सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियो समाचार : यात्रुको भेषमा ट्राफिक प्रमुख, सरकारलाई उखु किसानको अल्टिमेटम

बिहीबार, १७ पुस २०७६, १८ : ५४
बिहीबार, १७ पुस २०७६

उखु किसानको अल्टिमेटम

आन्दोलनरत उखु किसानहरुले सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएका छन् । 

सरकारले बुधबार उखु किसानहरुसँग माघ पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता जनाएको थियो । 

तर किसानहरुले पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत रकम भूक्तानी दिने सरकारको प्रतिवद्धता लिखित रुपमा आउनुपर्ने माग गर्दै आन्दोलन यथावत रहने बताएका छन् ।

 यसअघि सरकार पक्ष र किसान पक्षबीच बारम्बार सम्झौता भएपनि कार्यान्वयनमा नआएको भन्दै उनीहरुले लिखित प्रतिवद्धता माग गरेका हुन् । किसानहरुले माघ ७ गतेभित्र सम्पूर्ण रकम भूक्तानी नभए देशव्यापी आन्दोलन गर्ने घोषणा समेत गरेका छन् ।

बुधबार उद्योगमन्त्रालयमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल, उद्योगमन्त्री लेखराज भट्ट र कृषिमन्त्री घनश्याम भुसालले किसानहरुलाई बोलाएर माघ ७ गतेभित्र सबै रकम भूक्तानी गर्ने आश्वासन दिएका थिए । 
अन्नपूर्ण मिलले ५० करोड  र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको किसानहरुले बताउँदै आएका छन् । संसदीय समितिको निर्देशनपछि गृहमन्त्रालयले उनीहरुलाई पक्राउ गर्ने तयारी गरेपछि दुबै मिलका सञ्चालक सम्पर्कमा आएका थिए ।

सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उखु खरिद गरी चिनी उत्पादन गर्ने र चिनी अयात गरी व्यापार गर्नेहरु एउटै हुँदा समस्या आएको बताएका छन् । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले चिनी उत्पादक र व्यापारीको एउटै नाम आएको बताउँदै उनीहरुले नै चिनीको कृत्रिम अभाव र कालोबजारी गर्ने तथा उखु किसानहरुलाई भुक्तानी नगरेको बताए । 

उनले उखु किसानको समस्या क्रोनिक जस्तो बनेको बताउँदै यो समस्या हरेक वर्ष उठ्ने गरेको बताए । 

उनले किसानले उखुको भुक्तानी मात्र नपाउने नभई उद्योगीहरुले सरकारले किसानलाई उपलब्ध गराएको अनुदान समेत नदिने गरेको बताए । 

 भुक्तानी नदिनेहरुलाई सम्बन्धित मन्त्रालयले कडा कदम चालेको बताउँदै मन्त्री बाँस्कोटाले गृह मन्त्रालयले समेत समातेर क्षतिपूर्ति दिलाउने कामका लागि पहल गरिरहेको जानकारी दिए । 

उनले किसानलाई सरकारले दिने अनुदान पठाउने माध्यम ठिक नभएको बताउँदै किसानको हातमा सिधै जाने बाटोको खोजी गरिरहेको समेत जानकारी दिए । 

 अहिले उखु किसानलाई सरकारले दिने अनुदान सम्बन्धित चिनी मिल सञ्चालक मार्फत उपलब्ध गराउँदै आएको छ । तर उखु मिल सञ्चालकहरुले किसानलाई सरकारले अनुदान दिएको रकम सँगै उखुको भुक्तानी समेत समयमा नदिदा उखु किसानहरु आन्दोलित भएका छन् । सरकारले उखु किसानलाई प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने गरेको छ । 


राष्ट्रियसभा लेखराज भट्ट

यता, उद्योगमन्त्री लेखराज भट्टले किसानको भुक्तानी गर्न चिनि मिल सञ्चालकलाई निर्देशन भइसकेको भन्दै उखु किसानलाई फिर्ता जान अपील गरेका छन् । 

राष्ट्रियसभाको बिहीबारको बैठकमा समय मागेर बोल्दै सरकारका तर्फबाट उद्योगमन्त्री भट्टले उखु किसानका समस्या समाधान नभए किसानले बोलाएको ठाउँ र समयमा उपस्थित हुने प्रतिवद्धता व्यक्त गरे । उनले प्रर्दशनमा आएका सबै किसानलाई फिर्ता जान पनि आग्रह गरे । 

उनले यो वर्ष कुनै पनि अवस्थामा उखु किसानका सम्पूर्ण समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि जानकारी गराए । 

उनले अन्नपूर्ण सुगर एण्ड जनरल इन्जिनियरिङ र इन्दिरा सुगर एण्ड एग्रो प्रालि का सञ्चालक राकेश कुमार अग्रवाल मन्त्रालयको टेलिफिोन सम्पर्कमा आएको  तथा महालक्ष्मी सुगर मिल प्रालिले पुस २५ गते भित्र सबै उखु किसानको बाँकी बक्यौता भूक्तानी गर्ने लिखित प्रतिवद्धता गरेको जानकारी गराए । 

सूचना प्रविधि विधेयक

सरकारले सूचना प्रविधि विधेयकका विषयमा नकारात्क हल्ला बढी चलेको बताएको छ ।

सरकार प्रवक्ता बास्कोटाले कानुनमा भएका राम्रा कुराहरु लुकाएर भ्रम र नकारात्मक हल्ला बढी चलेको बताए । 

 बास्कोटाले कसैलाई जिस्काएमा, होच्याएमा, मान मर्दन गरेमा दण्ड जरिवना नहुने तर पटक पटक यस्तो कार्य गरेमा सजाय हुने स्पष्ट पारे ।  बास्कोटाले समितिमा भएको छलफलमा प्रतिपक्षी दलका ८ सुझाव सहित ३६ वटा संशोधन गरिएको उल्लेख गर्दै विधेयकको धारा ४९ को १ (ग) हेर्न अनुरोध समेत गरेका छन् । 

पत्रकार सम्मेलनमा बास्कोटाले सामाजिक सञ्जाल प्रयोगकर्ताले दर्ता गर्नुपर्ने नभइ सञ्चालन गर्ने कम्पनी दर्ता हुने प्रावधान राखिएको बताए ।  

यात्रुको भेषमा ट्राफिक प्रमुख ढकाल

ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले उपत्यकाको ट्राफिक क्षेत्रमा रहेको समस्या समाधानको पहल थालेका छन् । सोही क्रममा उनले बिहीबार यात्रुको भेषमा सार्वजनिक सवारीको अनुगमन गरेका छन् । 

अनुगमनका क्रममा ढकाल पुतलीसडकस्थित न्यूप्लाजाबाट सार्वजनिक बसमा बानेश्वरसम्म पुगे । यस्तै उनले केही ट्याक्सीमा समेत छड्के जाँच गर्दै ट्राफिक नियम पालनातर्फ सचेत गराएका थिए । 

अनुगमनका क्रममा ढकालले कयौं सवारीमा क्षमताभन्दा बढी यात्रु बोक्ने, लेन मिच्ने, सार्वजनिक यातायात फोहोर र आरक्षण सिटकोसमेत दुरुपयोग गर्ने जस्ता समस्या पाइएको बताए ।

राष्ट्रियसभा संकल्प प्रस्ताव

राष्ट्रियसभाले भारतसँगको सिमा विवाद सम्बन्धी विषयको संकल्प प्रस्ताव स्वीकृत गर्दै कार्यान्वय गर्न सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सर्वसम्मति स्वीकृत भएको संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका हुन् । 

संकल्प प्रस्तावका प्रस्तावक नेकपाका सांसद खिमलाल भट्टराईले तथ्य र प्रमाणका आधारमा ती भूभाग आफ्नो भनेर दाबी गरिएको भन्दैसुगौली सन्धिले तय गरेको नेपालको सिमा कायम गर्ने तर्फ पहल गर्नुपर्ने आवश्यकता औँल्याए । 

बीमा समिति 

कर्मचारीको संख्या कम हुँदा बीमा कम्पनीको नियमनमा समस्या हुने गरेको बीमा समितिले जनाएको छ । 

पछिल्लो समय नेपालमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा र्निजीवन बीमा कम्पनी र १ वटा पुर्नबीमा कम्पनी गरी कुल ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । संख्यात्मक रुपमा बढ्दै गएको बीमा कम्पनीहरु र तिनले बढाउँदै गएको व्यवसायलाई नियमन तथा सुपरिवेक्षण गर्न अहिले बीमा समितिसँग भएको कर्मचारीको संख्या पर्याप्त छैन । बीमा समितिसँग अहिले ७५ जना कर्मचारी रहेको बीमा समितिका

अध्यक्ष चिरन्जीबी चापागाईंले बताए ।  यसरी हेर्दा एक बीमा कम्पनीलाई नियमन तथा सुरिवेक्षण गर्न समितिसँग २ जना कर्मचारी पनि छैनन् । 

हरिवंश आचार्य

वरिष्ठ हाँस्यकलाकार हरिबंश आचार्यले नेपालमा कलाकारिताबाट नाम र दाम कमाउन सकिने वातावरण बनिसकेको बताएका छन् । 

बृहस्पति विद्यासदनको वार्षिक नाटक मञ्चन कार्यक्रममा आचार्यले नाटकबाट कला, संस्कृतिका बारेमा सिक्न सकिने र नेपालमा कलाकारिता गरेर नै बाँच्ने आधार तय भएको बताएका हुन् । 

राष्ट्रिय पोशाक 

‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित बिहीबार देशैभर राष्ट्रिय पोशाक दिवस मनाइएको छ । 

राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले काठमाडौंको माइतीघरमा सद्भाव ¥याली निकाली दिवस मनाएको हो । महाअभियानका संयोजक राजानन्द माण्डब्यले नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुटनुपरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप