नर्वेले फ्रान्सविरुद्ध हार्नकै लागि खेलेको थियो, किन दियो १० खेलाडीलाई आराम ?
सारांश
- नर्वेका प्रशिक्षक स्टोले सोलबाकेनले फ्रान्सविरुद्धको विश्वकप खेलमा १० खेलाडीलाई आराम दिएका थिए, जसको मुख्य कारण खेलाडीको थकान र नकआउट खेलको तयारी थियो।
- प्रतियोगिताको अन्तिम चरणमा फाइदा पुग्ने गरी कमजोर टोली उतार्ने रणनीतिले नर्वेलाई नकआउट चरणमा आइभरी कोस्टको सामना गर्ने अवसर मिलेको छ।
- खेलको तथ्यांकले नर्वेले फ्रान्सभन्दा राम्रो अवसर सिर्जना गरेको देखाए पनि उत्कृष्ट फिनिसिङ र गोलरक्षकको प्रदर्शनका कारण फ्रान्सले ४-१ को जित हासिल गर्यो।
काठमाडौँ । नर्वेका प्रशिक्षक स्टोले सोलबाकेनले आफ्नो टोलीको विश्वकप समूह ‘आई’ अन्तर्गत फ्रान्सविरुद्धको खेलअघि एकैपटक १० जना खेलाडी परिवर्तन गर्नुको कारण के हुन सक्ला ? के उसले जानाजान हार्नकै लागि खेलेको थियो त ?
खासमा अन्तिम समूह खेलअघि दुवै टोलीको समान ६–६ अंक थियो र दुवैले अन्तिम ३२ मा स्थान सुरक्षित गरिसकेका थिए । फ्रान्सका कार्यवाहक प्रशिक्षक गी स्टेफानले किलियन एम्बाप्पे, उस्मान डेम्बेले, देजिरे डुए र माइकल ओलिजेजस्ता स्टार खेलाडी समेटिएको बलियो सुरुआती टोली मैदानमा उतारे । तर नर्वेका एर्लिङ हालान्ड, मार्टिन ओडेगार्ड र गोलरक्षक ओर्जान नाइलान्ड भने बेन्चमै बसे ।
खेलअघि समर्थक र फुटबल विश्लेषकहरूले यस निर्णयबारे आ–आफ्ना धारणा राख्न भ्याइसकेका थिए । पूर्वकप्तान रोय किनले सन्तुलित प्रतिक्रिया दिए, ‘यो टोली अझै प्रतियोगितात्मक फुटबलमा अभ्यस्त भइसकेको छैन । यी दुई टोलीका अपेक्षाहरू पनि फरक छन् । फ्रान्सबाट विश्वकप जित्ने अपेक्षा गरिन्छ ।’
उनका अनुसार, नर्वेको पहिलो प्राथमिकता समूह चरण पार गर्नु थियो, जुन उसले गरिसकेको थियो । प्रशिक्षकले सायद सोचे, ‘फ्रान्सलाई हराउन निकै कठिन हुनेछ, त्यसैले मुख्य खेलाडीलाई आराम दिऔँ र अर्को साताको नकआउट खेलका लागि तयार बनाऔँ, म उनको सोच बुझ्न सक्छु । अवश्य पनि तपाईं जित्ने मानसिकताका साथ मैदानमा जान चाहनुहुन्छ, तर बृहत् पक्ष पनि हेर्नुपर्छ ।’
बोस्टन स्टेडियममा खेल सुरु भएको सातौँ मिनेटमै उसमान डेम्बेलेले फ्रान्सलाई अग्रता दिलाए । पीएसजीका फरवार्ड डेम्बेलेले २०औँ मिनेटमा दोस्रो गोल थपे । त्यसको एक मिनेटपछि रेन्जर्सका थेलो आसगार्डले नर्वेका लागि एक गोल फर्काए । तर ३२औँ मिनेटमा डेम्बेलेले ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–१ को बलियो अग्रता दिलाए ।

५०औँ मिनेटमा थियो हेर्नान्डेजले पेनाल्टी क्षेत्रमा ओस्कार बोबलाई लडाएपछि नर्वेले खेलमा फर्किने अवसर पायो । तर जोर्गेन स्ट्रान्ड लार्सेनको पेनाल्टी प्रहार फ्रान्सका गोलरक्षक माइक मेन्यानले बचाए । इन्जुरी समयमा डुएले आकर्षक हेडमार्फत चौथो गोल गर्दै फ्रान्सलाई ४–१ को जित दिलाए ।
फ्रान्ससँगको हार नर्वेकै लागि किन फाइदाजनक हुन सक्छ ?
सोलबाकेनको निर्णयको आलोचना भए पनि कमजोर टोली उतार्ने रणनीतिले प्रतियोगिताको पछिल्लो चरणमा नर्वेलाई फाइदा पुग्न सक्ने देखिएको छ । समूह ‘आई’ को विजेता बनेको फ्रान्सले नकआउट चरणमा स्वीडेन र नर्वेले आइभरी कोस्टको सामना गर्ने भएका छन् ।
कतिपयले हार्दा पनि नर्वेलाई फाइदा पुग्ने भएकोले हार्नकै लागि पहिलो रोजाइका १० खेलाडी परिवर्तन गरेको आरोप लगाएका छन् । आइभरी कोस्टसँग यान डियोमान्डेजस्ता प्रतिभाशाली खेलाडी भए पनि प्रिमियर लिगका एन्थोनी एलांगा, अलेक्जान्डर इसाक र भिक्टर ग्योकेरेसजस्ता स्टार खेलाडी रहेको स्वीडेनको तुलनामा अफ्रिकी टोलीसँग खेल्नु तुलनात्मक रूपमा सहज मानिएको छ ।
ग्राहम पोटरको प्रशिक्षणमा रहेको स्वीडेन दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ५–१ ले पराजित भए पनि ट्युनिसियालाई ५–१ ले हराएको र जापानसँग १–१ को बराबरी खेलेको आधारमा नकआउट चरणमा पुगेको हो ।आइभरी कोस्ट र स्वीडेनबिचको खेल जुन ३० मा आर्लिङ्टनमा हुनेछ । त्यही दिन फ्रान्सले पनि न्यु जर्सीमा अन्तिम ३२ को खेल खेल्नेछ । यदि दुवै टोली अन्तिम ३२ पार गर्न सफल भए फ्रान्सको अन्तिम १६ मा जर्मनीसँग भेट हुने सम्भावना छ ।
फ्रान्सविरुद्ध एर्लिङ हालान्डलाई आराम दिनु ‘सहज निर्णय’ थियोः नर्वेका प्रशिक्षक
हार्नकै लागि नर्वेको टिम परिवर्तन गरिएको भने थिएन । नर्वेली प्रशिक्षण स्टोले सोलबाकेनको अभिव्यक्तिले पनि यहि कुरा देखाउँछ । एक त यो खेल जित्नै आवश्यकतामा उनी थिएनन् र नर्वेले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको थियो ।
अघिल्लो खेलमा नर्वेका धेरै खेलाडी मांसपेशी बाउँडिने समस्याबाट प्रभावित भएका कारण सोलबाकेनले समूह विजेता बन्ने प्रयासभन्दा अन्तिम ३२ को खेललाई प्राथमिकता दिएका थिए । उनले भने, ‘यो निकै सरल निर्णय थियो । सेनेगलसँगको खेलपछि हामीले टोलीको अवस्था समीक्षा गर्यौँ । पाँच–छ जना खेलाडी निकै प्रभावित भएका थिए । ८० मिनेटपछि सम्पूर्ण रक्षापंक्ति र एक–दुई मिडफिल्डर निकै थाकेका थिए, हामीलाई थाहा थियो कि सेनेगलसँगको खेलपछि अर्को खेल खेल्न नर्वेसँग सबैभन्दा कम विश्राम समय थियो । आज राम्रो खेल्न सकिन्थ्यो होला, तर हाम्रो उद्देश्य जित्नु थियो । यदि आज पनि जित्न सकेनौँ भने त्यसपछि आउने खेलको अवस्था के हुन्थ्यो ? त्यसैले यो निर्णयमा कुनै दुविधा थिएन । मेरो, फिजियो र मेडिकल टोलीको पनि यही धारणा थियो, केही खेलाडी आफैंले पनि आफूलाई प्रशिक्षण गर्नसमेत गाह्रो हुने बताएका थिए । मेडिकल टोलीले मूत्र परीक्षण गरेर त्यसको प्रतिवेदन मलाई दिएको थियो । त्यसैले यो निर्णय गर्न धेरै समय लागेको थिएन ।’
धेरै समर्थक हजारौँ डलर खर्च गरेर हालान्ड र किलियन एम्बाप्पेको प्रत्यक्ष प्रतिस्पर्धा हेर्न बोस्टन पुगेका थिए । तर सोलबाकेनले भावनाभन्दा टोलीको दीर्घकालीन हितलाई प्राथमिकता दिए । उनले भने, ‘समर्थन उत्कृष्ट रह्यो । समर्थकहरू एर्लिङ र मार्टिनलाई हेर्न चाहन्थे । आजको टोली छनोटबारे मलाई अलिकति सोच्नुपर्ने कारण त्यही मात्रै थियो । तर आशा छ, यही निर्णयले आगामी साताहरूमा उनीहरूलाई अझ धेरै खुसीका रातहरू दिनेछ ।

उनी भन्छन्, ‘सबै सम्भावना प्रयोग नगरी घर फर्किनु म चाहन्नथेँ । त्यसैले यो निकै सजिलो निर्णय थियो । यसबारे कुनै बहसको आवश्यकता नै थिएन ।’
उता फ्रान्सका सहायक प्रशिक्षक गी स्टेफानले समूह विजेता बन्नु आफ्नो टोलीका लागि यात्राको दृष्टिले पनि महत्त्वपूर्ण रहेको बताए । समूह विजेता बनेपछि न्यूयोर्क पुग्न करिब ४५ मिनेटको उडान मात्रै गर्नुपर्नेछ, जबकि नर्वेले अब डलाससम्म करिब चार घण्टाको यात्रा गर्नुपर्नेछ । नर्वेसँग अन्तिम ३२ को खेलअघि आरामका लागि केवल तीन दिन मात्र छ । यसले बिहीबार कुरासाओलाई हराएर नकआउट पुगेको आइभरी कोस्टलाई केही फाइदा पुग्न सक्ने विश्लेषण गरिएको छ ।
यसबारे सोलबाकेनले भने, ‘अब त होइन, किनभने आज हामीले जे गर्यौँ, त्यही कारण हो । खेलहरूबिचको सबैभन्दा कम विश्राम समय, यात्रा र होटल परिवर्तनजस्ता सबै पक्षलाई ध्यानमा राख्नुपर्छ । एक दिन कम विश्राम पाउनु पनि आजको निर्णयको प्रमुख कारणमध्ये एक थियो ।’
उनले आवश्यक परेको अवस्थामा हालान्ड र ओडेगार्डलाई बेन्चबाट उतार्ने योजना भने रहेको खुलासा पनि गरे । ‘यदि अन्तिम हाइड्रेसन ब्रेकपछि हाम्रो लक्ष्य हासिल गर्ने सम्भावना देखिएको भए उनीहरूलाई मैदानमा उतार्ने योजना थियो,’ उनले भने ।
खेलको तथ्यांकले पनि हार्नलाई नै खेलेको भन्ने देखाउँदैन
४–१ को नतिजा देखिए पनि खेलको तथ्यांकले प्रतिस्पर्धा अपेक्षाकृत कडा रहेको देखाउँछ । फ्रान्सले ५७ प्रतिशत बल आफ्नो नियन्त्रणमा राख्दै १८ प्रहारमध्ये नौ प्रहार लक्ष्यमा केन्द्रित थिए । नर्वेका १० प्रहारमध्ये पाँच प्रहार लक्ष्यमा थिए । तर अपेक्षित गोल (एक्सजी) का आधारमा भने नर्वे (करिब १.७) फ्रान्स (करिब १.३) भन्दा अगाडि थियो, जसले उसले थप गोल गर्ने स्तरका अवसर सिर्जना गरेको देखाउँछ ।
खेलको मुख्य अन्तर भने फ्रान्सको उत्कृष्ट फिनिसिङ र गोलरक्षक माइक मेन्यानको प्रभावशाली प्रदर्शन बन्यो । उस्मान डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक पूरा गरे भने मेन्यानले जोर्गेन स्ट्रान्ड लार्सेनको पेनाल्टीसहित केही महत्त्वपूर्ण बचाउ गरे । दोस्रो रोजाइको टोली उतारेको नर्वे पहिलो हाफमा रक्षात्मक रूपमा कमजोर देखिए पनि दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको थियो । जे होस् ४–१ को नतिजाले खेलमा निसन्देह फ्रान्सलाई धेरैनै प्रभावशाली देखाएको छ, नर्वेले पहिलो रोजाई उतारेको भए परिणाम सायद यस्तो हुने थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घाँस काट्न रूख चढेकी बालिकाको खसेर मृत्यु
-
धनुषाबाट पेस्तोल र गोलीसहित दुई युवक पक्राउ
-
रास्वपाले संघीयता मास्न लागेको भन्दै आन्दोलनको तयारीमा जुटे मधेसकेन्द्रित नेताहरू
-
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह
-
पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण