शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिडिओको छोराको समुहमाथि मध्यरातमा छुरी हान्ने ७ जना पक्राउ

मङ्गलबार, १८ वैशाख २०७५, १७ : २७
मङ्गलबार, १८ वैशाख २०७५

काठमाडौं– ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीको छोराको समुहमाथि गएराति काठमाडौंको हात्तिसारमा छुरी प्रहार गरेर भागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  दरबारमार्गको भिक्टोरी क्लबमा ‘बर्थ डे पार्टी’ मनाउन गएका प्रजिअ जिसीका पुत्र दिनेश जिसी सहितका पाँच जनाको समुहलाई सामान्य विवाद हुँदा अपरिचित समुहले हात्तिसारस्थित जय नेपाल हल अगाडि छुरा प्रहार गरेका थिए । 

‘छुरा प्रहारमा संलग्न सात जनालाई नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लले भने, ‘सामान्य विवादमा अपरिचित समुहले छुरा प्रहार गरेको खुल्न आएको छ ।’  प्रहरीका अनुसार छुरा प्रहारमा संलग्न सिन्धुपाल्चोकका अर्जुन तामाङ, काभ्रेका संजय श्रेष्ठ, काठमाडौंका राहुल घिमिरे, सिन्धुपाल्चोकका समुन्द्र गुरुङ, सिन्धुपाल्चोककै विराट गुरुङ, सोलुखुम्बुका नुरु शेर्पा र सिन्धुपाल्चोकका विपिन कोइराला पक्राउ परेका छन् । पक्राउ परेकाहरुको साथबाट प्रहरीले छुरी बरामद गरेको छ । 

गएराती एक बजे भिक्टोरी क्लवमा डान्स गर्ने क्रममा एक आपसमा टच भएपछि शुरु भएको विवादका कारण अर्जुन तामाङ सहितका सात जनाले जिसी समुहलाई पछ्याएको थियो । हात्तिसार नजिकै पुगेपछि बाटो छेकेर छुरा प्रहार गर्ने क्रममा प्रजिन राई, विपीन पौडेल, समिरविक्रम थापा र राजाराम घिमिरे घाईते भएका थिए । ताप्लेजुङका प्रजिअ पुत्र भने सकुशल रहेको बताइएको छ । 

‘मेरो छोरालाई छुरी हानेको हैन, उसका साथीहरुमाथि त्यस्तो घट्ना भएको रहेछ’ रातोपाटीसँग कुरा गर्दै प्रजिअ मोहनबहादुर जिसीले भने, ‘दिनेश मेरो छोरा हो, तर उसलाई केही भएको छैन् ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप