आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय
प्रथम नेपाली महिला

चुनावमा लड्ने र जित्ने प्रथम नेपाली महिला

मनमोहनसँग प्रेम विवाह गरिन्, बाचा पूरा गर्न नसक्दा पद त्यागिन्
शनिबार, २० वैशाख २०८२

परिचय

  • नाम : साधनादेवी प्रधान
  • जन्ममिति : वि.सं. १९८२ श्रावण कृष्ण पञ्चमी
  • जन्मस्थान : त्यौड, असन, काठमाडौँ 
  • निधन : वि.सं. २०६२ वैशाख ११ पूर्णिमा
  • माता : रम्भा प्रधान
  • पिता : शंकरलाल प्रधान
  • शिक्षा : स्नातक
  • पदक/विभूषण : विभिन्न सम्मान
  • विदेशभ्रमण : नेपाल, भारत आदि

नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठूलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्‍याउँदै आएको देन अविस्मरणीय छ । ‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरुप्रति सर्मपित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् ।

यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अडचन, उत्पीडन, अन्योल, बेथिती र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरु माझ पस्कदै आएका छौँ । ‘प्रथम नेपाली महिला’ शृङ्खलाको १९ औं एपिसोड साधनादेवी प्रधानका सम्बन्धमा छ । नेपालमा पहिलोपल्ट चुनाव लड्ने र जित्ने महिलाको नाम हो— साधनादेवी । नेपालमा अग्रणी महिला सम्पादक हुने श्रेय पनि साधनादेवीलाई प्राप्त छ ।

२०१० साल भदौ १७ गते भएको काठमाडौं नगर पञ्चायतको चुनावमा साधनादेवी अधिकारी उमेदवार भएकी थिइन् । उनी काठमाडौं नगर पञ्चायतको ८ नं. वडाबाट सदस्यका लागि उम्मेदवार भइन् । 

काठमाडौं नगर पञ्चायतका लागि भएको यस चुनावमा कुल ७३ जना उम्मेदवार थिए । यसमा साधनादेवी अधिकारी एक मात्र महिला उम्मेदवार थिइन् ।

त्यतिखेर काठमाडौंमा कुल ५६ हजार मतदाता थिए । वडा नं. ८ मा खसेका कुल चार हजार ११३ मतमध्ये साधनादेवीले दुई हजार ४५५ मत प्राप्त गरी विजय हासिल गरेको उल्लेख पाइन्छ ।

काठमाडौं नगरमा यो पहिलो पटक भएको चुनाव चाहिं होइन । यसअघि ‘नेपालको वैधानिक कानुन २००४’ बमोजिम २००४ जेठ २९ गते ‘काठमाडौं म्युनिसिपालिटी’ को निर्वाचन भएको थियो । 

पहिलो पटक भएको यस चुनावमा महिलाले उम्मेदवार हुन त परै जाओस्, भोट हाल्ने अधिकार समेत पाएका थिएनन् । पुरुषसरह महिलाले पनि भोट हाल्ने अधिकार पाउनुपर्ने माग त्यतिखेर नगुञ्जाइएको होइन ।

श्री ३ पद्मशमशेरकहाँ गई महिलाटोलीले माग राख्दा यस पटक भ्याइँदैन, अर्को चुनावमा विचार गरिने आश्वासन दिइएको थियो । यस टोलीमा साधनादेवी अधिकारीको पनि सक्रिय सहभागिता थियो । 

२००७ सालमा राणाशासनको अन्त्य भई प्रजातन्त्र उदय भएपछि मुलुकमा फरक परिवेश भयो । २०१० को ‘काठमाडौं नगरपालिकाको चुनाव’ मा महिलाले भोट हाल्न मात्र होइन, उम्मेदवार समेत बन्न पाए । 

साधनादेवी अधिकारीले निर्वाचनमा लाग्नुको पृष्ठभूमि दर्शाए अनुसार उनी २००८ सालदेखि ‘कन्या स्कुल’ मा पढाइरहेकी थिइन् । पार्टीबाट चुनाव लड्न उनको नाम प्रस्तावित भएको थाहा पाइन् । 

र, काठमाडौं नगर पञ्चायतको आठ नं. वडाबाट सदस्यका लागि चुनावमा उठिन् । चुनाव लड्नेमा उनी एउटी मात्रै महिला थिइन् र विजयी पनि भइन् । 

वडा सदस्यका रूपमा उनले धेरै वर्ष चाहिं काम गरिनन् । जनतासँग गरिएका बाचा पूरा गर्न नसक्दा उनी खिन्न बनेकी थिइन् ।

चुनावताका ‘स्कुल खोल्छु, याँ गर्छु, त्याँ गर्छु’ भनेर जनतालार्ई वचन दिएकी थिइन् । ‘सरकारले कुनै आर्थिक सहयोग नगरेका कारण काम गर्न सक्ने स्थिति भएन । त्यसैले पदमा बस्नुभन्दा नबस्नु ठीक ठानें ’ उनको भनाइ छ । 

साधनादेवी अधिकारी प्रथम नेपाली महिला सम्पादक पनि हुन् । यो श्रेय कुमारी कामाक्षादेवीलाई पनि प्राप्त छ ।

२०६० सालमा प्रेस दिवसको अवसर पारी राष्ट्रिय महिला आयोगमा साधनादेवी अधिकारीलाई पहिलो महिला सम्पादकका रूपमा सम्मान गरिएको स्मरणीय छ । पत्रिका सम्पादनका सम्बन्धमा साधनादेवी अधिकारीले जनाए अनुसार एउटा ‘महिला पत्रिका’ आवश्यक रहेको अनुभूति २००५ सालतिरै भएको हो । 

तीन वर्षपछि मात्र यसले मूर्तरूप लियो । ‘अखिल नेपाल महिला सङ्घ’ ले निकालेको मासिक ‘महिला’ पत्रिकामा उनले सम्पादकका रूपमा काम गरेकी हुन् । 

यो पत्रिका धेरै वर्ष चल्न सकेन । वि.सं. २००८ सालमा उनले कुमारी कामाक्षादेवीसित मिलेर ‘महिला’ (मासिक) पत्रिका सम्पादन गरेकी हुन् । 

त्यतिखेर अरू कुनै पत्रपत्रिकामा महिला सम्पादक थिएनन् । दुवैलाई प्रथम नेपाली महिला पत्रकार समेत भनिएको पाइन्छ । 

वडा सदस्यको पदबाट राजीनामा दिएपछि उनी निरन्तर पार्टीको काममा संलग्न भइन् । कुमारी कामाक्षादेवी ‘अखिल नेपाल महिला सङ्घ’ को अध्यक्ष बनेकी थिइन् । 

साधनादेवी पनि सङ्घमा सक्रिय भएर लागिपरिन् । साधनादेवीको वि.सं. २०११ असार महिनामा मनमोहन अधिकारीसँग विवाह भयो । 

भारतीय स्वतन्त्रता सङ्ग्राममा समेत साथ दिएका मनमोहन नेपालमा जहानिया राणाशासनलाई जरै समेत उखेलेर फ्याँक्न चाहन्थे । ‘नेपाल कम्युनिस्ट पार्टी’ का संस्थापक सदस्य रहेका मनमोहनले राणाशासनविरुद्ध विभिन्न आन्दोलनको अगुवाइ गर्दा साधनादेवी पनि सरिक भएकी थिइन् । 

नेपाल कम्युनिस्ट पार्टीका काम, कारवाहीसित असन्तुष्ट भएपछि मनमोहनले आफ्नै अध्यक्षतामा छुट्टै अर्को पार्टी खडा गरे । ‘नेकपा माक्र्सवादी’ का अध्यक्ष मनमोहन २०४७ सालमा ‘नेकपा माले’ सित आफ्नो पार्टी एक भएर ‘नेकपा एमाले’ बनेपछि त्यसको अध्यक्ष हुनपुगे । 

२०५१ सालको मध्यावधि चुनावमा कुनै राजनीतिक दलको प्रष्ट बहुमत आएन । अन्य दलको सहयोगमा उनकै प्रधानमन्त्रित्वमा सरकार बनेको थियो । 

मनमोहन अधिकारीको सरकार नौ महिना मात्रै टिकेको भए तापनि उनको कार्यकाल कोशेढुङ्गा मानिएको छ । ‘आफ्नो गाउँ, आफै बनाऔँ’ तथा ‘सामाजिक सुरक्षा भत्ता’ जस्ता नवीन कार्यले उनलाई कीर्तिमानी बनायो । 

२०५६ वैशाख १३ गते यस संसारबाट बिदा भएका मनमोहन अधिकारी चोखा, लोकप्रिय नेताका रूपमा सम्मानित छन् । २००७ सालमा नेपाल कम्युनिस्ट पार्टीको कार्यालय कोलकाताबाट काठमाडौं सारियो । मनमोहनका बारेमा निकै सुनेकी र देखेकी थिइन् साधनादेवीले ।

मनमोहनसित पार्टीको सम्मेलनका बखत २००५ सालतिर उनको भेट भएको हो । २००६ सालमा किसान सङ्घको सम्मेलनका बेलामा भेट भई केही राजनीतिक प्रश्न पनि उनले गरेकी थिइन् । निरन्तर सम्पर्क र घनिष्ठता बढ्दै जाँदा दुईबीच २०११ साल असार महिनामा वैवाहिक सम्बन्ध गाँसिन पुग्यो । 

उनको ‘प्रेम प्रसङ्ग’ झैं विवाहको सन्दर्भ पनि उल्लेखनीय छ । म्हैपी मन्दिरमा अपरम्परागत ढङ्गबाट विवाह गरिएको थियो । 

साधना–मनमोहन बीचको पे्रम तथा विवाहका पक्षमा श्यामप्रसाद शर्मा, अरविन्द रिमाल आदिले उल्लेख गरेका छन् । पारिवारिक सहमति नभएकाले विवाहपछिको समय अप्ठेरो र चुनौतीपूर्ण हुनु स्वाभाविक भए तापनि साधनाको जीवनसाधनामा कुनै कमी नरहेकाले सबै जना आफ्ना बन्दै गए ।

विवाहपछि उनले आफ्ना पतिसँग विराटनगर जानुपर्‍यो, घरमा बस्नुपर्‍यो । संयुक्त परिवार थियो । 

सासू, ससुरा सबै थिए । त्यहाँ बसेर उनले एउटी आम बुहारीले निर्वाह गर्ने कर्तव्य पूरा गरिन् । 

सन्तान भए ।छोरा प्रकाश अधिकारी र छोरी प्रीति अधिकारी हुन् ।

तिनलाई पढाउने, लेखाउने आर्थिक भार पनि उनीमाथि आइपर्‍यो किनभने त्यसबेला, मनमोहन अधिकारी भूमिगत राजनीतिमा थिए । ‘कम्युनिस्ट’ भनिएकाले केही अप्ठेरो त थियो नै । 

विराटनगरमा स्कुलमा समेत काम पाउन गाह्रो भयो । ‘आदर्श बालिका विद्यालय’ मा महिला नै शिक्षक हुनुपर्ने माग भइरहेको थियो ।

त्यतिखेर अरू कोही पनि ‘ग्रेजुयट’ महिला नभएकाले बाध्य भएर साधनादेवीलाई त्यहाँ राखियो । उनले त्यहाँ ३० वर्ष पढाइन् । 

‘रिटायर्ड’ भएपछि मात्रै काठमाडौं आएकी साधनादेवीले झन्डै २० वर्षअघि भनेकी थिइन्– ‘स्कुलको पेन्सन पाइरहेकी छु ।’ स्वर्गीय मनमोहन अधिकारीका सम्बन्धमा उनले भनेकी छिन् — ‘मनमोहनको व्यक्तित्व सधैँ एकनासको रह्यो । 

सत्तामा छँदा पनि कसैलाई केही बोल्ने ठाउँ थिएन, सत्ताबाहिर बस्दा पनि त्यस्तो कुनै कुरो भएन । शानशौकत, रवाफ केही थिएन । साधारण, सौम्य, जोसँग पनि भेट्ने, गजबको स्वभाव थियो ।

मनमोहन अधिकारीको निधन भएपछि उनले सक्रिय रूपमा राजनीतिमा लाग्न चाहेकी थिइन् । चुनावमा उम्मेदवार पनि हुन खोजिन् तर उनलाई पार्टी (नेकपा एमाले) ले उठ्न नदिएको गुनासो गर्दै 

के कारणले हो, बुझ्न नसकेको र पछि आएर राजनीतिक रूपमा  निष्क्रिय रहेको उनले जनाएकी थिइन् । मनमोहनले जुन त्याग गरेर गए, त्यसको जुन सम्मान जनताबाट भयो, त्यसप्रति आफू ज्यादै गौरवान्वित भएको अनुभव साधनादेवीले व्यक्त गरेकी थिइन् ।

पछिल्लो राजनीतिक वातावरणबारे उनको भनाइ थियो— ‘पहिले जस्तो त्याग, तपस्या छैन । पद र सत्ताका लागि तँछाडमछाड छ । यो हरेक पार्टीको रोग हो ।’

सरल, सहज र शान्त स्वभावकी प्रतिमूर्ति साधनादेवी यसो त विद्यार्थी जीवनकालदेखि नै राजनीतिक क्षेत्रमा देखापरेकी हुन् । तर उनको जीवनको अधिकांश भाग शिक्षा सेवामै बित्यो । 

महिलाले पनि पढ्न पाउनुपर्छ भन्नेमा उनी अग्रणी महिला थिइन् । उनले महिला शिक्षाको विकासका निम्ति अनेक सङ्घर्ष र मिहिनेत गर्नुपर्‍यो । 

महिलामा शैक्षिक जागरण ल्याउन विराटनगरमा ३० वर्ष स्थायी शिक्षिकाका रूपमा उनले पुर्‍याएको योगदान अविस्मरणीय छ । राजनीति गर्न शिक्षण पेशा अङ्गाल्ने अथवा शिक्षण पेशा अङ्गालेर राजनीति गर्नेहरू प्रशस्त छन् । 

तर साधनादेवीको प्रवृत्ति फरक रह्यो । शिक्षकले राजनीति गर्नु गलत हो भन्ने धारणा पहिलेदेखि रहेकाले शिक्षाको मन्दिरमा उनले राजनीतिलाई प्रवेश गर्न दिइनन् । 

उनका लागि शिक्षाको दैलामा राजनीतिलाई ‘प्रवेशनिषेध’ झुन्डिइरह्यो ।१९८२ श्रावण कृष्ण पञ्चमीका दिन त्यौड, असन, काठमाडौँमा जन्मिएकी साधनादेवीकी माता रम्भा प्रधान र पिता शंकरलाल प्रधान हुन् ।

आमा स्वर्गे हुँदा साधना तीन वर्षकी मात्रै थिइन् ।  त्यसपछि उनी आफ्नी हजुरआमा, बाबु तथा बहिनीहरु सँगै बर्मा (म्यानमार) पुगेकी हुन् । 

उनको प्रारम्भिक शिक्षा उतै भयो । साधनादेवीका पिता बर्मामा व्यापार गर्थे । 

आमाको निधनपछि बुवाले उतै लगेका हुन् । साधनादेवी, दाजु गौरीभक्त, बहिनी सहाना र भाइ शङ्करप्रसादले बर्मा अर्थात् म्यानमारमै पढेका हुन् । 

साधनादेवी हाईस्कुलमा त्यहीँ पढिन् । पछि नेपाल आएर फेरि एसएलसी गर्नुपर्‍यो । 

दरवार हाईस्कुलबाट एसएलसी गरेपछि त्रिचन्द्र कलेजबाट उनले बी.ए. उत्तीर्ण गरिन् । अनि, कीर्तिपुरबाट २००८ ताका बी.एड. गरेकी हुन् ।

साधनाले वि.सं. २००४ सालमा एसएलसी दिएकी हुन् । त्यतिखेर एसएलसी दिने चार जना मात्रै छात्रा थिए । 

ती हुन्– साधना प्रधान, सहाना प्रधान, अंगूरबाबा जोशी र भुवन सिंह । विद्यार्थीकालदेखि राजनीतिपट्टि उनमा गहिरो रूचि थियो । 

२००४ सालको ‘सत्याग्रह’ मा उनले पनि भाग लिएकी थिइन् । उत्साहपूर्ण विगतका पाटा सम्झँदै उनले भने अनुसार राजनीतिमा उनको यो पहिलो कदम थियो । समातिएर सातदिन थुनुवामा परिन् ।

थुनिनेमा उनी, सहाना, स्नेहलता र कनकलता थिए । थुनुवाकै बेलामा पनि कन्या स्कुल, कलेजको माग राख्न छाडिएन । त्यतिखेर केटीहरू मात्रै पढ्ने कलेज थिएन ।

 धर्ना दिइयो, माग चर्काइयो । अनि तत्कालीन प्रधानमन्त्री पद्मशमशेरले स्कुल, कलेज खोलिदिने वचन दिएका थिए ।  सत्याग्रहपछि राजनीतिमा चाख बढ्न थाल्यो । 

उनी कुनै पार्टीमा त थिइनन्, तर कम्युनिस्ट पार्टीमा नाम परिसक्या’ रहेछ । त्यतिखेर यहाँ त्रिचन्द्र कलेज मात्रै थियो । 

केटीहरूको छुट्टै कलेज थिएन । सरकारले वि.सं. २००५ सालतिर छात्राहरूलाई लखनउ पढ्न पठायो । 

लखनउ जाँदा साधनादेवी र सहाना गएका थिए । अंगूरबाबा जोशी र भुवनेश्वरी शाह चाहिँ पढ्न बनारस गए ।

२०६२ वैशाख ११ गते शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौंमा दिवंगत भएकी हुन्– साधनादेवी । पे्ररकीय महिला व्यक्तित्वको चर्चा गर्दा उनी छाड्नै नहुने पात्र हुन् । प्रथम नेपाली महिला निर्वाचित जनप्रतिनिधि तथा प्रथम नेपाली महिला सम्पादक साधनादेवीको देन विशिष्ट छ ।

नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको राजनीतिक, सामाजिक कद उचाइमा पुग्नुका पछाडि सरल, सहज, एवं सङ्घर्षशील स्वभावकी साधनादेवीको पनि प्रत्यक्ष, परोक्ष ठूलो हात रहेको प्रष्ट देखिन्छ । नेपाली राजनीति, पत्रकारिता तथा महिला जागरणको इतिहासमा उनी अमर रहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया