काठमाडौँ । सामाजिक अभियन्ता सोम शर्मालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । बागलुङ नगरपालिका–१२ मा जन्मिएका उनी सुशासन, समावेशी विकासको पक्षमा वकालत गर्दै आएका छन् ।
उनले १२ हजार ६४७ मत प्राप्त गरेर विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गरेका थिए । शर्मासँग रातोपाटीको सांसदसँग स्तम्भका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :
अभियन्ता हुँदै संसदसम्म पुगेपछिको अनुभव कस्तो रह्यो ?
म आफैँ जेनजी आन्दोलनको घाइते हो । आन्दोलनको क्रममा खुट्टामा गोली लागेर घाइते हुन पुगेँ । शहीद, घाइतेलाई न्याय गर्नुपर्ने सपना बोकेर हामी सदनमा छिरेको हो । जुन कारणले जेनजी आन्दोलन भयो, चुनाव भयो, त्यसको भावना र मर्म हामीले बिर्सनु हुँदैन । जेनजी आन्दोलनलाई संस्थागत गरेर दीर्घकालीन न्यायको निम्ति काम गर्नुपर्ने छ ।
विशेषगरी म निर्वाचित भएको क्षेत्र, बागलुङ क्षेत्र नम्बर २ लाई विकट भनेर राज्यबाट टाढा बनाइएको छ, ओझेल पारिएको छ । त्यो ठाउँलाई विशेष ठाउँ हो भनेर चिनाउने गरी काम गर्नुपर्ने छ । सरकारलाई भन्नुपर्ने छ, संसद्लाई सुनाउनुपर्ने छ । विकट होइन, यो सम्भावनाले भरिएको ठाउँ हो भनेर त्यस क्षेत्रका सम्भावना उजागर गर्नुपर्ने आवश्यकता छ । यसैमा हामी लागिरहेका छौँ ।
जेनजी आन्दोलनको जुन मर्म र भावना थियो, त्यसबेला उठाइएका एजेन्डाहरू थिए, तिनलाई पूरा गर्न कस्तो भूमिका खेल्नु हुनेछ ?
जेनजी आन्दोलनको एउटा मुख्य एजेन्डा सुशासन थियो । सुशासनको सवालमा हाम्रो सरकारले जिरो टोलरेन्स नीति अपनाएको छ । जसले गल्ती गर्छ, गल्ती गर्ने व्यक्तिलाई हामीले एक मिनेट पनि सजायको निमित्त हात कमाउँदैनौँ भनेर सरकारले त्यसको सुरुआत गरिसकेको छ ।
आफ्नै मन्त्रीहरूमाथि प्रश्न उठ्दा जिम्मेवारीबाट हटाइएको थियो । त्यसलाई हामीले सकारात्मक ढङ्गले लिनुपर्छ । र त्यो एउटा सुरुआत हो सुशासनको । सँगसँगै आम नागरिकमा जुन डेलिभरीको समस्या छ, आफ्ना आसेपासेका मान्छेलाई मात्र हेर्ने जुन सामाजिक न्यायको समस्या छ, त्यसमा पनि हामीले क्रमिक रूपमा सुधार गर्ने कोसिस गरिरहेका छौँ ।
जेनजी आन्दोलनमा सुशासन, सामाजिक न्याय, भ्रष्टाचारको अन्त्य, नेपालमै बस्न पाउनुपर्ने, अवसरको सुनिश्चितता होस् भन्ने आवाज सडकमा उठेका थिए । त्यसमा पनि सरकारले निरन्तर काम गरिरहेको छ । हामी सँगसँगै हातेमालो गरेर अगाडि बढेका छौँ ।
चुनाव अगाडि यहाँका मुख्य प्रतिबद्धताहरू के–के थिए ?
म जुन निर्वाचन क्षेत्रबाट जितेर आएको छु, त्यो क्षेत्र अलि भौगोलिक रूपमा विकट छ । शिक्षा, स्वास्थ्य, कनेक्टिभिटी र राज्यका निकायहरूले दिने सेवामा अलि टाढा परेको हुनाले त्यो क्षेत्र अब राज्यबाट टाढा हुनु हुँदैन । विकट भए तापनि त्यसलाई विशेष रूपमा राज्यले सम्बोधन गर्नुपर्छ भन्ने प्रतिबद्धता थियो ।
राज्यको उपस्थिति अब दरिलो र खरो ढङ्गले हुनेछ । जेनजी आन्दोलनको जुन माग थियो, त्यो मागलाई संस्थागत ढङ्गले सम्बोधन गर्ने छौँ भन्ने प्रतिबद्धता थियो । अरु त थुप्रै प्रतिबद्धता थिए तर विशेषतः यही दुइटा प्रतिबद्धतामा रहेर जनतासँग भोट माग्न गएको थिएँ । अहिले त्यसको निमित्त काम गरिरहेको छु ।
अहिलेसम्म राज्यसत्तामा गएका व्यक्तिहरूले हामीलाई सधैँभरि भोटको ढाल बनाइदिए । हामीलाई भोट माग्न आउने, माथि गएपछि सबै काम भुल्ने, त्यस्तो प्रवृत्तिबाट हामी आजित भएका थियौँ । त्यसकारणले गर्दा हामी फरक ढङ्गले काम गर्न आएका छौँ, नयाँ पुस्ताको ढङ्गले काम गर्न आएका छौँ ।
इमानदार, सक्षम व्यक्ति पनि राजनीतिज्ञ बन्न सक्छ भनेर आम नागरिकसँग मत माग्न गएका थियौँ । उहाँहरूले विश्वास गर्नुभयो, जिताउनुभयो । जे भनेर जिताउनुभएको थियो, त्यसपश्चात् हामी त्यो प्रतिबद्धताहरू पूरा गर्ने क्रममा छौँ ।
आफ्नो कार्यकालमा के–के कामहरू गर्नुहुन्छ ?
सबभन्दा मुख्य कुरा त स्वास्थ्य, शिक्षा र कनेक्टिभिटीमा काम गर्नुपर्ने छ । सुशासनलाई ‘जिरो टोलरेन्स’ भनेका छौँ । सुशासनको सन्दर्भमा एकदमै गम्भीर बन्नुपर्छ, निर्मम बन्नुपर्छ । राज्यको संरचनामा जुन किसिमका प्रश्नहरू उठिरहेका छन्, ती निकायलाई व्यापक रूपमा सुधार गर्नुपर्ने छ । यसको लागि हामीले गम्भीर ढङ्गले नीति निर्माण गर्नुपर्ने छ । यसको लागि हामी अहोरात्र खटिरहेका छौँ, खटिएका थियौँ र खटिरहने छौँ ।
आफ्नो निर्वाचन क्षेत्रका जनताहरूलाई के भन्न चाहनुहुन्छ ?
तपाईँले दिएको माया, विश्वास, आशा, सपना, मतपेटिकामा हालेको मत खेर जाने छैन । त्यो मत केवल मत मात्र थिएन, आशा, सपना र विश्वास थियो । हामीले जनताका मुद्दालाई बिस्तारै सम्बोधन गर्ने कोसिस गरिरहेका छौँ । सबै एकैचोटि पूरा हुन सम्भव हुँदैन । क्रमिक रूपमा काम भइरहेका छन् । हामी विकट बासिन्दा होइनौँ, विशेष ठाउँका बासिन्दा हौँ । हामी दुर्गम ठाउँका बासिन्दा होइनौँ । हामी राज्यले नहेरेर, नचाहेर, इच्छाशक्ति नदेखाएर अलि टाढाको जस्तो बनेका छौँ । त्यहाँका बालबालिकाले स्कुलमा राम्रोसँग पढ्न पाउने, सर्वसुलभ स्वास्थ्य लगायतका क्षेत्र सुधारका लागि अहोरात्र खटिने छौँ ।
त्यहाँका नागरिकले सामान्य स्वास्थ्य उपचारको निमित्त टाढा–टाढा, कोही बुटवल जानुपर्छ, कोही पोखरा जानुपर्छ । ५–६ घण्टाको लामो यात्रा तय गरिरहँदा त्यो समयको कारण र दूरीको कारणले गर्दा अकालमै ज्यान गुमाएका घटनाहरू छन् । त्यो दुःख अब भोग्न नपरोस् भन्नका निमित्त राम्रो गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने सोचमा छौँ । राज्यका निकायबाट प्राप्त हुनुपर्ने सेवा–सुविधा धेरै असहज भएको छ । आम नागरिकहरूले राज्यको निकायबाट प्राप्त गर्नुपर्ने सेवा–सुविधा लिनुपर्ने जुन झन्झट छ, त्यो पनि अन्त्य हुनेछ । त्यसमा पनि हामीले विशेष काम गर्नेछौँ । ढुक्क हुनुहोला ।
अब हामीले काम गरेर इतिहास रच्ने समय आएको छ । साथ, सहयोग, सुझावको खाँचो छ । गलत गर्दा खबरदारी पनि गर्नुहोला । हामी जनताहरूको निमित्त अहोरात्र दिन–रात नभनी सेवामा खटिन चाहन्छु ।
प्रतिक्रिया