बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय

सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर

बिहीबार, १८ वैशाख २०८२, १० : ४१
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आबद्ध साउदी अरेबियन क्लब अल–नासर एएफसी च्याम्पियन्स लिगको उपाधि होडबाट बाहिरिएको छ । सेमिफाइनलमा रोनाल्डोको टोली अल–नासरलाई जापानी क्लब कावासाकी फ्रन्टेलले स्तब्ध पारेको हो । 

जापानी क्लबले बुधबार राति खेलिएको सेमिफाइनल खेलमा अल–नासरलाई ३–२ गोलले पराजित गरेको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरे पनि अल–नासरले पराजयलाई टार्न सकेन । खेलको अन्त्यतिर अल–नासरले खेल बराबरीमा ल्याउने तीनवटा गतिलो अवसर खेर फालेको थियो । 

खेलमा सुरुवात अग्रता कावासाकी फ्रन्टेलले लिएको थियो । जापानी क्लबका लागि पहिलो गोल निर्धारित समयको १०औँ मिनेटमा तात्सुयाले गरेका थिए । तर, कावासाकीको त्यो अग्रता लामो समय टिक्न सकेन । निर्धारित समयको २८औँ मिनेटमा अल–नासरका लागि साडियो मानेले जवाफी गोल गरेका थिए ।

उनी लिरभपुलका पूर्वखेलाडी हुन् । त्यसपछि खेलको ४१औँ मिनेटमा कावासाकीका लागि युतो ओजेकीले दोस्रो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा कावासाकी २–१ गोलले अगाडि रह्यो । 

यसैगरी, निर्धारित समयको ७६औँ मिनेटमा कावासाकीका लागि अकिहिरो लेनागाले तेस्रो गोल थपेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा तीन मिनेटअघि अल–नासरका लागि आयमन याहाले दोस्रो गोल फर्काएका थिए ।

तर, त्यसपछि गोल फर्काउन नसकेपछि अल–नासर उपाधि होडबाट बाहिरिन बाध्य भयो । दोस्रो हाफमा रेफ्रीले अतिरिक्त रुपमा ६ मिनेट समय थप गरेका थिए । सोही अवधिमा रोनाल्डोको तीनवटा सशक्त प्रहार गोल हुनबाट चुकेको थियो । 

इन्जुरी समयमा रोनाल्डोले प्रहार गरेको फ्रि–किकलाई विपक्षी टोलीका गोलरक्षकले जोगाएका थिए । त्यसपछि डी–बक्स नजिकैबाट रोनाल्डोले गरेको अर्को शक्तिशाली प्रहारलाई पनि गोलरक्षक लुइस यागागुचीले विफल पारेका थिए । इन्जुरी समयको खेल सकिनुभन्दा ठिकअघि रोनाल्डोले अर्को अवसर गुमाएका थिए । तर, डी–बक्सिभित्र पाएको बललाई पनि उनले सदूपयोग गर्न सकेनन् । 

फाइनलमा कावासाकी फ्रन्टेलले साउदी क्लब अल–हिलालसँग उपाधिका लागि भिडन्त गर्नेछ । अल–हिलाल भने सेमिफाइनलमा अल–आहलीलाई ३–१ गोलले हराउँदै फाइनलमा पुगेको हो । फाइनल खेल मे ३ तारिखमा खेलिनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप