शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्व उत्साहजनक रुपमा उठ्न थाल्यो, पुसमा साढे ५४ अर्ब रुपैयाँ उठाउने लक्ष्य

बिहीबार, ०२ पुस २०७७, १३ : १०
बिहीबार, ०२ पुस २०७७

कोरोनाभाइरस (कोभिड–१९) को माहामारीका कारण प्रभावित बनेको राजस्व संकलन मंसिरबाट उत्साहजनक रुपले उठ्न थालेको छ । मंसिरमा मात्रै २२ अर्ब ८७ करोड ३८ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो लक्ष्यको १०३.३ प्रतिशत हो ।  मंसिरमा २२ अर्ब १३ करोड  ३२ लाख ७१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएको थियो । 

 आन्तरिक राजश्व विभागको तथ्यांकअनुसार मंसिरमा ६ अर्ब ७८ करोड रुपैयाँ आयकर उठेको छ । मंसिरमा आयकरतर्फ ६ अर्ब ५७ करोड उठाउने लक्ष्य लिइएको थियो । यस्तै मूल्य अभिवृद्धि कर (भ्याट) लक्ष्यको १२४ प्रतिशत उठेको छ । मूल्य अभिवृद्धि कर ६ अर्ब ९२ करोड उठाउने लक्ष्य रहेकोमा ८ अर्ब ६१ करोड रुपैयाँ उठेको आन्तरिक राजस्व विभागका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिए । यस्तै अन्तशुल्कमा ७ अर्ब ३३ करोडको लक्ष्य रहेकोमा ६ अर्ब ४७ करोड रुपैयाँ मात्र उठेको छ । 

 साउन देखि मंसिरसम्म (५ महिनामा) आन्तरिक राजस्व लक्ष्यको ९६.९८ प्रतिशत उठेको छ । मंसिरसम्म १ खर्ब ३३ अर्ब  ४३ करोड १६ लाख ९४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य हो । तर यस अवधिमा १ खर्ब २९ अर्ब ४० करोड  ६९ लाख ९२ हजार राजस्व संकलन भएको छ ।  

पाँच महिनामा आयकर ३९ अर्ब ५७ करोड उठेको छ । आयकरको लक्ष्य  ३९ अर्ब २३ करोड रुपैयाँ थियो । भ्याटतर्फ ४२ अर्ब ९० करोडको लक्ष्य रहेकोमा ४५ अर्ब ७ करोड रुपैयाँ उठेको ढकालले बताए । यस्तै पाँच महिनामा अन्तशुल्कतर्फ ३० अर्ब ३० करोडको लक्ष्य रहेकोमा ३० अर्ब ९६ करोड रुपैयाँ उठेको छ । 

 कोरोनाको कारण राजस्व संकलनको लक्ष्य नै न्युन भएकाले बढी राजस्व संकलन भएको देखिएको ढकालले बताए । ढकालले भने, ‘कोरोनाका कारण केही सामान किन्न नपाएको र अहिले खरिद बढेकोले राजस्व बृद्धि भएको हुनसक्छ । अर्को कारण सूचना प्रविधिको विकास र कर तिर्न कर कार्यालयसम्म धाउन नपर्ने भएकाले बैंकबाटै अथवा घरबाटै तिर्न सक्ने सुविधाका कारण पनि राजस्व संकलन बढेको हो ।’ पछिल्लो समय आर्थिक गतिविधि समेत बढ्दै गएको छ ।  प्रायजसो क्षेत्रहरु पुरानै अवस्थामा काममा फर्किएका छन् । 

पुस सबैभन्दा बढी आयकर उठ्ने समय
आयकरमा सबैभन्दा बढी राजस्व उठ्ने समय भनेको पुस, चैत र असार हो । आयकर किस्ताबन्दीमा तिरिन्छ । पुसमा ४० प्रतिशत, चैतमा ३० प्रतिशत र असारमा बाँकी ३० प्रतिशत आयकर बुझाउनुपर्ने प्रावधान छ । यसकारण पनि पुसमा सबैभन्दा बढी आयकर उठ्ने गरेको छ । 

विभागले पुसमा मात्रै ५४ अर्ब ४६ करोड उठाउने लक्ष्य लिएको छ । सम्पूर्ण राजस्वको १६ प्रतिशत यही पुसमा संकलन हुने गरेको विभाजले जनाएको छ । पुसमा सम्पूर्ण आन्तरिक राजस्वको लक्ष्य ७२ अर्ब रहेको विभागले जनाएको छ । भ्याट भने सबैभन्दा बढी उठ्ने समय भनेको असार र साउन महिना हो । 

यता सरकारको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकलाई आधार मान्ने हो भने पाँच महिनामा ३ खर्ब १ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो कर र गैरकर दुबै हो । 
सरकारको ढुकुटीमा कर, अनुदान, ऋण सहायत सबै गरी ३ खर्ब ३१ अर्ब ८२ करोड ५३ लाख रुपैयाँ पाँच महिनामा जम्मा भएको छ । सरकारको आम्दानी ३ खर्ब ३१ अर्ब ८२ करोड ५३ लाख रुपैयाँ हुँदा खर्च ३ खर्ब २८ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप