रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
सारांश
- फिल्म क्षेत्रमा स्थापित कलाकारहरू पछिल्लो समय रङ्गमञ्चमा आकर्षित भएका छन्, जसलाई सकारात्मक रूपमा लिइएको छ ।
- वरिष्ठ कलाकारहरू रङ्गमञ्चलाई अभिनय परिमार्जन गर्ने, अनुभव बटुल्ने र आत्मविश्वास बढाउने माध्यम मान्छन् ।
- चलचित्रका स्टारहरू रङ्गमञ्चमा आउनुलाई रहर, बाध्यता वा नयाँ अवसरको खोजीका रूपमा पनि हेरिएको छ, तर निरन्तरता दिन भने कठिन देखिएको छ ।
काठमाडौँ । रङ्गमञ्चमा अभिनय गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका कलाकार प्रशस्त भेटिन्छन् । कला क्षेत्रमा यसलाई स्वाभाविक चक्रका रूपमा लिइन्छ । फिल्म क्षेत्रमा ‘स्टार’का रूपमा कहलिएका कलाकार भने रङ्गमञ्चतिर विरलै जाने गर्दछन् ।
विरलै हुने मानिएको यस्तो परिदृश्य पछिल्लो समय नेपाली कला क्षेत्रमा भने बाक्लै देखिन थालेको छ । फिल्ममा आफूलाई स्थापित गराइसकेका नेपाली कलाकारहरू नाटकतिर आकर्षित भएका अनेक उदाहरण छन् ।
स्वर्गीय दीपक रायमाझी निर्देशित चलचित्र ‘युगदेखि युगसम्म’बाट रजतपटमा प्रवेश गरेका राजेश हमाल नेपाली चलचित्र क्षेत्रका सफल नायक हुन् । दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका हमालले २०७० मा रङ्गमञ्चमा पाइला टेकेका थिए । अनुप बराल निर्देशित नाटक ‘कोर्ट मार्शल’ मार्फत उनी पहिलो पटक नाटकमा देखा परेका हुन् ।

चलचित्र ‘हिरो’बाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी रेखा थापा नेपाली चलचित्र जगतकी स्थापित स्टार हुन् । दुई सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी रेखाले निर्माता र निर्देशकको रूपमा पनि पहिचान बनाएकी छन् । नयाँ पुस्ताका धेरै कलाकार उनलाई आफ्नो आदर्श मान्छन् । रेखाले गत वर्ष प्रदर्शन भएको नाटक ‘मीरा’ मार्फत थिएटरमा डेब्यु गरिन् । सुन्दर धिताल निर्देशित सो नाटकमा उनी मुख्य चरित्र ‘मीरा’को भूमिकामा थिइन् ।
सन् २०१० को चलचित्र ‘स्वर’बाट अभिनेत्रीका रूपमा यात्रा सुरु गरेकी केकी अधिकारीले पनि थुप्रै चलचित्रमा अभिनय गर्नुका साथै चलचित्र निर्माण समेत गरिसकेकी छन् । केकी केही वर्षअघि प्रदर्शन भएको नाटक ‘चारुमती’ मार्फत थिएटरमा प्रवेश गरेकी थिइन् ।

यी त केही उदाहरणमात्र हुन् । फिल्म क्षेत्रमा पहिचान बनाएका बेनिसा हमाल, सुरक्षा पन्तदेखि नयाँ पुस्ताकी अभिनेत्री सनिशा भट्टराईसम्मका कलाकार रङ्गमञ्चमा प्रवेश गरिसकेका छन् । नाटकमा चलचित्रका कलाकारहरू आउने क्रम पछिल्लो समय बढ्दो छ ।
नाटक पृष्ठभूमिबाटै आएका सौगात मल्ल, दयाहाङ राई, विपीन कार्कीजस्ता कलाकारहरू चलचित्रमा रमाइरहेको समय चलचित्रका पुराना र नयाँ स्टारहरू भने धमाधम नाटकतर्फ आकर्षित भइरहेका छन् । आखिर किन बढ्यो त रङ्गमञ्चतर्फ चलचित्रकर्मीको आकर्षण ?
वरिष्ठ रङ्गकर्मी निशा शर्मा यस लहरलाई सकारात्मक रूपमा लिँदै छिमेकी देशहरूको अभ्याससँग जोडेर हेर्नुपर्ने बताउँछिन् ।
‘विदेशमा वा छिमेकी देश भारतमा पनि स्थापित चलचित्र स्टारहरू जस्तै नसिरुद्दीन शाह, फारुख शेख र शबाना आजमीहरूले बेलाबेलामा नाटक खेलिरहेका हुन्थे । अहिले हाम्रो देशमा पनि त्यस्तै चलन भित्रिएको देखिन्छ,’ उनले भनिन् ।
_3X32WMWZB9.jpg)
धेरैले नाटकमा अभिनय गर्न गाह्रो र चलचित्रमा अभिनय गर्न सजिलो हुन्छ भन्ने गरेको जिकिर गर्दै उनी आफूलाई प्रमाणित गर्न र त्यो चुनौतीलाई स्वीकार गर्न पनि कतिपय कलाकार फिल्म क्षेत्रबाट नाटकतर्फ आएका हुन सक्ने बताउँछिन् ।
रङ्गमञ्चले अभिनयलाई थप परिमार्जन गर्न र अझ धेरै अनुभव बटुल्न मद्दत गर्ने भएकाले पनि फिल्म क्षेत्रमा जमेका कलाकार नाटकतर्फ आकर्षित भएको हुनसक्ने शर्माको भनाइ छ । ‘चलचित्रकर्मीहरू रङ्गमञ्चतर्फ आकर्षित हुनुलाई म सकारात्मक रूपमा लिन्छु । नाटकमा जुन प्रकारको गम्भीरता हुन्छ, त्यसको प्रभाव अहिले चलचित्र निर्माणमा देखिन थालेको छ,’ उनले भनिन्, ‘अचेल चलचित्र छायाङ्कन अघि वर्कशप गर्ने, रिहर्सल गर्ने र पात्रहरूमाथि गहन छलफल गर्ने चलन सुरु भएको छ, जुन पहिले हुँदैनथ्यो ।’
आफूहरूको पालामा यसरी पात्रहरूमाथि पूर्वअभ्यास गर्ने चलन नरहेको उनले बताइन् । स्टेजको प्रत्यक्ष अभिनयले कलाकारको आत्मविश्वास बढाउने र नयाँ पुस्तालाई प्रेरित गर्ने उनको बुझाइ छ ।
वरिष्ठ अभिनेता रवीन्द्र खड्का अहिले रङ्गमञ्चको महत्त्व र यसप्रतिको बुझाइ बदलिएको बताउँछन् ।

‘हाम्रो सुरुवाती पालामा चलचित्रहरू धेरै बन्दैनथे, त्यसैले हामी नाटकमा बढी केन्द्रित हुन्थ्यौँ,’ उनले भने, ‘अहिले तुलनात्मक रूपमा बढी फिल्म निर्माण भए पनि नाटकमा पनि दर्शकहरूको संख्या निकै बढेको छ । रङ्गमञ्चका कलाकारहरू अभिनयमा निकै माझिएका हुन्छन् भन्ने बुझाइ स्थापित भएको छ ।’
चलचित्र निर्माता तथा निर्देशकहरूले सशक्त अभिनय गर्ने कलाकारलाई रोज्न थालेका कारण पनि धेरै जना अभिनय सिक्न रङ्गमञ्चतर्फ आकर्षित भएको खड्काको धारणा छ ।
थिएटरबाट आएका स्थापित कलाकारहरूको सफलताले नयाँ पुस्तालाई मार्गनिर्देश गरेको र पुरानालाई आफ्नो जग सम्झाएको खड्काले प्रस्ट पारे । उनले भने, ‘दयाहाङ राई, सौगात मल्ल, विपीन कार्कीजस्ता स्थापित कलाकारहरू रङ्गमञ्चबाटै आएका हुन् । यसले नयाँ पुस्तालाई रङ्गमञ्चबाट यात्रा सुरु गर्दा चलचित्रमा राम्रो अवसर पाइन्छ भन्ने देखाएको छ ।’

नाटकबाट तत्कालै प्राप्त हुने प्रतिक्रियाले पनि चलचित्र कलाकारलाई आकर्षित गरिरहेको खड्का बताउँछन् ।
खड्का र शाहको विचारसँग सर्वनाम थिएटरका राज शाह पनि सहमत देखिन्छन् । उनी चलचित्रका स्थापित कलाकारहरू रङ्गमञ्चमा आउनुलाई सकारात्मक पाटोको रूपमा लिन्छन् ।
‘विगतमा हामी नाटकबाट चलचित्रमा प्रवेश गर्न सङ्घर्ष गर्थ्यौँ, तर अहिले स्थापित चलचित्र कलाकारहरू नाटकतर्फ आकर्षित हुनु सुखद् कुरा हो’, शाहले भने, ‘चलचित्रमा आफूलाई प्रमाणित गर्ने ठाउँ सीमित हुन्छ भन्ने अनुभव चलचित्रकर्मीहरूकै छ । नाटक भनेको सधैँ कलाकारको माध्यम हो । त्यसैले आफूलाई निखार्न र थप प्रमाणित गर्नका लागि उनीहरू यसमा आएका हुन सक्छन् ।’
स्थापित कलाकारहरू नाटकमा आउँदा रङ्गमञ्चप्रतिको सम्मान त दर्शाउँछ नै, साथै यहाँ सङ्घर्ष गरिरहेका अन्य कलाकारहरूलाई पनि ठुलो उत्प्रेरणा मिल्ने शाहको बुझाइ छ ।
- को–को छिरे रङ्गमञ्च ?
चलचित्रबाट रङ्गमञ्चमा भित्रिने क्रम एक दशक यता निकै बढेको छ । राजेश हमाल २०७० मा अनुप बराल निर्देशित नाटक ‘कोर्ट मार्शल’ मार्फत रङ्गमञ्च प्रवेश गरे । नायिका केकी अधिकारी पनि सोही समयमा ‘चारुमती’ नाटकमा देखिइन् । नेपाल–भारत सम्बन्धको ऐतिहासिक पाटो बोकेको यो नाटक हेर्न तत्कालीन राष्ट्रपति रामवरण यादव, तत्कालीन भारतीय राजदूत रञ्जित रे तथा नेताहरू झलनाथ खनाल, सूर्यबहादुर थापा, पशुपति शमशेर राणा लगायत थिएटरसम्म पुगेका थिए ।
२०८० मा भारतीय नाट्यकार बादल सरकारको कथामा आधारित नाटक ‘पगला घोडा’ मार्फत मलिका महतले मण्डला थिएटरमा डेब्यु गरिन् । विमल सुवेदीको निर्देशन रहेको नाटक ‘यार्मा’बाट नम्रता श्रेष्ठ र ‘ह्याम्लेट’बाट सृष्टि श्रेष्ठले रङ्गमञ्चमा डेब्यु गरे । भक्तपुर दरबार क्षेत्रमा मञ्चन भएको विलियम सेक्सपियरको ‘ह्याम्लेट’मा सृष्टिको जोडीका रूपमा अर्पण थापा थिए ।
२०७५ सालतिर वरिष्ठ कलाकार नीर शाह ‘बाथटप’ नाटकमार्फत ३२ वर्षपछि रङ्गमञ्चमा फर्किएका थिए । २०७७ सालमा नारायण वाग्लेको चर्चित उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’का लागि स्वस्तिमा खड्काले रिहर्सलसमेत गरेकी थिइन्, तर कोरोना महामारीको दोस्रो लहरका कारण उक्त नाटक मञ्चन हुन सकेन ।
२०८१ सालमा अमेरिकाको ओहायो राज्यस्थित सिभिक थिएटरमा मञ्चन भएको नाटक ‘हिटलर आउँदैछ’ बाट वर्षा राउतले थिएटरमा डेब्यु गरिन् । विमल सुवेदी र जोयश पाण्डेको संयुक्त लेखन तथा विमल सुवेदीको निर्देशन रहेको यस नाटकमा वर्षा मुख्य भूमिकामा थिइन् । २०८० सालमा घिमिरे युवराजको निर्देशन र कुमार नगरकोटीको लेखन रहेको नाटक ‘ट्रान्जिट’बाट शिल्पा मास्केले थिएटरमा डेब्यु गरिन् ।
अभिनेत्री सुरक्षा पन्त २०८० को नाटक ‘क्लेशा’ मार्फत पहिलो पटक रङ्गमञ्च प्रवेश गरिन् । भारत रङ्ग महोत्सवमा समेत सहभागी भएको यस नाटकमा सुरक्षासँगै विजय बराल मुख्य भूमिकामा थिए ।
कान्तिपुर थिएटरद्वारा निर्माण गरिएको, दीपक सिंजालीको उपन्यासमा आधारित नाटक ‘मीरा’ मार्फत रेखा थापाले गत वर्ष थिएटरमा डेब्यु गरिन् । एक महिलाको पारिवारिक र सामाजिक विद्रोहको कथा बोकेको यस नाटकलाई सुन्दर धितालले निर्देशन गरेका थिए ।
त्यस्तै, कान्तिपुर फिल्म एकेडेमीद्वारा मञ्चन गरिएको नाटक ‘सेतो धरती’मा शीर्ष पात्र ‘तारा’को भूमिका निर्वाह गर्दै बेनिसा हमाल रङ्गमञ्चमा प्रवेश गरिन् । सनिशा भट्टराई पनि साहित्यकार पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’मा आधारित नाटकबाट गत वर्ष रङ्गमञ्चमा प्रवेश गरिन् ।
- थिएटरतिरको यात्रा रहर कि बाध्यता ?
चलचित्रका स्थापित कलाकारहरू धमाधम रङ्गमञ्चमा प्रवेश गर्नुलाई कतिपयले रहर त, कतिपयले समयको माग वा बाध्यता भन्छन् ।
चलचित्रमा नाम, दाम, चर्चा र सफलता पाइसकेपछि पनि रङ्गमञ्चको अनुभव नभएको रिक्तता मेटाउन नाटक रोज्ने राजेश हमाल र रेखा थापाजस्ता कलाकारहरूको यात्रालाई ‘रहर’ वा इच्छा भन्न सकिन्छ ।
अभिनेत्री रेखा थापा रङ्गमञ्चको अनुभव लिनकै लागि आफूले नाटकमा अभिनय गरेको बताउँदै आएकी छन् । दुई दशकभन्दा बढी समय चलचित्रमा बिताइसकेकी रेखा थिएटर अभिनयबाट प्राप्त हुने आत्मसन्तुष्टि अन्यत्र कतै नपाइने धारणा राख्छिन् ।

तर, कतिपयका लागि थिएटर प्रवेश गर्नु बाध्यता जस्तै बनेको छ । पछिल्लो समय नेपाली चलचित्रमा कलाकारको छनोट केवल शारीरिक सौन्दर्यका आधारमा नभई अभिनय क्षमताका आधारमा हुन थालेको छ । निर्देशक तथा निर्माताहरूले कलाकारको अभिनयको गहिराइ र उसको थिएटर पृष्ठभूमि हेर्न थालेका छन् । यही कारणले पनि धेरै चलचित्र कलाकारहरू आफ्नो अभिनय निखार्न र प्रोफाइल बलियो बनाउन थिएटर आउन बाध्य छन् ।
चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमल्सिना भने यो आकर्षणलाई फरक कोणबाट हेर्छन् । विगतको तुलनामा अचेल चलचित्रको समाचार सामान्य भइसकेको र दर्शकले पनि चलचित्रका समाचारलाई पहिलाजस्तो धेरै गम्भीरतापूर्वक लिन छाडेको उनी बताउँछन् ।
‘यस्तो अवस्थामा, नाटक गर्दा सञ्चारमाध्यम र दर्शकमाझ एउटा नयाँ प्रकारको चर्चा पाइन्छ’, तिमल्सिनाले भने ‘धेरैजसो चलचित्र कलाकार रङ्गमञ्चप्रतिको अथाह प्रेमले मात्र यहाँ आएका होइनन् । चलचित्रबाट मात्र सोचेजस्तो चर्चा नपाइने भएपछि नाटकलाई परीक्षण र बजारको ध्यान खिच्ने माध्यमका रूपमा प्रयोग गरिएको हो ।’
स्थापित स्टारहरू अभिनय सिक्नका लागि नाटकमा आएका हुन् भन्नु भ्रममात्र भएको उनको दाबी छ ।
_gMyyfGIQfb.jpg)
अभिनेत्री तथा रङ्गकर्मी लक्ष्मी बर्देवा चलचित्रका कलाकारहरूको थिएटरप्रतिको आकर्षणलाई स्वाभाविक मान्छिन् । कलाकारमा सधैँ राम्रो गर्ने भोक हुने भएकाले सिक्ने इच्छाले नै उनीहरू यसतर्फ आएको उनको बुझाइ छ ।
बर्देवाले भनिन्, ‘केवल स्टेजमा उभिएर अभिनय गर्दैमा वा एक महिना रिहर्सल गरेर शो गर्दैमा कोही अब्बल कलाकार बन्दैन । थिएटर ब्याकग्राउन्ड हुनुलाई मात्रै आधार मानेर आँखा चिम्लेर तारिफ गर्नु रङ्गमञ्चकै लागि बेफाइदा हो ।’

- निरन्तरता शून्य
दयाहाङ राई, सौगात मल्ल, विपीन कार्की जस्ता थिएटर पृष्ठभूमिका कलाकारहरू चलचित्रमा अत्यन्त व्यस्त रहँदा पनि बेलाबेलामा रङ्गमञ्चमा फर्किएर नाटक गर्न भइरहेका छन् । तर, चलचित्रबाट रङ्गमञ्च प्रवेश गरेका अधिकांश कलाकार भने पहिलो नाटकमै सीमित हुन पुगेका छन् ।
राजेश हमालले ‘कोर्ट मार्शल’पछि, केकी अधिकारीले ‘चारुमती’ पछि र मलिका महतले ‘पगला घोडा’ पछि अर्को नाटक गरेका छैनन् ।

नम्रता श्रेष्ठ, सृष्टि श्रेष्ठ, वर्षा राउत, शिल्पा मास्के, सुरक्षा पन्त, रेखा थापा, बेनिसा हमाल र सनिशा भट्टराईको हकमा पनि यात्रा पहिलो नाटकमै रोकिएको देखिन्छ । आखिर किन टुङ्गियो चलचित्र कलाकारको नाटक यात्रा ?
रङ्गमञ्च आफैँमा अत्यन्तै गम्भीर, कठिन र साधना चाहिने विधा भएको सर्वनाम थिएटरका राज शाह बताउँछन् । ‘यहाँ आर्थिक प्रतिफल कम छ, तर समय र मेहनतको लगानी असाध्यै धेरै हुन्छ । एउटा नाटक तयार गर्न कम्तीमा एकदेखि दुई महिनासम्मको समय निरन्तर दिनुपर्ने हुन्छ’, शाहले भने ‘जसका कारण चलचित्रमा व्यस्त कलाकारहरूलाई निरन्तरता दिन कठिन हुन्छ ।’
अभिनेत्री बेनिसा हमाल पनि शाहको विचारसँग सहमत छिन् । धेरै कलाकारका लागि थिएटर एउटा पाठशाला जस्तै भएको र जीवनमा कम्तीमा एकपटक त्यहाँको अनुभव लिने इच्छा हुने उनी बताउँछिन् ।

‘फिल्ममा सामान्यतया एक महिनाजति सुटिङ हुन्छ र त्यसमा केही लचकता वा ब्रेक पाउन सकिन्छ, तर थिएटरमा कडा अनुशासन र प्रतिबद्धता आवश्यक पर्छ’, बेनिसाले भनिन्, ‘यहाँ कम्तीमा दुई महिनाको पूर्ण प्रतिबद्धता चाहिन्छ, जसमा एक महिना रिहर्सल र अर्को एक महिना मञ्चन हुन्छ ।’
फिल्ममा व्यस्त तालिका हुने कलाकारका लागि समय व्यवस्थापन गर्नु सबैभन्दा चुनौतीपूर्ण पक्ष भएको उनी सुनाउँछिन् । ‘रङ्गमञ्चले दिने मानसिक सन्तुष्टि भने अतुलनीय छ’, उनले भनिन् ।
- फिल्मी स्टारलाई नाटक खेलाउन कति सहज ?
चलचित्रको झकिझकाउ, लाखौँको पारिश्रमिक र चौतर्फी चर्चामा रहने कलाकारहरूलाई थिएटरको सीमित स्रोत–साधन र कडा अनुशासनमा डोर्याउनु निर्देशकका लागि सहज र चुनौतीपूर्ण दुवै हुन्छ ।

सर्वनाम थिएटरका राज शाहका अनुसार थिएटरको आफ्नै निश्चित नियम र गहिरो अनुशासन हुने भएकाले यहाँ कलाकारका लागि चलचित्रको जस्तो विशिष्ट व्यवहार (भीआइपी ट्रिटमेन्ट) उपलब्ध हुँदैन ।
‘थिएटरमा कोही सानो वा ठुलो हुँदैन । हामी सँगै खान्छौँ, सँगै उठ्छौँ र सँगै काम गर्छौं’, उनले भने । थिएटरको कठोर प्रक्रिया र समयको ठुलो लगानी थाहा पाएपछि कतिपय चलचित्रकर्मीहरू नाटक गर्न हिचकिचाउने गरेको उनको अनुभव छ ।

तर, कान्तिपुर थिएटरका सीईओ प्रकाश पुरीको अनुभव भने शाहको भन्दा फरक छ । उनी चलचित्र कलाकारलाई फिल्म खेलाउन सहज हुने बताउँछन् । केही वर्ष यता रेखा थापा, बेनिशा हमाल, सनिशा भट्टराई, जीवन लुईंटेल लगायतलाई नाटक अभिनय गराइसकेका छन् उनले ।
विगत ११–१२ वर्षदेखि चलचित्र अध्यापन गराउँदै आएका पुरी ठुला स्टारहरू थिएटरमा आउँदा आफ्नो स्टारडम बाहिरै छोडेर आउने गरेको बताउँछन् ।
‘हामीले रेखा थापा, जीवन लुइँटेल, बेनिसा हमाल लगायत सबैसँग काम गर्यौँ । उहाँहरूसँग काम गर्दा कहिल्यै पनि स्टारको घमण्ड महसुस भएन’, पुरीले भने, ‘उहाँहरू सिम्पल र एकदमै मेहनती कलाकार बनेर आउनुभयो ।’
चलचित्रमा लाखौँ पारिश्रमिक लिने कलाकारहरू नाटकमा आउँदा पारिश्रमिकका कारण कहिल्यै असमझदारी नभएको पुरी स्पष्ट पार्छन् । उनी भन्छन्, ‘हाम्रोमा आउने विषयमा उनीहरू पहिले नै स्पष्ट हुन्छन् । बजेटको कारण काम रोेकिएको अनुभव हामीसँग छैन ।’
कतिपयले उल्टै थिएटरमा आफैँले व्यक्तिगत रूपमा खर्च गरेर समेत योगदान पुर्याएइको उनले अनुभव गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण