केन्द्रीय संस्करण
कथा गीतको

कथा गीतकोः रबिन तामाङ र मुक्ति शाक्यबीच ‘हानथाप’ परेको ‘चौबन्दी चोलो’

person explore access_timeमंसिर ६, २०७६ chat_bubble_outline0
सरिता कार्की

रातोपाटी

सन् १९९६ मा मुक्ति एण्ड रिभाइभल ब्यान्डको स्थापना गरेपछि फ्रन्टम्यान एवम् लिड गितारिस्ट मुक्ति शाक्यलाई नेपाली सङ्गीत क्षेत्रमा केही नयाँ गर्ने उत्कट चाहना बढ्यो । हुन त उनले दीप श्रेष्ठ, ओम विक्रम विष्ट, विकास श्रेष्ठलगायतका थुप्रै गायकलाई धेरैपटक सुने तर उनको चित्तको भित्री पत्रमा आफ्नो भिन्न पहिचान बनाउने लोभ थियो ।

उनको लगाव पाश्चात्य संगीतको ब्लूजतिर थियो । उनी नेपाली संगीतमा त्यही फ्लेभर घुसाउन चाहन्थे । सोचे, केही त गर्नैपर्‍यो । तसर्थ स्कूलका साथीलाई एउटा गीत लेखिदिन आग्रह गरे । गीतको थीम पनि बताइदिए । नेपालको पहाडी क्षेत्रका युवतीहरुको सौन्दर्य र उनीहरुको सुशील स्वभाव झल्कने हिसाबले गीत लेख भनेर उनले साथीलाई अह्राए ।

यस्तो गीत लेख्न साथीलाई आग्रह गर्नुको कारण पनि छ उनीसँग । भन्छन्, ‘म चाँही नेपालको वर्तमान परिस्थिती, राजनीतिक व्यङ्ग्यसम्बन्धि लेख्छु । तर मलाई माया पिरतीका गीतहरु लेख्न आउँदैनन क्या । मायासम्बन्धि शब्दकोष मसँग धेरै छैन । त्यसैले साथीलाई आग्रह गरेको हुँ ।’

जब उनका स्कूलका साथी प्रकाश श्रेष्ठले उनको हातमा गीत थमाइदिए तब गीतका प्रत्येक शब्दले उनलाई आकर्षित गर्‍यो । उनलाई गीत असाध्यै मनपर्‍यो । साधारणतया घरको कोठाभित्रै बसेर गीतहरु कम्पोज गर्ने उनी, गीत पाउने बित्तिकै कहाँ जाऔं, कता बसेर गीत कम्पोज गरौँ भनेर सुरुमा व्याकुल भए । गीतको भर्समा लेखिएको थियो, ‘छमछम गर्दै मेरो आँगनीमा’ । त्यसकारण गीतलाई जीवन्त बनाउन घरकै आँगनीमा बसेर कम्पोज गरे ।

उनको एउटै ध्येय थियो, ‘नयाँ तरिकाले बनाउने’ । त्यसकारण उक्त गीत कम्पोज गर्न धेरै नै समय लागेको उनी बताउँछन् ।


गीतलाई पर्फेक्सनमा ल्याउन तीन वर्षः

मुक्तिले यो गीत सन् १९९६ देखि नै गाउन सुरु गरेको बताउँछन् । सन् २००० मा कलंकीको जाम एल्बममा उनीहरुले यो गीत समावेश गरे । गीत रेकर्ड गर्नुअघि ब्यान्डले यो गीत तीन वर्षसम्म गायो । उनले भने, ‘यो गीतलाई पर्फेक्सनमा ल्याउन तीन वर्षसम्म लगातार गाइरह्यौँ ।’

कता–कता गाउनुभयो ? मेरो अर्को प्रश्नमा उनले भने, ‘ठमेलका रेष्टुरेन्ट र बारहरुमा गिगहरु हुन्थे । नियमित होइन, महिनामा एकपटक वा दुई तीन महिनाको एक पटक, ती कार्यक्रममा यो गीत लगातार गाइरहन्थ्यौँ ।’

जब रबिन तामाङ र मुक्ति शाक्यबीच गीतका लागि हानथाप चल्योः

यो गीतको अझ रोचक कुरा सुन्ने ? उनले आफ्नो बिन्दास शैलीमा मतिर हेर्दै भने । हुन्छ सुनाउनुस् न, मैले पनि उत्साहित हुँदै भनेँ ।

गीत कम्पोज गरिरहेकै बेला रबिन एण्ड द न्यू रिभोलुसनका फ्रन्टम्यान तथा मुक्तिका निकै मिल्ने साथी रबिन तामाङ उनको घरमा पुगे । रबिनले सोधे, ‘मुक्ति, ह्वाट आर यु डुविङ’ । मुक्तिले आफूले कम्पोज गरिरहेको गीत सुनाए । रबिनले भने, ‘मुक्ति, मलाई देउ यो गीत, म गाउँछु’ । उनले हाँस्दै भने, ‘नो वे म्यान, नो वे ।’

गीतको रिफहरु नयाँ थिए, उनले त्यसका लागि धेरै मेहनत गरेका थिए, साथीका लागि त्यत्रो त्याग गर्न उनले सकेनन् । ठाडै अस्विकार गर्दै भने, ‘म कहाँ तिमीलाई दिन सक्छु ? मैले यो घरको आँगनमा बसेर नयाँ तरिकाले बनाएको गीत हो ।’ आफ्नो सृजनालाई धेरैले छोराछोरीको संज्ञा दिन्छन् । आफ्नो छोराछोरीलाई कसले अरुको हातमा सुम्पिन सक्छ र ? विषम परिस्थितीबाहेक ।

भिडियो बनाउने बेला जब बत्ती गयोः

गीत रेकर्डपछि यसले राम्रो प्रतिक्रिया पायो । त्यसकारण भिडियो बनाउनुपर्छ भन्ने मुक्तिले निर्क्यौल गरे । मुक्ति एण्ड रिभाइभलको करियरको सुरुवाती अवस्था भएर पनि उनी विशेष सचेत थिए । ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ सायद यस्तै सोचे । राम्रो भिडियो बनाउनका लागि मानिसको खोजी गरे । पत्ता लगाए सहेन्द्र श्रेष्ठको नाम । गीत पहाडी युवतीको भएपनि सहेन्द्रले म्युजिक भिडियोमा भक्तपुरको नेवार नचाइदिए । उनले भने, ‘सहेन्द्रलाई पनि नयाँ कुरा देखाउनु थियो, हामीले पनि नयाँ कुरा चाहेका थियौं ।’

भिडियो जहाँ छायाँकन गरिएको थियो उनले त्यही कोठामा बसेर यो गीतको कथा हामीलाई सुनाइरहेका थिए ।

भिडियो छायाँकन गर्दाको एक रोचक कहानी पनि उनले हामीमाझ साझा गरे  । उनले भने, ‘सहेन्द्र आफ्नो सबै दलबल लिएर आए । सबै तयारी गरेपछि एक्कासी बत्ती गयो । प्याक अप गर्ने कुरा थिएन । । विद्युत विभागमा मेरो एकजना साथी हाकिम थिए । उनलाई मोटरसाइकलमा लिन गएर नजिकैको ट्रान्सफर्मर बनाएर, एकैदिनमा दुई घण्टाभित्र यो गीतको सुटिङ सिद्धाएको हो ।’

गीत चर्चित हुने लख पहिल्यै काटिसकेका थिएः

यो गीतले चर्चाको शिखर चुम्ने लख मुक्तिले पहिल्यै काटिसकेका थिए । उनले भने, ‘मलाई पहिलादेखि नै केही नयाँ गर्नुपर्छ भन्ने सोच थियो । यो नयाँ भएकैले  अहिलेसम्म पनि अस्तित्वमा छ नि ।’

मुक्ति एण्ड रिभाइभल आफ्नै तरिकाले नयाँ कुराको खोजी गर्ने ब्यान्डको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको मुक्तिको विश्वास छ । नेपाली संगीत क्षेत्रमा नयाँपन ल्याउन उनलाई पाँच वर्ष लाग्यो ।

स्टेजमा सबैले गीत गाउँदा आङ सिरिङ्ग हुन्छः

स्टेजमा जब उनी यो गीत गाउँछन् सबैले उनलाई साथ दिँदा उनको तनमा बेग्लै जोश तरङ्गित हुने उनी बताउँछन् । उनी भन्छन्, ‘स्टेजमा मैले गाएपछि जब श्रोताहरुले आफै गाउनुहुन्छ नि, त्यो सुनेर मेरो आङ नै सिरिङ्ग हुन्छ ।’ यो गीतको यही पाटो उनलाई सबैभन्दा बढी मनपर्छ । 

अहिलेसम्म कतिपटक गाउनुभयो यो गीत ? ‘ओह, आइ डन्ट रिमेन्बर,’ उनले आफ्नै स्टाइलमा भने । उनले यो गीत नगाएको गीग नै छैन । सन् १९९७ देखि हरेक कार्यक्रममा यो गीत उनीहरुले गाइरहेका छन् । तर दुईपटक चाँहीे नियोजित रुपमै ‘यो पटक चाहीँ नबजाऔं न यार’ भनेरै गाएनन् । खासमा किन नबजाउनुभएको हो त ? ‘होइन, हाम्रो अरु पनि गीत छन् नि । हामीले असाध्यै मेहनत गरेर ५० बढी गीत बनाइसकेका छौँ, हामीलाई नयाँ नयाँ गीत गाउने इच्छा हुन्छ तर मानिसहरुले सधैं त्यही चौबन्दी चोलो मात्रै किन खोज्छन् भनेर दुई पटक चाहीँ नगाएको हो,’ उनले भने ।

‘अब त चौबन्दी चोलो आँखा चिम्लेर पनि बजाउने भइसके रे हाम्रा साथीहरु । कहिलेकाँही ठ्टटा गर्दै भन्छन्, ‘ए ! त्यो, आँखा चिम्लेर पनि बजाउने गीत,’’ कुराको पोयो तन्काउँदै उनले भने ।

जीवनकै उत्कृष्ट सृजनाः

मुक्तिका लागि ‘चौबन्दी चोलो’ जीवनभरीकै उत्कृष्ट सृजना हो । उनले भने, ‘यो गीतका लागि मैले धेरै संघर्ष पनि गरेको थिएँ । गीत बनाउँदा बनाउँदै मैले धेरैपटक एडिटिङ पनि गरेको थिएँ । ‘समथिङ ह्याज टु बी डन न्यू’ भनेर निकै मेहनत पनि गरेको थिएँ ।’ चौबन्दी चोलोलाई एक वाक्यमा वर्णन गर्दै उनले भने, ‘वान अफ द बेस्ट क्रिएशन अफ माइ लाइफ ।’

भिडियो हेर्नुहोस्

तस्बिर : विधान श्रेष्ठ

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...