आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

द्रुतगतिमा सडक बनाउन निर्देशन

शनिबार, २६ पुस २०७६, २१ : २६
शनिबार, २६ पुस २०७६

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले राँके–रबी–भेडेटार सडक निर्माण कार्य द्रूतगतिमा बनाउन सम्बन्धीत निर्माण कम्पनी तथा सरकारी अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

पूर्वी पहाडी जिल्लाको विशेष चासोको रुपमा रहेको यो सडक निर्माणको कार्य एकदमै सुस्त भएको पाइएपछि स्थलगत निरीक्षणमा पुग्नुभएका मन्त्री नेम्वाङले निर्माण कार्य तत्काल द्रूतगतिमा अघि बढाउन निर्देशन दिनुभएको हो । 

“यहाँका नागरिकको जीवनसँग जोडिएको यो सडक निर्माणको कार्य सुस्त भएको जनगुनासाका आधारमा स्थलगत निरीक्षणमा आउनुपरेको हो”, पाँचथर र धनकुटाको सीमावर्ती छ नम्बर बुधारे बजारमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “पहिला यहाँ फिल्डमा के भएको छ भनेर हेर्न आएका हौँ । काठमाण्डौँ पुगेपछि उचित निर्णय लिनेछौँ ।”

“ठ्याक्कै एक वर्षअघि प्रधानमन्त्री ज्यूले यो सडकको शिलान्यास गर्नुभएकाले उहाँको समेत यसमा धेरै चासो छ”, उहाँले भन्नुभयो, “सडक निर्माणको ठूलो रकम भारतीय सरकारको ऋण सहयोग रहेकाले भारत पक्षसँग पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको छ ।” मेची र कोशी जोड्ने यो सडकको प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष सक्रियतामा कालोपत्रको ठेक्का लागेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सस्तो ऋण सहयोगअन्तर्गत यो सडक निर्माण गर्ने समझदारी भएको थियो । गत वर्षको पुस २० गते प्रधानमन्त्री ओलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रबीमा यो सडकको शिलान्यास गर्नुभएको थियो । १०१ किलोमिटर लामो यो सडकले पाँचथर, इलाम र धनकुटा जिल्लालाई जोड्दछ ।

यस सडकबाट यी जिल्लाका अतिरिक्त मोरङ, ताप्लेजुङ र तेह्रथमुका नागरिकले समेत प्रत्यक्ष लाभ लिन सक्दछन् । यति लामो सडकखण्डमा एउटा पनि पुल निर्माण गर्नु नपर्ने राँके–रबी–भेडेटार सडक आयोजनाका प्रमुख राजेन्द्र शाहले जानकारी दिनुभयो ।

तीन वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने सडकको पूर्ण ट्र्याक खोल्ने कामले नै अपेक्षाकृत गति लिन नसकेको आयोजना उहाँको भनाइ छ । पछिल्लो पटक निर्माणले केही गति लिएपनि निर्धारित समयमा पूरा गर्न ‘चमत्कारिक’ काम गर्नुपर्ने आवश्यकता देखिएको उहाँले बताउनुभयो । 

सात मिटर चौडा बाटोले यहाँका धेरै व्यापारिक केन्द्र र ठूलो परिमाणमा कृषि उपज उत्पादन हुने क्षेत्रलाई जोड्नेछ । २०४६ सालपछि सडकको ट्र्याक खोलिएपनि स्तरोन्नति र कालोपत्र हुन सकेको थिएन् । भारतको आयात–निर्यात (एक्जिम) बैङ्कको रु तीन अर्ब ६५ करोडको ऋण सहयोगमा यो सडक निर्माण हुन लागेको हो । यस आयोजनामा ८७ प्रतिशत लगानी भारतीय सरकारको ऋण सहयोग र बाँकी १३ प्रतिशत नेपाल सरकारको छ । सडक निर्माणको जिम्मा भारतीय कम्पनी एप्कोले पाएको छ । 
भारतीय निर्माण कम्पनीका आधिकारिक पदाधिकारीसँग काठमाण्डौँमा छलफल गरी उचित रणनीति तय गर्ने निश्कर्ष सहित मन्त्रालयको टोली आज काठमाडौँ फर्किएको आयोजना प्रमुख शाहले वताउनुभयो ।

सडक अनुगमनपूर्व शुक्रवार बिहान मन्त्री नेम्वाङले पाँचथर–इलाम सीमावर्ती राँके बजारमा पाँचथर र इलामका सुरक्षा निकायका प्रमुखसहितको बैठक राख्नुभएको थियो । बैठकमा निर्माण कम्पनीका प्रतिनिधि, राँके–रबी–भेडेटार सडक आयोजनाका प्रतिनिधि तथा प्राविधिकहरुले सडक निर्माणको प्रगतिबारे उहाँलाई जानकारी गराउनुभएको थियो । 

राँके–रबी–भेडेटार सडक आयोजनाका प्रमुख राजेन्द्र शाहका अनुसार १८ महिनामा सडक निर्माणमा २५ प्रतिशत प्रगति हुनुपर्ने थियो । “तेह्रौँ महिनासम्ममा कूल भौतिक प्रगति ४ प्रतिशत मात्रै छ । यसरी यो सडक निर्धारित समयमा पूरा हुन नसक्ने कुरा हामीले जानकारी गराएका छौँ”, बैठकपछि शाहले रासससँग भन्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की, सडक विभागका महानिर्देशक केशवकुमार शर्मासहित मन्त्री नेम्वाङ यो सडकको स्थलगत निरीक्षणमा आइपुग्नु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप