असार २०८१

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ७४ करोड ३६ लाख ७३ रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको सोमबार सम्पन्न गाउँसभामा उपाध्यक्ष संञ्जिव श्रेष्ठले आगामी आर्थिक वर्षका लागि ७४ करोड ३६ लाख ७३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

भीमफेदीले आगामी आर्थिक वर्षका लागि करिब १ करोड रुपैयाँ घटाएर बजेट प्रस्तुत गरेको छ । भीमफेदीले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा ९० लाख रुपैयाँ बजेट घटाएको छ । भीमफेदीलाई प्राप्त हुने संघ र प्रदेश सरकारको अनुदान रकम घटेर आएकाले बजेट समेत खुम्चिएको उपाध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार भीमफदीले चालु आर्थिक वर्षका लागि ७५ करोड २६ लाख ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये हाल ५७.४८ प्रतिशत खर्च प्रगति प्राप्त भएको उनले बताए । भीमफेदीले चालु आर्थिक वर्षमा पूर्वाधारतर्फ कुल विनियोजनको ५०.४३ प्रतिशत, आर्थिक विकासतर्फ २८.७९ प्रतिशत, सामाजिक विकासतर्फ ६८.०१ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धीततर्फ ४८.०१ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनतर्फ ७१.२३ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षको अन्त्यमा कुल विनियोजनको ७६.१५ प्रतिशत बजेट खर्च हुने अनुमान रहेको छ ।

उनका अनुसार भीमफेदीले आगामी आर्थिक वर्षका लागि कुल बजेटको चालुतर्फ ४४ करोड ६२ लाख ४ हजार रुपैयाँ र पुँजीगततर्फ २९ करोड ७४ लाख ६९ हजार रुपैयाँ बजेट प्रस्ताव गरेको छ । भीमफेदीले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट २० करोड १० लाख रुपैयाँ वित्तीय अनुदान प्राप्त गरेको छ । जसमा समानीकरण अनुदान ९ करोड ९२ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ७ करोड ८१ लाख २४ हजार रुपैयाँ, रोयल्टी बापत २ करोड ३६ लाख ७५ हजार रुपैयाँ प्राप्त हुने जनाइएको छ ।

संघीय सरकारबाट सशर्त, समपूरक र विशेष अनुदान बापत २९ करोड १३ लाख रुपैयाँ प्राप्त भएको छ । जसमा सशर्त अनुदान २६ करोड ७३ लाख रुपैयाँ, विशेष अनुदान १ करोड रुपैयाँ र समपूरक अनुदान १ करोड ४० लाख रुपैयाँ प्राप्त भएको छ ।

त्यस्तै भीमफेदीलाई बागमती प्रदेश सरकारबाट ४ करोड ४८ लाख ६३ हजार रुपैयाँ वित्तीय अनुदान हस्तान्तरण प्राप्त भएको छ । जसमा समानीकण अनुदानतर्फ ९५ करोड ७२ लाख रुपैयाँ र राजस्व बाँडफाँडबाट ३ करोड ५२ लाख ९१ हजार रुपैयाँ रहेको छ । प्रदेश सरकारबाट सशर्त, समपूरक र विशेष अनुदान बापत ५ करोड ८ लाख ६५ हजार रुपैयाँ प्राप्त भएको छ । जसमध्ये सशर्त अनुदान २ करोड ४३ लाख ६५ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड रुपैयाँ, विशेष अनुदान ६५ लाख रुपैयाँ प्राप्त भएको छ ।

आन्तरिक स्रोततर्फ भीमफेदीले ४ करोड ५६ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ । जसमध्ये आन्तरिक स्रोतबाट १ करोड ३६ लाख रुपैयाँ, दहत्तर बहत्तर शुल्क बापत ३ करोड रुपैयाँ, घरजग्गा रजिस्ट्रेसन बापत २० लाख रुपैयाँ, प्राप्त हुने अनुमान रहेको छ ।

गाउँपालिकाले सानुटार किसेडी सडक निर्माणका लागि २ करोड रुपैयाँ, कोगटे महाभिर धार्के स्वाँरा सडक निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । रानीखोला रानीभञ्ज्याङ कृषि सडक निर्माणका लागि २ करोड ८० लाख रुपैयाँ, चिसापानी गढी निर्माण निरन्तरताका लागि २५ लाख रुपैयाँ, लटरमेश्वर महादेव मन्दीर क्षेत्र विकासका लागि २५ लाख रुपैयाँ, वडा कार्यालय भवन निर्माणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ ।  

८ कक्षासम्मका‌ विद्यार्थीलाई खाजा

भीमफेदी गाउँपालिकाले विद्यालयमा खाजा कार्यक्रमलाई विस्तार गर्ने भएको छ । संघीय सरकारले ५ कक्षासम्म सञ्चालक गरेको खाजा कार्यक्रमलाई पालिकाले विस्तार गरेर ८ कक्षासम्म प¥याउने भीमफेदीको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

भीमफेदी गाउँपालिकाले ८ नम्बर वडास्थित पञ्चकन्या माध्यमिक विद्यालयमा व्यवस्थित र सुविधासम्पन्न छात्रावास निर्माण गरिएको जनाएको छ । रैथाने बाली उत्पादन बढाउन कोदो र फापरमा नगद अनुदान वितरण गर्ने, न्यूनतम समर्थन मूल्य तोक्ने नीति कार्यक्रम रहेको छ ।

यस्तै अनौपचारिक क्षेत्रका १०० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराउने भमिफेदीको कार्यक्रम रहेको छ । भीमफेदीले चालु आर्थिक वर्षमा पनि १०० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप