शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

किन फेरिइरहन्छ काँग्रेस नेतृत्वको बोली ?

यस्तो छ गगनको देउवालाई सुझाव
आइतबार, १७ चैत २०७५, १३ : १०
आइतबार, १७ चैत २०७५

सरकारले पछिल्ला दिनमा गरेका दूरगामी निर्णयहरुमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस नेता कार्यकर्ताहरु अलमलमा परेका छन् । जसको कारण हो पार्टी केन्द्रीय पदाधिकारी तथा प्रभावशाली नेताहरुले सार्वजनिक रुपमा मनमौजी धारण दिनु ।

फागुन २४ गते सरकार र पृथकतावादी आन्दोलनका अभियान्ता सीके राउतबीच भएको ११ बुँदे सम्झौता होस् वा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमाथि लगाइएको प्रतिबन्ध । काँग्रेसका शीर्ष नेताहरुको धारणा बाझियो । काँग्रेसले दुई घटनामा एक हप्ता ढिलो गरी आफ्नो धारणा सार्वजनिक गर्यो ।

यसले प्रष्ट हुन्छ, सरकारले गरेका निर्णयबारे सामाजिक सञ्जाल र सत्ता पक्षका नेताहरुले विरोध गर्न थालेपछि मात्र काँग्रेसले आफ्नो धारणा तय गर्छ ।

यसलाई अनौठो मान्नुपर्ने कुरा छैन । किनभने संसदीय इतिहासमै सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्ष दलले पूर्ण रूपमा समर्थन गरिदिएको थियो । जहाँ कसैले विरोध गर्दैन, त्यहाँ काँग्रेसले जानी नजानी सरकारको समर्थन गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षी दलले सरकारले गरेका काम कारबाहीको निगरानी गरी जनतालाई सत्य तथ्य बताउनुपर्नेमा काँग्रेस आफै अलमलमा छ ।

पार्टी सभापति शेरबहादुर देउवाको धारणालाई पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ‘काउन्टर’ दिए । पार्टीको आधिकारिक धारणामाथि काँग्रेसका चर्चित तथा प्रभावशाली नेता गगन थापाले पनि काउन्टर दिने काम गरे । काँग्रेसका सभापतिले सीके राउतसँगको सम्झौताको समर्थन गरे ।

तर पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सभापति देउवाको धारणामाथि काउन्टर हुने गरी प्रेस विज्ञप्तिसहित जारी गरे । यस्तै सरकारले फागुन २८ गते विप्लव समूहमाथि लगाएको प्रतिबन्धलाई पनि सभापति देउवाले समर्थन जनाइदिए ।

त्यसमा पनि पार्टी प्रवक्ताले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दा सभापति देउवाको धारणासँग मेल खान पुगेन । विप्लवमाथिको प्रतिबन्धमा देउवाले नेता थापाको भने साथ पाए ।

नेता थापाले विप्लव समूहलाई प्रतिबन्ध लगाएकोप्रति पूर्ण समर्थन जनाएका थिए । पछिल्ला यी दुई घटनामा काँग्रेसको पोजिसन के हो भन्ने बारे जनमानसका दुविधा पैदा गराएको छ ।

कार्यकर्ता अलमलमा, अब कार्यसमिति बन्दै

काँग्रेसका प्रमुख नेताहरुको बोली फेर्ने ‘रोग’ पनि निकै मौलाएको छ । जसमा पार्टी सभापति देउवा र महामन्त्री शशांक कोइराला अग्रपङ्क्तिमा छन् । पार्टी सभापतिले माथि उल्लेखित दुई विषयमा २४ घण्टा नवित्दै बोली फेरेका थिए ।

यता महामन्त्री कोइरालालाई फागुन ६ गते धर्म  निरपेक्षता, सङ्घीयता र गणतन्त्रमा समते जनमत सङ्ग्रह गर्न सकिने विवादास्पद अभिव्यक्ति दिएका थिए । तर पार्टीका नेताहरुले बोली ‘करेक्सन’ गर्नु भनेपछि ७ गते उनको बोली बदलियो । त्यसको भोलि पल्ट महामन्त्री कोइरालाको अभिव्यक्तिप्रति नेताहरु शेखर कोइराला, गगन थापाले कडा विरोधसमेत गरेका थिए । थापाले पार्टीका जिम्मेवार नेताहरुले जथाभागी बोल्दा पार्टी भड्खालोमा पर्ने चेतावनी दिएका थिए । सीके राउत र विप्लव समूहप्रति नेताहरुको फरक फरक धारणा आउनुले कार्यकर्ता अलमलमा परेको नेता थापाले स्वीकार गरे ।

‘मुलुकमा पछिल्ला दिनमा घटेका घटनाहरु आफैम अलमल सिर्जना गर्ने खालका छन् । पक्कै पनि हाम्रो कारणले जनमानस र पार्टी कार्यकर्तामा थप अलमल सिर्जना गराएको छ,’ उनले भने ।

प्रमुख प्रतिपक्ष यस्तो अवस्था रहिरहे जनतालाई अलमल्याउँदै सत्तामा आएका केपी ओलीबाट मुलुकमा विकराल समस्या सिर्जना हुने नेता थापाको भनाइ छ ।

‘राष्ट्रका लागि दुरगामी प्रभाव पर्ने विषयमा पार्टीभित्र साझा धारणा बनाउनुपर्छ । यसका लागि सधैँ केन्द्रीय कार्यसमिति बस्ने वातावरण पनि हुँदैन,’ उनले भने, ‘मैले पार्टी सभापतिज्यूलाई कार्यसमिति गठनका लागि आग्रह गरेको छु । सभापतिज्यू पनि यस कुरामा एकदमै सकरात्मक हुनुहुन्छ । आगामी केन्द्रीय कार्यसमिति बैठकबाट कार्यसमिति गठन हुन्छ ।’

कार्यसमिति गठनपछि राष्ट्रिय विषयहरुमा नेताहरुको समान धारणा आउने नेता थापाले दाबी गरे । ‘कार्यसमितिमा २५, २६ जना रहन्छौँ । कार्यसमितिमा सबै सिनियर नेताहरु रहन्छ नै । त्यसैले पनि आगामी दिनमा काँग्रेसले राष्ट्रिय विषयमा आफ्नो स्पष्ट धारणा तय गर्छ,’ उनको भनाइ थियो । काँग्रेसमा लामो समयदेखि कार्यसमिति बन्न सकेको छैन ।

देउवाले यसकारण फेरे बोली

तर यस विषयमा काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको बुझाइ फरक छ । नेताहरुले घटनाको तत्कालीन अवस्था हेरेर धारणा दिने भएकाले घटना परिपक्व हुँदै जाँदा करेक्सन हुनु स्वाभाविक भएको उनले जिकिर गरे ।

‘पछिल्ला दिनमा पार्टी सभापति र प्रवक्ताको भनाइ बाझिँदै भएको भनेर हाउगुजी बनाइएको छ, त्यो होइन । पार्टी प्रवक्ताले एउटा कोणबाट कतिपय कुरामा पार्टीको धारणा राख्नहुन्छ,’ प्रमुख सचेतक खाँणले भने, ‘पछि स्वयं उहाँ आफैले जहिले पनि करेक्सन गर्नुभएको छ । पार्टीले पनि त्यसलाई परिस्कृत पारेको छ ।’

कुनै पनि घटनाका बारेमा पत्रकारहरुले तत्कालै प्रतिक्रिया खोज्ने भएकाले पनि घटना परिपक्व नहुँदै नेताहरुले धारणा दिनुपर्दा केही समस्या हुने गरेको उनले बताए ।

‘केहिलेकहीँ पत्रकार साथीहरुले तत्काल केही कुराको प्रतिक्रिया माग्नुभयो वा पार्टीको धारणा माग्नुहुन्छ । आजको अवस्था जस्तो छ, त्यस्तै धारणा दिने हो । तर राजनीति यति गतिशील र चलायमान छ भोलिका दिनमा परिस्थिति त्योभन्दा भिन्न भइसकेको हुन्छ । पछि बोल्दा त्यसमा अलिकति परिस्कृत भएको हुनसक्छ,’ प्रमुख सचेतक खाँणको बताउँछन् ।

सभापति देउवा निकट मानिने प्रमुख सचेतक खाँणले सभापति देउवा बोलीबारे  बचाउ गरे ।

‘सरकारसँग सीके राउतले संवाद गर्नु र आफ्ना पुराना धारणालाई त्यागेर नेपालको सार्वभौम सत्ता, सर्वभौमिकता, अखण्डता र राष्ट्रिय एकतालाई आत्मसात गर्छु भन्नु सकारात्मक नै हो, त्यही कुरा नेताहरुले भन्नुभयो, त्यही कुरा प्रवक्ताले भन्नुभयो,’ उनले भने ‘तर भोलिपल्ट उहाँ (सीके राउत) जनकपुर जाँदा जस्ता खालका नारा लागे, उस्तै खालका गतिविधि भए । जनमत सङ्ग्र्रहको कुरा उठाउनुभयो । सरकार र सीके राउतबीच कुरा बाझियो । त्यसपछि त फकर धारणा आउने नै भयो नि ?’

प्रमुख सचेतक खाँणले सरकार र सीके राउतबीचको गोप्य सम्झौताको पर्दा खुल्दै जाँदा आफूहरुले धारणा च्याज गर्नु परेको दाबी गरे ।

‘सरकारले जनअभिमत भनेको चुनाव हो भन्यो । सीके राउत समूहले जनअभिमत भनेको जनमत सङ्ग्रह हो भन्यो । मुलुकलाई खण्डित गर्ने र मुलुकभित्र अर्को मुलुक बनाउने जनमत सङ्ग्रह काँग्रेसका लागि मान्य हुनै सक्दैन,’ उनले भने, ‘उहाँहरुले त्यस्ता मुद्दा उचाल्दा पार्टी प्रवक्ताले पनि आफ्नो धारणा करेक्सन गर्नुभयो । नेताहरुले पनि त्यहीअनुसारको धारणा राखे, कसरी बोली फेरेको हुन्छ ? घटनाले पूरै अर्कै मोड लियो ।’

पार्टी र संसदीय दलबीच समन्वय

काँग्रेसमा पार्टी र संसदीय दलबीच समन्वय हुन नसेको गुनासो आए पनि उनले स्वीकार गरेन् ।

‘नेपाली काँग्रेस संसदीय दलले गरेका निर्णय हामीले पार्टीमा पठाइदिन्छौँ । पार्टीले गरेका निर्णयहरु वा प्रवक्ताले बोलेका धारणाहरु संसदीय दलमा ल्याएर त्यसकै आधारमा फलोअप पनि गरिराखेका हुन्छौँ,’ प्रमुख सचेतक खाँणले भने ।

अधिकांश केन्द्रीय सदस्यहरु नै सांसद भएकाले पनि पार्टी र संसदीय दल समदूरीमा काम गरिरहेको उनले बताए ।

‘पार्टीका अधिकांश केन्द्रीय सदस्यहरु माननीय हुनुहुन्छ । अन्य माननीयहरु पनि पार्टीको विभिन्न जिम्मेवारीमा हुनुहुन्छ । त्यसैले पनि पार्टीले उठाएका अधिकांश मुद्दामा बल पुग्ने काम गरेका छौँ,’ उनले भने, ‘कतिपय मुद्दाको सन्दर्भमा पार्टीले भन्दा पहिला संसदमा हामीले उठाएका हुन्छौँ । त्यो कुरालाई पार्टीले पनि सहजतापूर्वक लिन्छ । हामीले खास गरेर संसदभित्र उठेका कुराका विषयमा आफ्नो धारण दिइराखेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप