शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेश सरकारद्वारा १८ करोडको लागतमा स्यालो ट्युबवेल वितरण

शनिबार, १७ साउन २०८२, १२ : ५२
शनिबार, १७ साउन २०८२

सारांश

  • मधेस प्रदेश सरकारले १८ करोडको लागतमा किसानलाई स्यालो ट्युबवेल वितरण सुरु गरेको छ।
  • यो योजना सुक्खाग्रस्त क्षेत्रका किसानलाई सहयोग गर्न ल्याइएको हो, जसअन्तर्गत ८ जिल्लाका किसान लाभान्वित हुनेछन्।
  • एउटा ट्युबवेल जडान गर्न १ लाखदेखि ३ लाखसम्म खर्च लाग्ने अनुमान छ, र यसका लागि २ बिघा जमिनको लालपुर्जा पेस गर्नुपर्नेछ।

जनकपुरधाम । पानी नपर्दा सुक्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि मधेस प्रदेश सरकारले रु १८ करोड लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ ।  मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खाक्षेत्र सहयोग कार्यक्रमअन्तर्गत प्रदेशका आठ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो ।

धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए । जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा एक हजार दुई सय स्यालो ट्युबवेल वितरण गरिने उहाँको भनाइ छ । 

एउटा स्यालो ट्युबवेल जडान गर्न रु एक लाखदेखि तीन लाखसम्म खर्च हुने मन्त्रालयको अनुमान  छ । साथै सोलार जोड्दा थप खर्च हुनेछ । ट्युबवेल जडान गर्दा  पानीको सतह (गहिराई) कति छ त्यसको आधारमा खर्च लाग्ने उनको भनाइ रहेको छ ।  

स्यालो ट्युबवेल वितरणका लागि अहिले सातदिने सूचना जारी गरिएको छ । एउटा ट्युबवेल लिनका लागि दुई बिघा खेतीयुक्त जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्ने छ ।  मन्त्रालयले पानीको अभावमा मधेस प्रदेशमा अहिलेसम्म ५० प्रतिशत धानखेती भएको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप