शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनाको बीचमा काँग्रेसमा ३१ हजार नवप्रवेशी, अब कसरी अघि बढ्छ काँग्रेस ?

बिहीबार, ३० जेठ २०७६, १३ : ३७
बिहीबार, ३० जेठ २०७६

काठमाडौँ– काँग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गर्नु अघि नै संघीय संरचना अनुसार आफ्ना पार्टी संरचना बनाउने भएको छ । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार पार्टी कार्यालयमा जागरण अभियानबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । 

त्यस्तै अधिवेशन हुन नसकेका भातृ संस्थाहरुलाई दोस्रो चरणको अभियान अघिनै मनोनय गर्ने जनाएको छ । नेविसंघ लगायतका भातृ संस्थाको अधिवेशन हुन सकेको छैन । 

काँग्रेसले दोस्रो चरणको जागरण अभियान आगामी भदौ २४ देखि सुरु गर्ने यसअघि नै घोषणा गरिसकेको छ । 

यसैबीच प्रथम चरणको एक महिने“हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान” मा देशभरबाट ३१ हजार ६ सय ४२ जना पार्टी प्रवेश गरेको काँग्रेसले जनाएको छ ।
प्रवक्ता शर्माले त्यस क्रममा सत्तारुढ पार्टी एवं अन्य पार्टीहरुबाट काँग्रेसमा सो संख्यामा प्रवेश बताए ।

काँग्रेस प्रवेश गर्नेमा साधारण सदस्यतादेखि जिल्ला र गाउँ नगरमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका व्यक्तित्वहरु समेत रहेको काँग्रेसले जनाएको छ । 

नवप्रववेशीलाई पार्टीले आवश्यक प्रशिक्षणपछि उपयुक्त जिम्मेवारी प्रदान गर्ने जनाएको छ । 

काँग्रेसको प्रथम चरणको उक्त अभियान वैशाख २५ मा सुरु भएर जेठ २५ गते मा सम्पन्न भएको थियो । दोस्रो चरणको अभियान भने असोज ७ गतेसम्म चल्नेछ । 

महिना दिनमा दुई हजार बढी कार्यक्रम

जागरण अभियानको प्रथम चरणको एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगर स्तरीय कार्यक्रमहरु सँगै अन्य विषयगत महत्वपूर्ण भेला र कार्यक्रमहरु तथा कतिपय ठाउँमा वडा स्तरीय कार्यक्रमसमेत गरी समग्रमा २ हजार भन्दा बढी कार्यक्रम आयोजना गरिएको काँग्रेसले जनाएको छ । 

प्रवक्ता शर्माका अनुसार अभियान क्रममा बैठक, भेला, आन्तरिक सभाहरु, खुला सभा, र्याली, विचार–वहस लगायत कार्यक्रम सम्पन्न भएका छन् । 

कार्यक्रमहरुमा पार्टीका विभिन्न तहका नेता, शुभचिन्तक, वुद्धिजीवी, व्यवसायी र कार्यक्रमको स्वरुप बमोजिम विविध र व्यापक सहभागिता रहेको काँग्रेसले जनाएको छ । 

अभियानलाई व्यवस्थित बनाउन ७७ जिल्लामा पार्टीको केन्द्रीय प्रतिनिधि, जिल्ला, क्षेत्र र गाउँ नगरले

आवश्यकता अनुसार खटाएका प्रतिनिधि समेत गरी सयौँ प्रतिनिधिहरु विभिन्न तहसम्म पुगेर भूमिका निर्वाह गरेका थिए । 

काँग्रेसले अभियानअन्र्तगत गाउँ–गाउँमा पुग्दा काँग्रेसप्रति जनताको आकर्षण र सरकारप्रति असन्तुष्टि देखिएको दावी गरेको छ । 

‘वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिहरुले सरकारप्रति तीव्र बढाएको असन्तुष्टी जागरण अभियानका क्रममा देशव्यापी रुपमा प्रकट भएको छ । फेरी पनि नेपाली कांग्रेसले आफूलाई नविन ढंगले अघि बढाएर संविधान, संघीयता र सिंगो लोकतन्त्रको रक्षा एवं सम्वद्र्धनको भूमिका निर्वाह गर्नु पर्ने आम अपेक्षा देखिएको छ । सोही आशा र विश्वासको भावनाका साथ नेपाली कांग्रेसमा समाहित हुन चाहने आकांक्षा जागरण अभियान क्रममा देशव्यापी देखिएको छ’ प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

कमजोरी आत्मासात गर्दै अघि बढ्ने 

जागरण अभियानका क्रममा पार्टीलाई घरेलु जीवन र राष्ट्रिय राजनीतिको भूमिकाका सन्दर्भमा महत्वपूर्ण सुझावहरु प्राप्त भएका जनाएको छ । सुदृढ र नविन बढाउँदै अघि बढ्न जागरण अभियान क्रममा नेता– कार्यकर्ताबाट औल्याइएका कमजोरीहरु आत्मसात गर्दै, तिनलाई क्रमशः निराकरण गर्दै अघि बढ्ने काँग्रेसको भनाई छ । 

मेरो रगत कसैको जीवन

जागरण अभियानसँगै जिल्ला सम्पर्क समितिहरुको संयोजनमा काठमाडौँमा मासिक रुपमा नियमित ‘मेरो रगत कसैको जीवन’ रक्तदान कार्यक्रम प्रारम्भ गरेको जनाएको छ । 

जेठ २३ मा प्रथम रक्तदानमा ७३ पिण्ट रक्तदानसँगै ‘काठमाडौँका अस्पतालहरुमा रगतको अभाव हुन नदिने’ घोषणा गरेको छ । असारको  अन्तिम शनिबार दोस्रो रक्तदान आयोजित हुनेछ । 

दोस्रो चरणअघि के–के गर्दैछ काँग्रेस ? 

काँग्रेसले ‘राष्ट्रिय जागरण अभियान’ को दोस्रो चरण पूर्वघोषणा अनुरुप भदौ २४ गते (विपी जयन्तीका दिन) सुरु गरी असोज ७ गतेसम्म चलाउने छ  । दोस्रो चरण प्रवेश पूर्व केही महत्वपूर्ण सांगठनिक अभिभारा सम्पादन गर्ने घोषणा पनि गरेको छ ।

 त्यस क्रममा प्रथम चरणका लागि जिल्लाहरुमा जिम्मेवारी लिएर आएका केन्द्रीय प्रतिनिधिहरुलाई असार १४ गते भित्र आफ्नो लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ । पार्टी नेतृत्व र केन्द्रीय प्रतिनिधिहरु बीच यसक्रममा विशेष विर्मश केन्द्रीय कार्यालयले आयोजना गर्नेछ । 

–जागरण अभियानको प्रथम चरणको समीक्षा, अन्य आवश्यक सन्दर्भ र समसामयिक मुद्दा केन्द्रीत रहेर नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक असार तेस्रो सातामा बस्नेछ ।
 
–जागरण अभियानको दोस्रो चरण प्रवेश पूर्व नै नेपालको संविधान र नेपाली कँंग्रेसको संशोधित विधान बमोजिमको सम्पूर्ण संरचनाहरु निर्माण गरिनेछ । 
–नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरु बारे आवश्यक निर्णय यथाशीघ्र लिइनेछ । 

प्रतिष्ठान अन्तर्गत प्रशिक्षण
नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको नेतृत्वमा विभिन्न तहमा प्रशिक्षणका कार्यक्रमहरु जागरण अभियानको दोस्रो चरण पूर्व आयोजना गर्नेछ । 

क)    नेपाली काँग्रेसको उम्मेदवार भएर विजयी देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, संगठन र समृद्धि’ केन्द्रीत प्रशिक्षण साउन महिनाको प्रथम साता काठमाडौँमा आयोजना गरिनेछ । 

ख)     सात प्रदेशका जिल्लाहरुलाई १४ फरक समूह बनाई १४ स्थानमा प्रशिक्षण आयोजना गर्ने प्रतिष्ठानको पूर्व निर्णय बमोजिम साउन प्रथम साता नै प्रदेश १ को धनकुटा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण आयोजना गरिनेछन् । 

ग)    नेपाली जनसम्पर्क समितिहरुका लागि जुन २१—२३ मा डेनमार्कमा आयोजना गरिने प्रशिक्षणमा ३३ देशका नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिहरुको सहभागिता रहनेछ । 

आन्तरिक संगठनात्मक विषयवस्तुहरुमाथि प्रशिक्षणका अलावा विश्वस्तरीय सो कार्यक्रममा नेपालको समृद्धिमा नेपाली डायस्पोराको भूमिका, विश्वमा बढ्दो तापक्रम र नेपाल प्रभाव,विश्वको बदलिदो राजनीति, दक्षिण एशिया र नेपाल तथा समाजवादको युरोप अनुभवको आलोकमा नेपाल जस्ता महत्वपूर्ण विषयहरुमा विषगत अन्तर्क्रिया हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप