शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रवीन्द्र मिश्रको महेन्द्रपथीय यात्रा

मङ्गलबार, ०४ मङ्सिर २०७५, १२ : १४
मङ्गलबार, ०४ मङ्सिर २०७५

राजनीति भन्नेबित्तिकै मूलतः विचार, सङ्गठन (प्रणाली) र नेतृत्व सँगसँगै जोडिएर आउने गर्छ । यीमध्ये विचार कम्पास, सङ्गठन साधन र नेतृत्व चालक हुन् । यी तीनमध्ये एउटाको अभाव भयो भने राजनीतिले सही नेतृत्व गर्न सक्दैन । सामान्यतः अधिकांश मानिसहरूले विचार र सङ्गठनलाई खासै वास्ता गरिरहेका हुँदैनन्, जुन स्वाभाविक हो । किनकि  दिनानुदिन उनीहरूसँग ठोक्किने विचार र प्रणाली नभएर नेताहरू हुन्छन् । त्यसैले उनीहरूले आलोचना र प्रशंसा नेताहरूकै गर्छन् । कहिले नेताहरूको प्रशंसामा पुल बाँध्छन् त कहिले आलोचनाको सिस्नुपानी लाउँछन् ।  

नेकपाको सरकार बनेपछि केपी ओलीका बारेमा चिया पसलतिर बोल्दा पनि विचार गरेर मात्रै बोल्नुपथ्र्यो । तर अहिले आफ्नो बचाउका लागि कार्यकर्तालाई अरिङ्गाल बन्न आदेश दिइरहेका छन् । कुनैबेला प्रचण्डलाई हेर्न ऋण काढेर टीभी किनेका कतिपय मानिसले पछि तिनै प्रचण्डको अनुहार हेर्न नसकेर टीभी फुटाए । 

मानव सभ्यतामा नेतृत्वको भूमिका सधैँ निर्णायक हुँदै आइरहेको छ । समाजको खासखास बिन्दुमा मात्रै खासखास नेतृत्वको जन्म हुन्छ । जब समाजले ऐतिहासिक रूपमा ठूलो छलाङको तयारी गर्छ, त्यसबेला विशेष गुण भएका नेताहरूको जन्म हुनेगर्छ । आवश्यकता र आकस्मिकताको बीचबाट महान नेताहरूको जन्म हुन्छ । समाजको ऐतिहासिक आवश्यकता र आफ्नो सचेत प्रयत्नबाट मात्र नेता बन्ने संयोग जुर्ने हो, न कि कसैले इच्छा राख्दैमा वा कसैलाई हतार हुँदैमा नेतृत्व भइहालिँदैन । 

दशकौंसम्म नेताहरूका छाला काढेर बसेका चर्चित पत्रकार रवीन्द्र मिश्र राजा महेन्द्रलाई आफ्नो आदर्श नेता मान्दै राजनीतिमा होमिएका छन् । महेन्द्रको बारेमा उनी लेख्छन्, ‘उनमा देश बनाउने इमानदारी, क्षमता, सुझबुझ, विचार र दूरदृष्टि सबै थियो ।’ 

उनको दाबी छ– ‘२०४६ सालमा प्रजातन्त्र स्थापना भएपछि नेपालले प्रधानमन्त्रीका रूपमा पाएका नेताहरूमा कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीमा नेतामा हुनुपर्ने केही गुण भए पनि बाँकी कुनै पनि प्रधानमन्त्रीमा न इमानदारी र क्षमता देखियो न त सामान्य सुझबुझ, वैचारिक स्पष्टता र दूरदृष्टि नै ।

नेता ठीक नभएकै कारण देश बदलिएन भनेकै हो– राजनीतिबाट टाढा बसेका हामीजस्ता कैयौँ पेसाकर्मी र आम सर्वसाधारण वैकल्पिक राजनीतिमा होमिएको ।’

देश बदल्न राजनीतिमा होमिएका रवीन्द्रजीलाई सफलताको शुभकामना ! आफूलाई वैकल्पिक राजनीति गरिरहेको दाबी गर्ने मिश्रजस्तै म पनि आफूलाई वैकल्पिक राजनीतिक अभियन्ता ठान्दछु । धेरै शुभचिन्तकहरूको सुझाव र शुभकामना छ, वैकल्पिक राजनीति गरिरहेकाहरू अलग–अलग चुलो बालेर बस्नु भएन । चुलो एउटै बाल्नुपर्यो । म सबैको भावनाको सम्मान गर्छु । त्यसैले रवीन्द्रजीको विचारप्रति विमति राख्न आफ्नो कर्तव्य ठान्छु । 

मिश्रको दाबी छ– ‘राजनीतिक व्यवस्था र राज्यको संरचना आफैँमा विकासको वाधक वा साधक नहुने रहेछ ।’ राजनीतिको कखरा बुझेका जोकोहीलाई यो भनाइ सुन्दा अचम्म लाग्नसक्छ । राजनीतिक व्यवस्था निश्चित विचारद्वारा निर्देशित हुन्छ । राज्यको संरचना निश्चित विचारकै आधारमा निर्मित हुन्छ । विशुद्ध भौतिक विकासको आँखाले हेर्दा राजनीतिक व्यवस्था र राज्यको संरचनाले खास फरक नपर्नसक्छ । के रवीन्द्रजीले भनेको वैकल्पिक राजनीति र समृद्ध नेपाल केवल भौतिक विकास मात्र हो ? होइन भने विचारविना कसरी विकास र समृद्धि सम्भव छ ? ‘विचारधाराको अन्त्य’को घोषणा गर्ने फुकोयामा र विनिर्माणको नाममा विघटन चाहाने डेरिडाको विचारसँग तपाईंको के साइनो छ ? तपाईंले भनेको वैकल्पिक राजनीति विचारबिनाको हो, निश्चय नै कोही पनि विचारको बन्धक र दर्शनको दास बन्नु हुँदैन । विचार, दर्शन पनि गतिशील हुन्छ । जडता प्रगतिको बाधक हो । विचारविनाको अराजकता पनि परिवर्तनको बाधक नै हो । जडता र अराजकता शब्द र स्वरूपमा फरक भए पनि सारमा एउटै हो । 

विकास र समृद्धि पर्यायवाची शब्द होइनन् । समृद्धिको एउटा अंश विकास हो । नेपालजस्तो बहुजाति, बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक देशमा समावेशिताविना समृद्धि सम्भव नै छैन । समृद्धि भनेको मूलतः चार कुराको समुच्च हो– १० तीव्र आर्थिक उत्पादन २० समतामूलक वितरण ३० दिगो विकास र, ४० मानवीय खुसी । सन्तुलित रूपमा यी चार कुरा न त आजसम्म पुँजीवादले दियो न त साम्यवादले । न त रवीन्द्रजीले भन्ने गरेको लोककल्याणकारी राज्यले नै दिनेवाला छ । नयाँ शक्तिले यी चार विशेषतासहितको समृद्धिका लागि वैचारिक रूपमा समुन्नत समाजवादको विचार अघि सारेको छ । 

समुन्नत समाजवाद गन्तव्य, समतामूलक समृद्धि मार्ग र समावेशी र समानुपातिक र सहभागितामूलक लोकतन्त्र, सुशासन र सदाचार, स्वतन्त्रता र सार्वभौमिकता साधनका रूपमा प्रस्ताव गरेका छौं । हाम्रोजस्तो भूराजनीतिक अवस्थिति भएको देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली समृद्धिका लागि अपरिहार्य छ । समृद्धिको लागि समावेशिता हाम्रोजस्तो देशमा आधारभूत शर्त हो । ‘मेरिटोक्रेसी’को आधारमा भौतिक विकास त गर्न सकिएला तर समृद्धि भने सम्भव छैन । 

रवीन्द्रजीले भनेजस्तै– ‘सन् १९६० यताका झन्डै ६० वर्ष संसारमा लोकतन्त्र नभएका र भएका दुवै प्रकृतिका दर्जनौँ देशले काँचुली फेरेको’ र नेपाल झनझन गरिब बन्दै गएको कुरा सत्य हो ।  के यसको एक मात्र कारण नेतृत्वको अक्षमता नै हो ? कि यसको बाधक राज्य व्यवस्था र संरचना पनि हो ?

रवीन्द्रजी नरम तानाशाहको कुरा पनि गर्नुहुन्छ ।  मैले नबुझेको कुरा तानाशाह पनि नरम र कडा हुन्छ ? आखिर तानाशाह त तानाशाह नै हो । स्वाभावको हिसाबले हरेक शासकहरू कडा र नरम हुन सक्छन् । तानाशाह शासकको सम्बन्ध त तानाशाही व्यवस्थासँग जोडिएको हुन्छ । तानाशाही व्यवस्थामा जतिसुकै उदार, मनकारी शासक भए पनि अन्ततः त्यसको परिणाम तानाशाही नै हुन्छ । रवीन्द्रजीले घुमाएर राजतन्त्रकै कुरा गर्न खोज्नुभएको त होइन ? उहाँको वैकल्पिक राजनीति नरम तानाशाहको खोजी त होइन ? 

तपाईंले भनेजस्तै राजा महेन्द्रमा देश बनाउने इमानदारिता, क्षमता, सुझबुझ, विचार र दूरदृष्टि सबै गुण भएको भए बीपीजस्ता नेताको साथ लिएर लोकतन्त्र बलियो पार्दै विकासको बाटोमा अघि बढ्थे न कि निर्वाचित सरकारलाई अपदस्त गरेर निरङ्कुश पञ्चायत लाद्थे । यसबाट नै थाहा हुन्छ, उनी कति इमानदार, क्षमतावान, सुझबुझ, विचार र दूरदृष्टियुक्त थिए भनेर । खासगरी पञ्चायतकै कारण नेपाल ३० वर्षपछि परेको हो । ३० वर्षसम्म पञ्चायतविरूद्ध लड्नु नपरेको भए देशमा विकासको राम्रो जग बस्न सक्थ्यो ।

पूर्व–पश्चिम मार्ग निर्माण गर्नुलाई मात्र भिजन र  क्षमता भन्ने हो भने त भन्नु केही छैन । नत्र महेन्द्रले त्यस्तो ऐतिहासिक काम के गरे ? भारतको डर देखाएर आन्तरिक राष्ट्रियतामाथि कसले दमन सुरु गर्याे ? टोपी र दौरासुरुवाललाई मात्रै राष्ट्रिय पोसाक अरूलाई अराष्ट्रिय पोसाक अनि खस भाषालाई मात्रै राष्ट्रिय र अरू सबै भाषालाई अराष्ट्रिय भाषा साथै, हिन्दू धर्मलाई राज्यधर्म र अरू धर्ममाथि किन दमन गरियो ? आफ्नै पिता त्रिभुवनको संविधान सभाको चुनाव गराउने प्रतिबद्धता विपरीत संसदको चुनाव गराएर अन्ततः निर्वाचित संसद र सरकार अपदस्त गरी किन निरङ्कुशता लादियो ? मनोवैज्ञानिक विखण्डनको बीउ कसले रोप्यो ? जनतालाई देशभक्त हुनुभन्दा राष्ट्रवादी बन्न कसले सिकायो ? 

रवीन्द्रजीले महेन्द्रलाई आदर्श राजा मान्नुको अर्थ राजतन्त्रको आदर्शीकरण गर्न खोजिएको त होइन ? संसदीय व्यवस्था र यसका नेताहरूले पनि राम्रो काम गर्न सकेनन् । यो सत्य नै हो । के अब त्यसो भए राजतन्त्र फर्काउने त ? कि संसदीय व्यवस्थाको विकल्पमा सहभागितामूलक उन्नत लोकतन्त्र ल्याउने ? 

लोकतन्त्रका लागि जीवन बलिदान गर्ने सहिदहरूप्रति श्रद्धा हुनुपर्छ । घाइते, अपाङ्गहरूप्रति सम्मान गर्नुपर्छ । जेलनेल बसेका जिन्दगीभर दुःख गरेका इमानदार नेताहरूप्रति सकारात्मक सोच राख्नुपर्छ । तर वैकल्पिक बन्ने नाममा कतिपय मित्रहरूको सहिद, बेपत्ता,  घाइते, अपाङ्ग र नेताहरूलाई हेर्ने दृष्टिकोण एकदमै नकारात्मक छ । 

आफूलाई वैकल्पिक दाबी गर्ने केही मित्रहरू युद्ध, आन्दोलनलाई हिंसा देख्छन् । नेपाल पनि युरोप, अमेरिका, चीन, जापानजस्तै भएको हेर्न चाहान्छन् । तर ती देशहरू कति भीषण रक्तपातपूर्ण युद्ध, आन्दोलनबाट गुज्रिएर यहाँसम्म आइपुग्यो भन्ने कुरा बिर्सन्छन् । नयाँ युवापुस्तालाई आफ्नै गौरवशाली इतिहासप्रति घृणा गर्न सिकाउँछन् । घरको जग भत्काएर छतमा बस्न सकिन्न भन्ने कुरा मित्रहरू बिर्सन्छन् ।

रवीन्द्रजी नरम तानाशाहको कुरा पनि गर्नुहुन्छ ।  मैले नबुझेको कुरा तानाशाह पनि नरम र कडा हुन्छ ? आखिर तानाशाह त तानाशाह नै हो । स्वाभावको हिसाबले हरेक शासकहरू कडा र नरम हुन सक्छन् । तानाशाह शासकको सम्बन्ध त तानाशाही व्यवस्थासँग जोडिएको हुन्छ । तानाशाही व्यवस्थामा जतिसुकै उदार, मनकारी शासक भए पनि अन्ततः त्यसको परिणाम तानाशाही नै हुन्छ । रवीन्द्रजीले घुमाएर राजतन्त्रकै कुरा गर्न खोज्नुभएको त होइन ? उहाँको वैकल्पिक राजनीति नरम तानाशाहको खोजी त होइन ? 

अन्त्यमा, अग्रगामी वैकल्पिक राजनीतिक शक्ति आजको आवश्यकता हो । नेपालमा पनि वैकल्पिकको नाममा पश्चगामी राजनीतिक धार विकास हुँदै गइरहेको छ । खासगरी ०६२–६३ को आन्दोलनपछिको नयाँ पुस्तासँग अनुरोध छ– इतिहासविना वर्तमान र वर्तमानविना भविष्य हुँदैन । वर्तमानभन्दा अगाडि बढेर उत्तम विकल्प दिनसक्नु नै वैकल्पिक बन्नु हो । विकासको नाममा लोकतन्त्र मासेर राजतन्त्र फर्काउन खोज्नु वैकल्पिक होइन । 

वैकल्पिक राजनीति पनि दुईथरीको हुन्छ– अग्रगामी, लोकतान्त्रिक, समावेशी र पश्चगामी, निरङ्कुश, एकमनावादी । यी दुईमध्ये कुन रोज्ने ? नयाँ पुस्ताले गम्भीर भएर सोच्न जरुरी छ । विचार र प्रणाली छाडेर नेतृत्वको तिलस्मीमा मात्र सबै समस्याको समाधान खोज्नु ‘हिरोइज्म’ हो । ‘हिरोइजम’ले अन्ततः पुर्याउने हिटलरीतन्त्रमा नै हो । नेपालको सन्दर्भमा महेन्द्रपथमा हो । रवीन्द्रजीको सोच, चिन्तन र प्रवृत्ति हेर्दा उहाँ महेन्द्रपथकै यात्री हो जस्तो लाग्न थाल्यो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गङ्गा श्रेष्ठ
गङ्गा श्रेष्ठ
लेखकबाट थप