कैदीबन्दीको श्रमबाट आम्दानी, बाहिरबाट अभिषेक गिरीको असुली !
सारांश
- अभिषेक गिरीलाई कारागारभित्र र बाहिर अवैध असुली धन्दा चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
- गिरीले कैदीबन्दीलाई सरकारले दिने भत्ता र श्रमबाट कमाएको रकमसमेत असुलेको आरोप छ ।
- गिरीको पक्राउपछि मोरङ कारागारमा केही समय तनाव उत्पन्न भएको थियो ।
विराटनगर । विगतमा अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद भुक्तान गरेका अभिषेक गिरीले अवैध असुली धन्दा रोकेनन् ।
गिरीमाथि कारागारमा रहँदा मात्र नभई बाहिर निस्किएपछि पनि कारागारको आन्तरिक प्रशासन र आर्थिक कारोबारमा अनाधिकृत हस्तक्षेप गर्दै अवैध असुली धन्दा चलाएको आरोप छ । सोही आरोपमा शनिबार बिहान प्रहरीले उनलाई पक्राउ गर्यो । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विराटनगर–८, मधुमारास्थित आफ्नै निवासबाट ४८ वर्षीय गिरीलाई नियन्त्रणमा लिएको हो । उनीमाथि असुली धन्दामा केन्द्रीत रहेर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
उनीमाथि पक्राउ परेलगत्तै कारागारका कैदी बन्दीहरूले ‘अभिषेक गिरीको दमक कहिलेसम्म ? कैदीबन्दीले पाउने गर्मीको भत्ताको रकमबाट अभिषेक गिरीलाई 'दादा भत्ता' नदिँएकाले हाम्रो मान्छेलाई सरुवा गर्न खोजिँदै छ ?,’ लगायतको नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका छन् । गिरीले मोरङ जिल्ला कारागारका कैदीबन्दीलाई सरकारले उपलब्ध गराउने जाडो तथा गर्मी महिनाको कपडा भत्ता र उनीहरूले श्रम गरेर आर्जन गरेको रकम समेत जबरजस्ती असुल गरेको आरोप छ । उनी नेपाली कांग्रेसका नेता एवं कारागारका पूर्वचौकीदार पनि हुन् ।
पछिल्लो पटक कारागारभित्रका कैदीबन्दीलाई वितरण गरिएको लाखौँ रुपैयाँ गर्मी भत्ता वितरण भएको केही घण्टामै गायब भएपछि सो घटनाको अनुसन्धानका क्रममा गिरीको संलग्नता पुष्टि भएको प्रहरीको दाबी छ ।
मोरङ कारागार प्रशासनले हालै कारागारमा रहेका कैदीबन्दीहरूलाई गर्मी भत्ताबापत प्रतिव्यक्ति २५ सय रुपैयाँका दरले रकम वितरण गरेको थियो । जेलर राजन घिमिरेका अनुसार कारागारका तीनवटा ब्लकमध्ये ‘ए ब्लक’का ५३९ जना, ‘बी ब्लक’का ५३६ जना र महिला ब्लकका ११० जना गरी कुल १ हजार १८५ कैदीबन्दीलाई सो भत्ता वितरण गरिएको थियो । तर, ‘बी ब्लक’का कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ वितरण भएको केही समयमै गायब भएको सूचना मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलसम्म पुगेको थियो ।

सूचना प्राप्त भएलगत्तै प्रजिअ कटेलको निर्देशनमा कारागार प्रशासनले सुरक्षाकर्मीसहित ‘बी ब्लक’मा छड्के अनुगमन गरेको थियो । अनुगमनका क्रममा कैदीबन्दीहरूको हातमा भत्तावापतको रकम भेटिएन । सोधपुछ गर्दा कारागारकै आन्तरिक प्रशासनमा रहेका निमित्त चौकीदार चन्चल बर्मनले उक्त रकम बाहिर रहेका अभिषेक गिरीको समूहसम्म पुगेको बताएका थिए ।
यही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले गिरीको घर घेरा हाली खानतलासी गरेको थियो । गिरीको कोठा खानतलासी गर्दा कैदीबन्दीहरूका नाममा गराइएका केही तमसुक (ऋणपत्र)हरू फेला परेको बताइएको छ । स्रोतका अनुसार गिरीले कारागारमा चौकीदार रहँदा जेल पर्नु अघिकै मिति राखेर कैदीबन्दीहरूलाई विभिन्न बहानामा तमसुक गराउने र सोही कागजका आधारमा बाहिर निस्किएपछि पनि रकम असुल्ने गरेको पाइएको छ ।
गिरीमाथि सरकारी भत्ता मात्र नभई कारागारभित्र कैदीबन्दीहरूले श्रम गरेर आर्जन गरेको रकमसमेत जबरजस्ती खोस्ने गरेको आरोप छ । हाल मोरङ कारागारमा १ हजार १९९ कैदीबन्दी छन् । उनीहरूले दैनिक ८० रुपैयाँका दरले सिदा भत्ता पाउँछन्, जसको कुल रकम दैनिक करिब ९६ हजार रुपैयाँ हुन आउँछ । यसबाहेक वार्षिक रूपमा जाडो र गर्मीका लागि छुट्टाछुट्टै २५ सयका दरले प्रति कैदी ५ हजार रुपैयाँ कपडा भत्ता आउने गर्छ ।
कारागार प्रशासन स्रोतका अनुसार जेलभित्र करिब ५ सय जना कैदीबन्दीले मुढा बुन्ने र करिब १ सय जनाले गलैँचा बुन्ने काम गर्छन् । ती सामग्रीहरू बजारमा बिक्री गरेर आउने आम्दानी र सरकारी भत्तासमेत गिरीले कारागारका वर्तमान चौकीदार राकेश यादवसँगको मिलेमतोमा आफ्ना सहयोगीहरूको बैंक खातामा पठाउन लगाई असुल्ने गरेको अनुसन्धानले देखाएको छ । कैदीबन्दीहरूले श्रम गरे पनि उनीहरूको खातामा पैसा नपुग्ने र सबै रकम अनौपचारिक च्यानलबाट गिरीको समूहमा पुग्ने गरेको विषयमा अहिले प्रहरीले बैंकिङ कारोबारको विवरण र अन्य प्रमाणहरू केलाइरहेको छ ।
अभिषेक गिरी पक्राउ परेलगत्तै मोरङ कारागारभित्र केही समय तनाव उत्पन्न भएको छ । गिरीसँगको मिलेमतोको आशंकामा प्रहरीले कारागारका वर्तमान चौकीदार राकेश यादवलाई बयानका लागि जिल्ला प्रहरी कार्यालय लैजान खोजेपछि कैदीबन्दीहरू आन्दोलित भएका थिए । उनीहरूले यादवलाई कारागारबाट अन्यत्र सरुवा गर्न लागिएको भन्दै नाराबाजी गरेका थिए । कैदीबन्दीहरूले गिरीलाई कारबाही हुनुपर्ने तर यादवलाई सरुवा गर्न नपाइने माग राखेका थिए । कारागारभित्र तनाव बढ्ने स्थिति देखिएपछि प्रहरीले यादवलाई पुनः कारागारमै फर्काएर सुरक्षा घेराभित्रै बयान लिने कार्य अघि बढाएको छ ।

पक्राउ परेर जिल्ला प्रहरी कार्यालय पुर्याइएलगत्तै गिरीले छाती दुखेको भन्दै अस्पताल लैजान दबाब दिएका थिए । प्रहरीले उनलाई तत्कालै विराटनगरस्थित कोशी अस्पताल पुर्याएको थियो । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षणमा गिरीको रक्तचाप (प्रेसर) उच्च देखिएको छ भने ईसीजी रिपोर्ट सामान्य आएको छ । हाल उनी अस्पतालको इमर्जेन्सी कक्षमा प्रहरी निगरानीमा उपचाररत छन् । चिकित्सकहरूले उनको रक्तचाप सामान्य अवस्थामा पुगेपछि अस्पतालबाट डिस्चार्ज गरी प्रहरी हिरासतमा पठाइने जनाएका छन् । पक्राउ परेका गिरीले भने आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउन खोजिएको दाबी गरेका छन् ।
विवादास्पद पृष्ठभूमि
अभिषेक गिरी विराटनगरमा लामो समयदेखि गुण्डागर्दी र आपराधिक गतिविधिमा संलग्न विवादास्पद व्यक्तिका रूपमा चिनिन्छन् । शरीर बन्धक तथा अपहरण मुद्दामा ९ वर्ष जेल सजाय भोग्ने क्रममा उनी लामो समय मोरङ कारागारकै चौकीदार बनेका थिए । कारागारभित्र रहँदा पनि कैदीबन्दीमाथि चरम दमन र आर्थिक शोषण गरेको आरोप उनीमाथि निरन्तर लाग्दै आएको थियो ।
दुई वर्षअघि कैद भुक्तान गरी कारागारबाट छुटेपछि गिरीले सामाजिक छवि सुधार्न ‘गिरी फाउन्डेसन’ स्थापना गरेर विभिन्न गतिविधि सञ्चालन गरिरहेका थिए । उनी नेपाली कांग्रेसको राजनीतिमा समेत सक्रिय भई गत आमनिर्वाचनमा पार्टीका नेताहरूको अघोषित चुनावी कमाण्डर बनेर काम गरेका थिए ।
तर, कारागारमुक्त भए पनि जेलभित्रको आर्थिक चक्रमा उनको अनाधिकृत नियन्त्रण र असुली धन्दा भने नरोकिएको प्रहरीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले संघीयता मास्न लागेको भन्दै आन्दोलनको तयारीमा जुटे मधेसकेन्द्रित नेताहरू
-
आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह
-
पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते
-
नवडर्माको नयाँ बानेश्वरबाट सेवा विस्तार
-
जेनजी आन्दोलनमा भागे, ब्राउन सुगरसहित फेरि समातिए
-
समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण