काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ घरघरमा भित्रिसकेको छ । आफन्तसँग भेटघाट गर्ने, आशीर्वाद लिने र रमाइलो गर्ने अनि विशेषगरी स्वादिष्ट परिकारको स्वाद लिने चाडका रूपमा पनि दसैँलाई लिने गरिन्छ ।
दसैँको नौ दिनसम्म विशेष खाना खाने चलन छ, जसलाई ‘बिग फिस्ट’ को संज्ञा समेत दिइन्छ । परम्परागत रूपमा दसैँ चाडलाई मासुसँग जोडिएको समेत भनेर चिनिन्छ । यद्यपि शाकाहारीहरूका लागि मिठाई, दही, सेलरोटी जस्ता विकल्पहरू पनि प्रशस्त छन् ।
प्रा.डा पोषणविद मनासा थापा ठकुरानीको सुझावअनुसार दसैँ केवल एक चाडपर्व मात्र नभई तीन मुख्य कुरामा आधारित छ । परिवार र साथीभाइको मिलन, ‘महान् भोज’ को अवसर र धर्म, संस्कृति तथा परम्पराको जगेर्नासँग पनि दसैँको महत्त्व जोडिएको छ । ‘दसैँलाई स्वादिलो बनाउने तर स्वास्थ्यमा नकारात्मक असर पर्न दिनुहुँदैन’पोषणविद् ठकुरानीको सुझाव छ ।
दसैँको रमाइलो र पारिवारिक जमघटमा प्रायः मानिसहरूले आफ्नो शरीरको स्वास्थ्यको ख्याल नगरी अत्यधिक मात्रामा मासु र चिल्लो बढी खाने गर्छन् । चाडबाडका समयमा चिल्लो पदार्थ, बोसो, बढी नुन, मरमसला, गुलियो मिठाई र मदिरा तथा व्यावसायिक पेय पदार्थ कोकाकोला, फेन्टाको सेवनलाई सामान्य रूपमा लिने गरिन्छ । एक दिनको सेवनले ठुलो असर नपारे पनि, दसैँभरिको निरन्तर अत्यधिक खानपानले समस्या निम्त्याउन सक्ने ठकुरानीको भनाई छ ।

असन्तुलित खानपानले अपच हुने, पखाला लाग्ने बान्ता र ग्यास्ट्रिक जस्ता समस्या आउन सक्नेतर्फ ध्यान दिनुपर्ने पोषणविद् ठकुराठीको भनाइ छ ।
‘अत्यधिक मासु खाँदैमा तुरुन्तै मुटुसम्बन्धी समस्या आउँछ वा गुलियो चिज बढी खाँदा तुरुन्तै मधुमेह हुन्छ भन्ने धारणा गलत हो । यी दीर्घकालीन समस्याहरू लगातारको अस्वस्थ खानपानको ३० देखि ४० दिनपछि देखापर्न सक्छन्’ उनको भनाइ छ ।
प्रोटिनयुक्त खानेकुरा पचाउन शरीरलाई २४ देखि ४८ घण्टासम्म लाग्ने हुँदा नौ दिनसम्म लगातार आवश्यकताभन्दा बढी खाएमा यसले पछि ठुलो समस्या ल्याउन सक्ने उनको भनाइ छ ।
दसैँको स्वाद र रमाइलोलाई कायम राख्दै स्वास्थ्यलाई सन्तुलित राख्न विभिन्न उपायहरू अपनाउन सकिने प्राडा.ठकुरानीको सुझाव छ ।
–एक व्यक्तिलाई एक दिनमा ५५ देखि ६० ग्राम प्रोटिन आवश्यक हुन्छ । यसका लागि ८० देखि ९० ग्राम मासु पर्याप्त हुन्छ । यदि दिनमा तीन पटक खाना खाइन्छ भने जम्मा २००–३०० ग्राम मासुमा सीमित रहनुपर्छ ।
–मासुसँगै प्रशस्त मात्रामा सागसब्जी, तरकारी र फलफूलको सेवन गर्नुपर्छ ।
–मासु पकाउँदा नुन, चिल्लो (घिउ, तेल) र मरमसला कम प्रयोग गर्ने बानी बसाउनुपर्छ। हल्का तरिकाले पकाएको खाना स्वास्थ्यकर हुन्छ ।
– दसैँको समयमा पानीभन्दा अन्य व्यावसायिक पेय पदार्थ बढी पिउने चलन छ । जसले शरीरमा चिनीको मात्रा बढाउनुका साथै डिहाइड्रेसन गराउँछ । तिर्खा लाग्दा कोल्ड ड्रिंक्सको सट्टा पानी पिउनु उत्तम हुन्छ । दहीको मोही, कागतीको सर्बत जस्ता घरमै बनेका पेय पदार्थहरू सेवन गर्न सकिन्छ ।
– खाना खाएपछि कम्तीमा ४५ मिनेट हिँड्दा वा सामान्य व्यायाम गर्दा पाचन प्रक्रियामा सहयोग पुग्छ । स्वस्थ व्यक्तिले यसरी खाएको खाना सजिलै पचाउन सक्छन् ।
– दसैँमा बच्चाहरूले मिठाई र कोल्ड ड्रिंक्स बढी खाइदिने भएकाले अभिभावकले नियन्त्रण गर्नुपर्छ । व्यावसायिक पेय पदार्थको सट्टा कागतीको सर्बत, जलजिरा जस्ता घरमै बनेका स्वास्थ्यकर पेय पदार्थ दिन सकिन्छ । अत्यधिक चिनीले उनीहरूको पाचन प्रणाली, रुचि र निद्रामा समेत असर पार्न सक्छ ।
वृद्ध वृद्धा र दीर्घ रोगी जस्तै, मधुमेह, मिर्गौला वा मुटुसम्बन्धी समस्या भएका व्यक्तिहरूलाई उनीहरूको स्वास्थ्य अवस्था हेरेर मात्र परिकार दिनुपर्छ । दिनभरि चिल्लो मासु खुवाउनुको साटो एक पटक मात्र दिने वा हल्का परिकार बनाएर दिने गर्दा त्यस्ता व्यक्तिको स्वास्थ्यमा कम असर पुग्ने गर्छ । उनीहरूलाई डिहाइड्रेसनबाट बचाउन पर्याप्त पानी र स्वास्थ्यकर तरल पदार्थ सेवन गराउनु उपयुक्त हुने प्राडा ठकुरानीको भनाइ छ ।
प्रतिक्रिया