आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

तुइन विस्थापन गर्न नसकिएको भए  सूचना उपलब्ध गराउनु : मन्त्री फुयाँल

बिहीबार, ११ भदौ २०७७, १५ : ०७
बिहीबार, ११ भदौ २०७७

वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशभित्र झोलङ्गे पुल नबनेर तुइन विस्थापन गर्न नसकिएको भए तत्काल मन्त्रालयमा सूचना उपलब्ध गराउन अनुरोध गरेका छन् । मन्त्री फुयाँलले आज कुरा गर्दै अत्यावश्यकीय क्षेत्रका स्थानीय तहमार्फत झोलुङ्गे पुलको माग गरेर प्रदेशको भौतिक मन्त्रालयमा पठाएमा तुइन विस्थापन गरी पुल निर्माण प्रक्रिया अगाडि बढाइने बताए ।

“यही भदौ मसान्तभित्र सूचना उपलब्ध गराइदिनुहुन स्थानीय तह तथा जनसमुदायसमेतलाई सविनय अनुरोध छ”, मन्त्री फुयाँलले भने । उनले यसरी प्राप्त हुने मागपत्रमध्ये अध्ययनमार्फत प्राविधिकरुपमा सम्भव  र  जनताका लागि आवश्यक भनी देखिएमा चरणबद्ध सम्बोधन गरिने स्पष्ट गरे । उनले मन्त्रालयले देशका तीनै तहका सरकारको सहभागिता र जनसहभागितासमेतमा काम सम्पन्न गर्ने बताए ।

मन्त्री फुयाँलले कुराकानीमा कृषि उत्पादन बढाउनका लागि महत्वपूर्ण भूमिका रहने पुराना राजकुलो संरक्षणका लागि मन्त्रालयले काम गरिरहेको बताए । उनका अनुसार संरक्षणको सूचीमा मकवानपुरको थाहा–९ मा रहेको राजकुलोसहित प्रदेशका आठ जिल्लाका २३  राजकुलो संरक्षणको सूचीमा छन् । नेपालमा लिच्छविकालदेखि कृषि उत्पादन बढाउन योगदान दिएका राजकुलोलाई मन्त्रालयले सम्पदाका रुपमा सूचीकृत गरेको छ । 

मन्त्री फुयाँलले आर्थिक वर्ष २०७७/७८ मा मूर्त सम्पदाका रुपमा रहेका ती राजकुलोलाई सम्पदाका रुपमा पुुनःनिर्माण गरेर संरक्षणको अभियान थालिने जानकारी दिए । मन्त्री फुुयाँलले वाग्मती प्रदेश सरकारले आव २०७४/७५ को नीति तथा कार्यक्रममा विसं २०८५ वैशाख १ गतेभित्र सवारीसाधनको वर्तमान पेट्रोलियम प्रणाली विस्थापित गर्ने नीति लिएको स्मरण गराउँदै  सो कार्यका लागि निकट भविष्यमै विद्युतीय सार्वजनिक बस तथा त्यसको चार्जिङ स्टेशन र बस सञ्चालनको संयन्त्र बनाइने जानकारी दिए । मन्त्री फुयाँलले बस खरीद शुरु गर्नु अगाडि मूूल्यसूची माग गर्दै सूचना जारी गरिसकिएको जानकारीसमेत दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप