आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

आइतबार, १४ असार २०८३, ०९ : ०३
आइतबार, १४ असार २०८३

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक र नाक वितरण गरेको छ । ‘हिमाली याकनाक प्रवर्द्धन’ कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालक किसानलाई अनुदानमा याकनाक वितरण गरेको हो ।

लाभग्राही पशुपालक व्यवसायी र गाउँपालिकाअन्तर्गत सङ्घीय ससर्त अनुदानमा ५०–५० प्रतिशत लागत साझेदारी रहनेगरी याक र नाक पालन गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुदानमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । उनका अनुसार पालिकाको रु सात लाख ५० हजार र पशुपालक किसानको रु सात लाख ५० लागतमा याक खरिद गरी वितरण गरिएको छ ।

शनिबार जोमसोमका किसान पेम्बा गुरुङले अनुदान सहुलियतमा याक र नाक खरिद गरी ल्याउनुभएको छ । गाउँपालिकाले अनुदानमा वितरण गरेको याक र नाक तथा बाछाबाछी मनाङबाट खरिद गरिएको अध्यक्ष लालचनले जानकारी दिए । उनका अनुसार गाउँपालिकाद्वारा उपलब्ध बजेट दायराभन्दा थप रु आठ लाख मूल्य बराबरका याक र नाक किसान पेम्बा गुरुङले खरिद गरी मुस्ताङ ल्याएएकाे हाे ।

किसानले ५६ वटाभन्दा बढी याक र नाकसहित बाछाबाछी यहाँ पुर्याएका हुन् । गाउँपालिकाका अध्यक्ष लालचनले थोरै सङ्ख्यामा रहेका याक र नाक धेरै जनालाई अनुदानमा वितरण गर्दा लक्ष्यअनुसार याक प्रवर्द्धन गर्न अप्ठ्यारो पर्ने भएकाले छनोट समितिको मापदण्डभित्र रहेर एक जना किसानलाई अनुदानका याकनाक वितरण गरिएको उल्लेख गरे ।

गाउँपालिकाका पशु शाखा अधिकृत आइत थकालीका अनुसार गाउँपालिकाद्वारा अनुदानमा वितरण गरिएका याक र नाक पाँच वर्षसम्म बिक्री गर्न नपाइने सम्झौता गरिएको बताए । यो व्यवसाय मात्र नभई हिमाली क्षेत्रको मौलिक संस्कृति भएकाले जैविक विविधता र पारिस्थितिक प्रणालीमा योगदान पुर्याउने उद्देश्यले गाउँपालिकाद्वारा याक र नाक वितरण गरिएको उहाँको भनाइ छ ।

यसअघि घरपझोङ गाउँपालिकाले उक्त कार्यक्रमअन्तर्गत किसानलाई अनुदानमा याक र नाक वितरण गर्न ३५ दिने सूचना प्रकाशित गरेको थियो । गाउँपालिकाले प्रकाशित गरेको सूचनाअनुसार केही किसानले अनुदानका लागि निवेदन पेस गरेका थिए ।

पशु शाखा अधिकृत थकालीका अनुसार जिल्लाको दररेटअनुसार मूल्य निर्धारण गरी रु १५ लाख मूल्यमा याक र नाक खरिद गरी ५० प्रतिशत अनुदान सहुलियतमा प्रदान गरिएको जानकारी दिनुभयो । जिल्लाको ङिस्याङ गाउँपालिकास्थित याकखर्कबाट ३८ चाैँरी, तीन भाले याक र १५ वटा बाछाबाछी खरिद गरी जोमसोम ल्याइएको किसान गुरुङले जानकारी दिए । गाउँपालिकाको अनुदानमा ३८ र १८ वटा व्यक्तिगत लगानीमा खरिद गरिएको उनले बताए ।

गाउँपालिकाले आफूलाई विश्वास गरेर याक र नाक पालन गर्न अनुदान सहुलियत प्रदान गरेकामा खुसी व्यक्त गर्दै गुरुङले व्यावसायिक रूपमा याक र नाक पालन गरी प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिबद्धता जनाए ।

शनिबार यहाँ आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लालचन, कार्यपालिका सदस्य भिषण थकाली र पशु शाखा अधिकृत थकालीले संयुक्त रूपमा ती याक र नाक लाभग्राही किसानलाई हस्तान्तरण गर्नुभयो । ती याक र नाकको बिमा पनि गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

बिमा कम्पनीका प्रतिनिधि गणेश जिसीसहितको टोलीले किसान गुरुङका याक र नाक बिमामा दर्ता गराएका हुन् । उहाँले पशुधनको मूल्य बराबर पाँच प्रतिशत किसानले बिमा शुल्क तिर्नुपर्ने र बाँकी स्थानीय सरकारले शुल्क व्यहोर्ने गरी बिमा गराइएको जानकारी दिए ।

पछिल्लो समय हिमाली क्षेत्रको पुख्र्यौली पेसा याक र नाक पालन व्यवसाय सङ्कटमा पर्दै गएपछि पालिकाले सङ्घीय सरकारको ससर्त अनुदानमा याक र नाक प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न थालिएको हो । चालु आर्थिक वर्षमा यहाँको थासाङ गाउँपालिकाले पनि पशुपालक किसानलाई अनुदान सहुलियतमा याक र नाक वितरण गरेको थियो ।

जलवायु परिवर्तनका कारण मुस्ताङका उच्चलेक खर्क र पाटनमा गोठ स्थापना गरी पालन गरिएका याक र नाक चरन क्षेत्रको अभाव र जङ्गली वन्यजन्तुको जोखिमका कारण सङ्कटमा पर्न थालेका छन् । याक र नाक पालन व्यवसायको संरक्षण गर्न सरकारद्वारा बिमा सुरक्षा नीति ल्याइएको गाउँपालिका अध्यक्ष लालचनले उल्लेख गरे।

बिमामा आवद्ध याक र नाक पालक किसानको पशुधन क्षति भएमा बिमा कम्पनीबाट ९० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराइने बिमा प्रतिनिधि गणेश जिसीले जानकारी दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप