केन्द्रीय संस्करण
लकडाउन

लकडाउनको मारमा ज्यालादारी : पानीको पनि पैसा पर्छ, के खाने सरकार ?

person explore access_timeचैत १५, २०७६ chat_bubble_outline1

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग गरिबको घर–आगनमा भोकमरीले पनि डेरा जमाउन थालेको छ । कोभिड– १९को महामारीबाट जोगिन नेपाल सरकारले गत मङ्गलबारदेखि देशभर साताव्यापी लकडाउन जारी राखेको छ । त्यसयता नागरिकहरुको दैनिकी घरको दैलोभित्रै सीमित हुन पुगेको छ । दैलोभित्रको दैनिकीले मजदुरी गरी गुजारा चलाउनेहरुको बस्तीमा भोकमरीले पाइला टेक्न थालेको छ ।

शुक्रबार रातोपाटीले काठमाडौँमा ठेला चलाएर दैनिकी चलाउँदै आएका मजदुरको अवस्था बुझ्ने क्रममा सिन्धुपाल्चोकका छत्र कार्की भेटिए । काठमाडौंको नयाँ बानेश्वरलाई कर्मथलो बनाएका छत्रले यसअघि खानकै लागि कसैलाई गुहार्नुपरेको थिएन । १५ घण्टा जोतिएर भए पनि उनले जेन, तेन परिवार पालेकै थिए । तर मंगलबारको रातिबाट उनको मनमा बेचैनी तुफान चलिरहेको छ ।

उनी भन्छन्, ‘अहिले हामीलाई साह्रै गाह्रो छ । कामै ठप्प हुँदा कमाइ केही छैन । यो बन्दले दिनभरी कमाएर साँझ खाने मान्छेका लागि एकदमै गाह्रो छ । यो बन्द लम्बियो भने कसरी परिवार पाल्ने भन्ने पिरले निद्रा पनि लाग्न छोडेको छ ।’

रोकबाट बचाउन सरकारले लिएको निर्णयप्रति छत्रलाई कुनै गुनासो छैन । बरु मनभरी आशा छ, भोकबाट बचाउन सरकारले छिट्टै कुनै  निर्णय लिनेछ ।


‘यो कोरोना भन्ने रोगबाट बच्न घरभित्रै बस्नु भनिएको छ । हामी जस्ता दिनभरी काम गरी खानेहरुका लागि सरकारले सोचिदिएको भए हुने थियो । आशा छ हामी जस्ताका लागि सरकारले केही निर्णय लिनेछ,’ उनले आशा व्यक्त गरे

आफूहरुलाई कोेरोनाको महामारीभन्दा भोकमरीले बढी पिरलेको उनले सुनाए । लकडाउनपछिको आफ्नो अवस्था बताउँदै छत्रले भने, ‘दिनभरीको कमाइबाट छाक टारेर केही बाँकी रहेको पैसा पनि अब सकियो । आफू त एक छाक खाएर एक छाक भोकै बस्न सकिन्थ्यो होला । तर तीन जना छोरा–छोरी छन् । उनीहरुलाई के खुवाउने ? यहाँ त पानी पनि पैसा नहालेर पाइँदैन ।’

लकडाउनको दोस्रो दिनसम्म छत्रले सरकारको आग्रह माने । तर विहीबार भने उनी लुकी–छिपी तरकारी र खाद्यान्न ओसारी दिन हिँडे । ‘दुई दिन त कोठाभित्रै बिताएँ । कोठामा भएको खानेकुरा सकिँदै गएपछि विहीबार बाध्य भएर नजिकै नजिकै भए पनि तरकारी र खाद्यान्न पुर्याएँ । अलिअलि पुलिसको गाली पनि खाइयो,’ उनले आफ्नो बाध्यता सुनाए ।

प्रहरीसँगको लुकामारीका बीच उनले बिहीबार तीन सय रुपैयाँ कमाउन भ्याए । निरास हुँदै छत्रले भने, ‘काठमाडौँको महँगीमा दैनिक एक हजारभन्दा बढी कमाउँदा त ५ जनाको परिवार पाल्न हम्मेहम्मे पथ्र्यो । ती सयले खान त के पुग्थ्यो । तर छोरो र छोरीका लागि काम पाएपछि मौका छोपेर भएपनि काम गर्नुपरेको छ । यसरी कति दिन चलाउने हो ?’

रोगको बारे सचेत देखिएको सरकारले आफूहरुको भोकबारे सोचिदिए राम्रो हुने उनको भनाइ छ । ‘हामी सरकारलाई सहयोग गर्न तयार छौँ । पुलिसले पनि तपाईंहरुको लागि घरमै बस्ने भनेको हो भनिरहेका छन् । तर रोगबारे सचेत देखिएको सरकारले हामीहरु जस्ता काम दिनमा काम नगरेर साँझ भोकै बस्नुपर्नेहरुका बारे सोची दिनुपर्छ,’ सरकारलाई छत्रको अनुरोध छ ।

यता सुनसरीका बाबुराम कार्कीको पनि दुःख छत्रको भन्दा कम छैन । अहिले ललितपुर बस्दै आएका बाबुरामले देश विदेश धाएर केही पार नलागेपछि काठमाडौँ उपत्यकामा ठेला चलाउने पेसा अँगालेका हुन् ।

तर मंगलबारबाट रोजिरोटीको आधार (ठेला) थन्काउनुपरेपछि बाबुरामको भरोसा सरकारमाथि केन्द्रित हुन पुगेको छ । उनले भने, ‘यस्तो बेला सरकारले हामीतिर पनि नजर लगाइदियोस् ।’

दुई छोरी र श्रीमतीका साथ बस्दै आएका बाबुरामलाई पनि लकडाउन लम्बिए के खाने भन्ने चिन्ताले सताउन थालिसकेको छ । उनको चिन्ता आफूमा मात्र सीमित छैन । ‘गरिबहरुलाई गाह्रो हुन थालिसकेको छ । मलाई मात्र होइन म जस्ता गरिबहरुलाई सरकारले सहयोग गरोस्,’ बाबुरामको आग्रह छ । अहिलेसम्म उनले सरकारको निर्णय पूर्ण पलाना गरेका छन् ।

‘एकातिर सबै व्यापार व्यवसाय बन्द हुँदा काम पनि छैन,’ रातोपाटीसँग आफू बस्ने कोठा अगाडि उनले भने, ‘अर्कोतिर सरकारले हाम्रो स्वास्थ्यका लागि लकडाउन गरेको हो भन्ने ठानेर म घर बाहिर निस्केको छैन ।’

तर लकडाउन लम्बिँदै गयो भने के खाने भन्ने बाबुरामलाई केही टुंगो छैन । केबल सरकारले भोकै मर्न दिँदैन भन्ने आशा छ ।

‘यस्तै अवस्था रहिरहने हो भने हामीसँग केही उपाय नै छैन । पैसा हुनेहरुले त किनेर खाने हो,’ आफ्नो वास्तविकता सुनाउँदै बाबुरामले भने, ‘हामी जस्ता आज कमायो आज खाने, भोलि कमायो भोलि खानेहरुसँग सरकारसँग आश गर्नुबाहेक विकल्प छैन ।’

सामान्यतया मासिक २५ देखि ३० हजार खर्च हुने गरेको सुनाउँदै आमदानीबाट बचत गर्न नसकिएको उनको भनाइ थियो । तर सरकारसँग बाबुरामको धेरै अपेक्षा छैन । लकडाउन जारी रहुन्जेल बिना ब्याज किस्तामा तिर्नेगरी २०–२५ हजार व्यवस्था गरिदिए पनि केही सहज हुने भनाइ छ ।

उनले भने, ‘कोरोनाको महामारी रोक्न विश्वका विभिन्न देशमा लकडाउन घोषणा गरिएको छ । ती देशले ठूलो राहत दिएका छन् । हाम्रो जस्ता सरकारसँग त्यो अपेक्षा गर्न सकिँदैन । तर यस्तो बेला सरकरले सक्ने जति राहत दिएको भए हामी जस्ताले भोकले मर्नुपर्दैन थियो ।’

सरकारको अवस्थाप्रति जानकारी देखिएका उनले राहतभन्दा पनि पछि तिर्ने गरी केही सहयोगको अपेक्षा राखे । विभिन्न प्रतिपक्षी दलका नेताहरुले पनि यो संकटको बेला विशेष राहत प्याकेजको घोषणा गर्न सरकारको ध्यानाकर्षण गरिरहेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. March 28, 2020, 2:11 p.m. Skhan
    Aru des le majdur kisan ko dainiki ko lagi rahat package ghosana gari sakyo nepal le garib majdur haru lai rahat dida rajya ko dhikuti sakiyo vane vrastachar garna paidaina vanera hola aile samma kehi gareko chaina
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.