शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

शुक्रबार, ०९ माघ २०८२, १५ : ०४
शुक्रबार, ०९ माघ २०८२

रौतहट । रौतहटको गौर–पिपरा सडकखण्ड अन्तर्गत राजदेवी नगरपालिका–१ स्थित पत्थरा पोखरी अगाडि रहेको एक विद्यालय नजिक दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटना आज बिहान करिब ११ बजेर ४० मिनेटमा भएको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बीआर ३०ए एफ २३७० नम्बरको मोटरसाइकल चालक दुर्गाभगवती गाउँपालिका–२ निवासी अशोक महतो र प्र.०२–०३–०१८ प २३४६ नम्बरको मोटरसाइकलमा सवार राजदेवी नगरपालिका–२ निवासी २९ वर्षीय अर्विन्द महतोको ज्यान गएको हो।

अर्विन्द महतोको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका अशोक महतोको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदीप वस्यालले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय गौरबाट इन्स्पेक्टर विश्वनाथ यादवको कमान्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ। दुवै मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा दुवै मोटरसाइकल तीव्र गतिमा रहेको र अनियन्त्रित भई दुर्घटना भएको बुझिएको डीएसपी वस्यालले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप