आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

इजलास बस्न सक्ने अवस्था छैन, पुराना मुद्दाको तारेख सार्ने काम जारी

आइतबार, २९ भदौ २०८२, १५ : २९
आइतबार, २९ भदौ २०८२

सारांश

  • सर्वोच्च अदालतले आइतबारबाट सेवा पुनः सुरु गरेको छ, जेनजी आन्दोलनको कारण भवनमा क्षति पुगेको थियो।
  • अदालतले मुद्दा सम्बन्धी जानकारी, तारेख, रिट मुद्दा, र बन्दी प्रत्यक्षीकरण रिट दर्ता लगायतका सेवा सुरु गरेको छ।
  • नेपाल बार एसोसिएसनका अध्यक्षका अनुसार पूर्णरुपमा काम सुरु नभएपनि, कामकारबाही क्रमशः सुरु हुनेछ।

काठमाडौँ । सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट भवन ध्वस्त भएपछि सर्वोच्चले अदालत परिसरमा टेन्ट लगाएर सेवा सुरु गरेको हो । 

सर्वोच्चले मुद्दा सम्बन्धी जानकारी, तारेख, रिट मुद्दा, बन्दी प्रत्यक्षीकरण रिट दर्ता लगायतका सेवा सुरु गरेको हो । अहिले नै इजलास बस्न सक्ने अवस्था नरहेकाले पुराना मुद्दाको तारेख सार्ने काम भइरहेको सर्वोच्चले जनाएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष विजय प्रसाद मिश्रले तत्काल पूर्णरुपमा काम सुरु गर्ने परिस्थिति नरहेपनि क्रमशः कामकारबाही सुरु हुने बताए । स्थिति सहज भएपछि महिला, थुनुवा र राष्ट्रिय मुद्दाको सुनुवाइ सुरु गर्न सुझाव दिइएको उनले उल्लेख गरे ।

त्यस्तै अदालत पुगेका अधिवक्ताहरूले अदालतमाथि आक्रमण हुनु दुखद भएको बताएका छन् । अधिवक्ता ताराप्रसाद अर्यालले आस्थाको धरोहरमा भएको आक्रमण जायज नभएको बताए। उनले बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ सुरु भइसकेको उल्लेख गरे ।

त्यस्तै अधिवक्ता कमल कोइरालाले बन्दी प्रत्यक्षीकरण र तारिख दिने काम सुरु भएको र अन्य सेवा पनि बिस्तारै सेवा सुरु हुने विश्वास व्यक्त गरे । हालै देशभर भएका विरोध प्रदर्शनका क्रममा सर्वोच्च अदालतसहित विभिन्न अदालतमा आगजनी, तोडफोड र लुटपाट हुँदा ठुलो क्षति पुगेको छ । 

आगजनी र हिंसात्मक गतिविधिबाट अदालतका भवन, सवारीसाधन, उपकरण र नागरिकका महत्त्वपूर्ण दस्ताबेज जलेको सर्वोच्चले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप