बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सङ्क्रमित सङ्ख्याका आधारमा अस्पताललाई बहिरङ्ग सेवा, आईसीयू र भेन्टिलेटरमा बिरामी बढे

सर्जिकल सेवा हाललाई स्थगित गर्न मन्त्रालयको निर्देशन
बुधबार, १५ वैशाख २०७८, ०८ : ०७
बुधबार, १५ वैशाख २०७८

कोरोना भाइरस कोभिड—१९ को दोस्रो लहरमा सङ्क्रमणको गति बढ्दै जाँदा गम्भीरखालका बिरामीको सङ्ख्या बढ्न थालेको छ । काठमाडौं उपत्यकामा स्वास्थ्यमा गम्भीर समस्या देखिएका बिरामीले अस्पताल भर्ना हुनका लागि आईसईयू बेडको अभाव देखिन थालेको छ । भेन्टिलेटरमा उपचाररत बिरामी निको भएपछि वा मृत्यु भएपछि मात्रै भेन्टिलेटरमा पालो पाउने अवस्था देखिएको छ ।

पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गरेकामध्ये एक तिहाइमा सङ्क्रमण पुष्टि भएको छ ।  गएको २४ घण्टामा ४ हजार ५२४ जना कोरोनाबाट सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयअनुसार मङ्गलबार आईसीयू तथा भेन्टिलेटरमा उपचारत सङ्क्रमितको सङ्ख्या देशभर ३९९ छ । २१५ जना आईसीयू र ८४ जना भेन्टिलेटरमा गरी ३९९ जना बिरामी उपचाररत छन् ।

दशभरका अस्पतालहरुमा भर्ना भएका कोरोना भाइरस कोभिड—१९ सङ्क्रमित बिरामीमध्ये आईसीयू र भेन्टिलेटरमा उपचाररतको आँकडा यस्तो छ ।

मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमितको सङ्ख्या तीव्र गतिमा बढ्दै गएपछि हाल भएका स्वास्थ्य पूर्वाधारले नधान्ने अवस्था सिर्जना हुन सक्ने बताएको छ ।

यस्तो अवस्थामा कोभिड—१९ का बिरामीको उपचारका लागि १५ देखि दुई सय बेड क्षमता भएका अस्पतालसँग सम्झौता गर्न मातहतका निकायलाई मन्त्रालयले निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर देशभर तीव्ररुपमा फैलिएसँगै सरकारी, निजी एवं सामुदायिक अस्पतालमा सङ्क्रमित बिरामीको उपचारका लागि सम्झौता गर्न प्रदेशका सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

यस्तै, सबै मेडिकल कलेज, अस्पतालहरू र २ सयभन्दा बढी बेड भएका अस्पतालहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्झौता गर्ने बताइएको छ । 

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा कोरोना सङ्क्रमित ४४ जना आईसीयूमा छन् भने भेन्टिलेटरमा ११० जना उपचारत छन् ।

१७ जिल्लामा २०० भन्दा बढी सङ्क्रमित भेटिए

कोरोना सङ्क्रमण काठमाडौं उपत्यकासहित तराई र पहाडमा केही जिल्लामा सङ्क्रमितको सङ्ख्या ५ सयमाथि नाघेको छ । हालसम्म १७ जिल्लामा २०० भन्दा माथि सङ्क्रमित पुष्टि भएको स्वास्थ्य  मन्त्रालयले जनाएको छ ।

त्यस्तै ५०० भन्दा माथि सङ्क्रमित रहेको सङ्ख्या १० पुगेको छ । सङ्क्रमण दर बढ्दै गएपछि सरकारले २०० भन्दा धेरै सङ्क्रमित भएका पहाडी जिल्ला र ५०० माथि सङ्क्रमित भएका तराईका जिल्लाहरुमा निषेधाज्ञा जारी गर्न सक्ने निर्णय यसअघि नै गरिसकेको छ । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्न निर्णय भएको छ भने बाँके लगायतका केही जिल्लाले निषेधाज्ञा गरिसकेका छन् ।

दुई सय र पाँच सय सङ्क्रमित पुगेका हिमाल, पहाड र तराईका जिल्लाहरूले निषेधाज्ञा गर्ने तयारी गरिरहेका छन् ।  ५ सय भन्दामाथि सङ्क्रमित जिल्लाहरुमा मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही पर्छन् ।

त्यस्तै दुई सय भन्दामाथि सक्रमित भएका सुनसरी, बारा, मकवानपुर, पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कन्चनपुर र कैलाली जिल्ला छन् । काठमाडौंपछि बाँकेमा धेरै सङ्क्रमित देखिएका छन् । त्यहाँ मङ्गलबार मात्रै ४ हजार ५ २४ मा कोरोना पुष्टि भएको छ ।

बिदामा बसेका कर्मचारीलाई तुरुन्त हाजिर हुन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र यसअघि लामो बिदामा बसेका कर्मचारीलाई तुरुन्त कार्यालयमा हाजिर गराउन अस्पतालहरुलाई निर्देशन दिएको सहप्रवक्ता डा. अधिकारीले बताए ।

उपलब्ध स्वास्थ्य शैय्या, जनशक्ति, कोभिड–१९ सङ्क्रमित बिरामीहरुको सङ्ख्या आदिका आधारमा अस्पतालले बहिरङ्ग सेवा, सर्जरीलगायतका सेवा हाललाई स्थगित गर्ने निर्णय पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिमध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप