बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

​एटीएमबाट झिकियो ४ खर्ब ३ अर्ब, क्यूआर कोडमा क्रान्ति

सोमबार, ०९ चैत २०७७, १२ : ३३
सोमबार, ०९ चैत २०७७

पछिल्लो समय विद्युतीय कारोबार बढ्दै गएको छ । विद्युतीय भुक्तानी बढेसँगै नगदरहित कारोबार विस्तारै मौलाउन थालेको छ । तपाईं हामीले बोकर हिँड्ने एटीएमबाट मात्रै ४ खर्ब ३ अर्ब ५९ रुपैयाँ नगद झिकिएको छ । चालू आर्थिक वर्ष (२०७७/७८) को सात महिनामा एटीएमबाट सो रकम प्रयोगकर्ताहरुले झिकेका हुन् । माघ महिनामा मात्र ६० अर्ब रुपैयाँ  एटीएमबाट कारोबार भएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

एटीएमबाट मात्र होइन यस्तै पोइन्ट अफ सेल (पस) बाट पनि  १७ अर्ब ८८ करोड ६० लाख  भुक्तानी भएको छ । पीओएस मेसिनमा उपभोक्ताले आफ्नो एटीएम कार्ड स्वाइप गरेर भुक्तानी गर्छन् ।

एटीएम, वालेट, मोबाइल बैङ्किङ, पस, क्यूआरकोड, आरटीजीएस, ईसीसी, आईपीए, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैङ्किङ, ब्रान्चलेस बैङ्किङ र ई–कमर्समार्फत भएको सबै कारोबारलाई हेर्ने हो भने चालू आवमा २९ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ विद्युतीय कारोबार भएको छ  । आफ्ना सेवालाई प्रविधिमैत्री बनाउन र बैङ्कसम्म सेवाग्राहीको उपस्थिति कम गर्न डिजिटलाइजेसनतर्फ बैङ्कहरु गएका छन् ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने सरकारको नीतिअनुरूप नेपाल राष्ट्र बैङ्कले अहिले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । मोबाइल बैङ्किङमार्फत अहिले दैनिक २ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ । यसअघि यो सीमा १ लाख रुपैयाँसम्मको थियो । त्यस्तै इन्टरनेट बैङ्किङमार्फत हुने कारोबारको सीमा दैनिक २० लाख छ । यसअघि यस्तो कारोबारको सीमा १० लाख रुपैयाँ तोकिएको थियो ।

कोरोना महामारीका कारण बैङ्किङ प्रणालीमा विद्युतीय कारोबार बढ्दै गएको र सरकारको नीति पनि सोहीअनुसार भएकाले राष्ट्र बैङ्कले समयअनुसार कारोबार रकमको सीमा परिवर्तन गर्न सक्ने व्यवस्था मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षामा गरेको छ ।

क्यूआर कोडमा क्रान्ति

गर्भनर महाप्रसाद अधिकारीले एटीएम प्रयोगबापत प्रत्येक करोबारमा १० रुपैयाँसम्म रकम बाहिरिने अभिव्यक्ति दिँदै क्यूआर कोडको प्रवद्र्धन पनि गरिरहेका छन् । क्यूआर कोडमार्फत मात्रै एक महिनामा पौने २ अर्बको कारोबार भएको छ । माघ महिनामा १ अर्ब ७१ करोड रुपैयाँ बराबर क्यूआर कोडमार्फत भुक्तानी भएको हो । चालू आवको सात महिनामा भने सात अर्ब ३५ करोड ७० लाख रुपैयाँ क्यूआरकोडमार्फत भुक्तानी भएको हो ।

नेपाल राष्ट्र बैङ्कका सहायक प्रवक्ता नारायण पोखरेलले अन्य विद्युतीय डिभाइसको प्रचलन बढेसँगै एटीएमबाट एटीएम प्रयोग पनि कम हुँदै  जाने बताउँछन् ।

पहिला एटीएमबाट मात्र कारोबार गर्नेले अहिले क्यूआर कोडबाट पनि भुक्तानी गर्न थालेका छन् भने मोबाइल बैङ्किङ र इन्टरनेट बैङ्किङ पनि प्रयोग गर्दै आएका छन् । एटीएमबाट नगद झिक्नेभन्दा पनि क्यूआर कोडमार्फत चाहेको ठाउँमा भुक्तानी गर्ने बानी पार्न राष्ट्र बैङ्क क्यूआर कोडको प्रवद्र्धनमा समेत जुटेको छ ।

काठमाडौँका ठूलाठूला पसलदेखि सामान्य तरकारी पसलमा समेत क्यूआरकोडमार्फत भुक्तानी हुने गरेको छ । अब एटीएम बुथसम्म पुगेर रकम झिक्ने झन्झटबाट विस्तारै मुक्त गर्दैछ विद्युतीय भुक्तानीका विविध विकल्पले ।

यदि तपाईंसँग बैङ्क खाता र त्यसमा रकम छ भने स्मार्टफोन, मोबाइल बैङ्किङ एप र इन्टरनेटको सहायताले भुक्तानी गर्न सक्ने प्रविधि विकास भएको छ । अहिले मानिसहरु खल्तीमा होइन स्मार्टफोनमै पैसा बोकेर हिँडिरहेका हुन्छन् ।

स्रोत : राष्ट्र बैङ्क

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप