स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
सारांश
- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनको प्रभावकारी बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्न सक्ने बताएका छन् ।
- मुख्यमन्त्री आचार्यले हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका वस्तुलाई प्राथमिकता दिनुपर्ने र भारतबाट आयात गरिएका वस्तुभन्दा स्थानीय उपजलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।
- उनले बगालेमा स्थापना गरिएको हाट बजार रणनीतिक स्थानमा रहेको र यसले स्थानीय उत्पादनको बजार विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनको प्रभावकारी बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्न सक्ने बताएका छन् ।
प्युठानको सरुमारानी गाउँपालिका–२ को बगालेमा स्थापना गरिएको हाट बजारको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका वस्तुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनले भारतबाट आयात गरिएका तरकारी तथा अन्य कृषि उपजभन्दा स्थानीय किसानले उत्पादन गरेका तरकारी, फलफूल, मह, घ्यूलगायत कृषि उपजको बिक्री–वितरणलाई प्रोत्साहन गर्नुपर्ने बताए । स्थानीय उत्पादनको खपत बढेमा किसानको आम्दानी वृद्धि हुने र ग्रामीण अर्थतन्त्र सबल बन्ने उनको भनाइ थियो ।
मुख्यमन्त्री आचार्यले बगालेमा स्थापना गरिएको हाट बजार दाङ, अर्घाखाँची, रोल्पा र गुल्मीका उपभोक्ताले सहज रूपमा किनमेल गर्न सक्ने रणनीतिक स्थानमा रहेको उल्लेख गरे । यसले स्थानीय उत्पादनको बजार विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे ।
प्रदेश सरकारले कृषि क्षेत्रको यान्त्रिकीकरण, व्यवसायीकरण तथा अर्ग्यानिक उत्पादनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उनले किसानलाई व्यावसायिक तथा अर्ग्यानिक खेतीतर्फ आकर्षित हुन आग्रह गरे ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले स्थानीय कृषि तथा पशुजन्य उत्पादनको प्रवर्द्धन गर्दै त्यसलाई उद्यमसँग जोड्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए ।
उक्त अवसरमा कोसेली घर, सङ्कलन केन्द्र तथा हाट बजारको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी सामाजिक उद्यमी सहकारी संस्थालाई हस्तान्तरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण