शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

११ महिनामा मधेसमा सवारी दुर्घटनाबाट ४८५ जनाको मृत्यु

मानवीय लापरबाही मुख्य कारण
शनिबार, १३ असार २०८३, ११ : ५३
शनिबार, १३ असार २०८३

सारांश

  • चालु आर्थिक वर्षको ११ महिनामा मधेस प्रदेशमा ७,३१७ सवारी दुर्घटना हुँदा ४८५ जनाको मृत्यु भएको छ भने १०,९५७ जना घाइते भएका छन्।
  • अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मृतक र घाइतेको सङ्ख्यामा कमी आएको छ।
  • अधिकांश दुर्घटना मानवीय लापरबाहीका कारण हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

रौतहट । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मधेस प्रदेशमा ७ हजार ३१७ सवारी दुर्घटना हुँदा ४८५ जनाको मृत्यु भएको छ । यस्तै १० हजार ९५७ जना घाइते भएका छन्। 

यद्यपि मृतक र घाइतेको सङ्ख्यामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कमी आएको प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।

प्रादेशिक ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रवक्ता डीएसपी नवराज न्यौपानेका अनुसार अधिकांश दुर्घटना मानवीय लापरबाहीका कारण हुने गरेका छन्। उनले भने, ‘दुर्घटनाको सङ्ख्या अझै उच्च रहे पनि मृतक र घाइतेको सङ्ख्यामा कमी आउनु सकारात्मक सङ्केत हो। दुर्घटना न्यूनीकरणका लागि चालक, यात्रु तथा सर्वसाधारणमा ट्राफिक सचेतना अभिवृद्धि, ट्राफिक नियमको कडाइका साथ कार्यान्वयन र नियमित निगरानीलाई थप प्रभावकारी बनाएका छौँ।’

कार्यालयका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म भएका ७ हजार ३१७ दुर्घटनामध्ये ७ हजार २०० दुर्घटना मानवीय लापरबाहीका कारण भएका हुन्।

गत आर्थिक वर्षभर मधेस प्रदेशमा ७ हजार ४४३ सवारी दुर्घटना हुँदा ५६४ जनाको मृत्यु र १२ हजार १२३ जना घाइते भएका थिए। चालु आर्थिक वर्षको ११ महिनाको तुलनात्मक अवधिमा मृत्यु हुनेको सङ्ख्या ३२ र घाइते हुनेको सङ्ख्या १५५ ले घटेको तथ्याङ्कले देखाएको छ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाहीबाट पनि उल्लेख्य राजस्व सङ्कलन भएको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म १ लाख ८५९ सवारी साधनमाथि कारबाही गर्दा १० करोड १३ लाख १८ हजार १५९ रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस्तै, यातायात व्यवस्था कार्यालयमार्फत ६३३ सवारी साधनमाथि कारबाही गर्दा १ करोड १२ लाख ४६ हजार ५९९ रुपैयाँ राजस्व सङ्कलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप