शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अपराधको बदलिँदो ट्रेन्ड : हत्याका एक तिहाइ घटना परिवार र नातागोताबाटै

अधिकांश हत्याका घटनामा रिसइबी साँध्ने उद्देश्य, जघन्य अपराधमा युवापुस्ताको संलग्नता बढ्दो
शनिबार, १५ जेठ २०७८, ११ : ०१
शनिबार, १५ जेठ २०७८

गत जेठ ५ गते बिहानै मोरङको रंगेली नगरपालिकामा हत्या गरी फालिएको अवस्थामा एक महिलाको शव फेला पर्‍यो ​। प्रहरी तत्काल घटनास्थलमा पुगेर अनुसन्धानमा जुट्यो । उक्त शव रंगेली नगरपालिका३ की २४ वर्षीय अनिता यादवको रहेको पाइयो । शवको पहिचान खुलेसँगै हत्याको कारण र हत्याराको पहिचानमा प्रहरी अनुसन्धान केन्द्रित हुन थाल्यो ।

प्रहरीले अनिताका श्रीमान, सासुससुरा र देवरलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढायो । अन्ततः घटना भएको पाँच घण्टाभित्र प्रहरीले हत्यारा पहिचान गर्न सफलता पायो ।

अनिताको हत्या उनकै १९ वर्षीय देवर विनोद यादवबाट भएको खुल्यो । सामान्य घरायसी झगडालाई लिएर रिसइबी साँध्न विनोदले भाउजुको हत्या गरेको प्रहरीको निष्कर्ष थियो ।

विराटनगर महानगरपालिका१४ झडियारीमा बस्दै आएका ६९ वर्षीय सत्यराम भनिने सीताराम चौहानलाई उनकै दुई छोराले हत्या गरे । पैसा मागेको भनेर रक्सीले मातेको सुरमा फरुवाले हानेर बाबुको हत्या गरेपछि घरभित्रै खाल्डो खनेर शव गाडेका थिए ।

सुनसरीको इटहरी उपमहानगरपालिका स्थायी घर भइ विराटनगर महानगर, मधुमारामा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलालको आफ्नै श्रीमती मीना श्रेष्ठले जेठ २ गते राति योजना बनाएर घरभित्रै हत्या गराइन् ।

मिनाकै योजनामा सिराहाको लहान घर भइ विराटनगर बस्दै आएका २१ वर्षीय ब्रह्मदेव साह र सुनसरी इटहरीका २० वर्षीय सोनु साहले ओछयानमै देवीप्रसादको हत्या गरेका थिए ।

सोलुखुम्बु महाकुलुङ गाउँपालिका४ का १९ वर्षीय कुवेर राईलाई आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयमा भएको विवादलाई लिएर कुवेरले ५७ वर्षीय बाबु सन्तकुमार राईलाई आगो फुक्ने ढुङ्ग्रोले घाँटी र टाउकोमा हानेर हत्या गरेका थिए । घटनास्थलमै सन्तकुमारको मृत्यु भएको थियो ।

तेह्रथुममा पनि आफ्नै छोराबाट एक दम्पतीले ज्यान गुमाउनु परेको छ । घरायसी विवादका कारण तेह्रथुमको फेदाप गाउँपालिकाको ईसिबु बस्ने २० वर्षीय कञ्चन लिम्बुले ४२ वर्षीय बाबु रुपहादुर र ३५ वर्षीया आमा रुपेनी लिम्बुलाई बञ्चरो प्रहार गरी हत्या गरेका थिए ।

बुवा खेतमा काम गर्न गएको बेला घरभित्र रहेकी आमालाई कञ्चनले बञ्चरो प्रहार गरी हत्या गरेका थिए । आमाको हत्या गरी घरबाट बाहिर निस्कँदा अगाडि बुबालाई देखेपछि उनले फेरि त्यहीँ बञ्चरोले बुबालाई पनि काटेर हत्या गरी फरार भएका थिए । उनलाई केही समयभित्रै प्रहरीले पक्राउ गरेको थियो ।

प्रस्तुत कर्तब्य ज्यानका सबै घटनाका अभियुक्तहरु मृतककै परिवारका सदस्य पाइएको छ ।

हत्याका कतिपय घटनामा घरभित्रैको सदस्य संलग्न रहने गरेको पाइन्छ । केहीले प्रेम, केहीले तत्कालीन आवेग थेग्न नसक्दा त केहीले आर्थिक लेनदेनका कारण जघन्य अपराधको बाटो रोजेको देखिन्छ । यी सबै घटनामा संलग्न युवाको उमेर २८ वर्षभन्दा कम छ । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले निषेधाज्ञा जारी गरेको छ । तर पनि यस्ता अपराधका घटनामा कमी आउन सकेको छैन । निषेधाज्ञाका कारण मानिसहरु घरभित्रै सीमित रहने, कतिपयले रोजगारीका अवसर गुमाएका कारण पनि घरायसी सामान्य झगडाले उग्ररूप लिने गरेको र अपराधका घटना बढ्ने गरेको प्रहरीको भनाइ छ ।

प्रदेश १ प्रहरी कार्यालय बिराटनगरका अनुसार कोरोनाको महामारी रोकथाम र नियन्त्रणका लागि भन्दै सरकारले जारी गरेको निषेधाज्ञाको समयमा प्रदेशमा पाँच पुरुष र चार महिला गरी कुल ९ जनाको हत्या भएको छ । ती सबै घटना श्रीमान्/श्रीमती, दाजु/भाइ, बाबु/छोरी र देवर/भाउजुबीच भएका छन् । ती हत्यामा सलंग्न ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ती घटनामध्ये आफ्नै श्रीमानबाट तीन महिलाको हत्या भएको छ । त्यसैगरी दाईले भाइको र भाइले दाइको गरी हत्याका दुई घटना भएका छन् । आफ्नै बुबाबाट छोरा र छोराबाट एक बुबाको गरी दुईवटा घटना भएको छ भने आफ्नै देवरले भाउजुको हत्या गरेको घटना पनि यसबीचमा प्रकाशमा आएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले निषेधाज्ञाको अवधिमा पनि व्यक्ति हत्याको घटनामा कमी नआएको बताए । घर, परिवारभित्रका सदस्यमा सामान्य विषयमा हुने ठासठुसलाई लिएर  पछिसम्म रिसइबी साँध्ने कार्यले ब्यक्ति हत्याको घटना बढाइरहेको छ, श्रेष्ठले भने, ‘धेरै अपराधका घटनामा सोच्नै नसकिने अवस्थाका ब्यक्तिको संलग्नतामा बढोत्तरी भएका छन् ।

छोरीद्वारा आमाको हत्या, छोराबाट बुबाको हत्याजस्ता अस्वाभाविक र अकल्पनीय घटना पनि समाजमा बढिरहेको उनले बताए ।

यस्ता घटनामा परिवारको सदस्यबाटै रिसको आवेगलाई थाम्न नसकेर र कतिपय घटना आर्थिक लेनदेनसँग जोडिएर हुने गरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।

१० महिनामा आफन्तबाट हत्याका ५३ घटना

गत साउनदेखि वैशाखसम्म १० महिनाको अवधिमा आफन्तबाट प्रदेशमा ५३ जनाको हत्या भएको छ । ती घटनामा संलग्न ५३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको अभिलेख अनुसार यो अवधिमा भएका हत्याका घटनामध्ये अधिकांश श्रीमान र श्रीमतीबीच भएको छ । अर्थात् २८ वटा हत्याका घटना पतिपत्नीबीच भएको छ ।

त्यस्तै माइजु र भान्जाबीच एक, जेठाजु÷बुहारीबीच एक, बाबुछोराबीच ६ र बाबुछोराबीच एक हत्याका घटना भएका छन् ।

यो बीचका भएका हत्याका घटनामा चार जना शिशुलाई आमाले हत्या गरेको पाइएको छ भने एक नाबालकलाई ठुलीआमाले हत्या गरेकी छन् । यस्तै, दाजुबहिनी, आमाछोरा, आमाछोरी, ठुलोबुवा र भतिजबीच पनि हत्याका घटना भएका छन् ।

अपराधमा युवा

१ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरको तथ्याङ्क अनुसार पछिल्ला वर्ष अपराधमा युवाको संलग्नता डरलाग्दो देखिन्छ । आर्थिक वर्ष ०७६÷०७७ मा जघन्य प्रकृतिको अपराधमा युवा उमेर समूहको संलग्नता बढी छ । प्रहरीको अभिलेख अनुसार प्रदेशमा भएका ८ हजार ३१६ आपराधिक घटनामा १ हजार ६२३ जघन्य अपराधका घटना भएका छन् । तिनमा संलग्न १ हजार ४११ जना १६ देखि २५ वर्ष उमेर समूहका छन् ।

त्यसैगरी आर्थिक वर्ष ०७५÷०७६ को अभिलेखअनुसार १ नम्बर प्रदेशका १४ जिल्लामा ७ हजार ६९१ वटा आपराधिक घटनामध्ये जघन्य अपराधका ९९८ वटा घटना भएका छन् । प्रहरीले जघन्य अपराधमा संलग्न १ हजार २४ जना पुरुष तथा ५७ जना महिला गरी १ हजार ८१ जनालाई पक्राउ गरेको थियो । तीमध्ये ३२६ जना १६ देखि २५ वर्ष उमेर समूहका छन् । त्यस्तै २६ देखि ३५ वर्षसम्मका ४८७ जना, ३६ देखि ४५ वर्ष उमेरका १९० जना छन् भने ४६ देखि ६० वर्षका ७४ जना र ६० वर्षमाथिका १ जना छन् । यस्तै, १६ वर्ष मूनिका ३ जना रहेको देखिन्छ ।

प्रदेश नम्बर १ मा कर्तव्य ज्यान, जबर्जस्ती करणी, ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना तथा लागू औषधमा संलग्नमध्ये १६ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या बढी छ ।

किशोरकिशोरीलाई अभिभावकहरूले बेलैमा राम्रो निगरानीमा राख्न नसक्दा उनीहरू कुलतमा फसेर जघन्य अपराध गर्न पुग्ने प्रहरीको भनाइ छ ।

आर्थिक वर्ष ०७६÷०७७ मा प्रदेशमा कर्तव्य ज्यानका १३८ मुद्दामध्ये १०४ जना १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता पाइएको थियो । जबरजस्ती करणीमा पनि चालू आर्थिक वर्षमा १६० वटा मुद्दामध्ये ९२ वटा मुद्दामा युवा संलग्न छन् । यसैगरी ज्यान मार्ने उद्योगका ८४ वटा घटनामा ५५ जना युवा संलग्न पाइएको १ नम्बर प्रदेश प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

यसैगरी हातहतियार खरखजाना र लागूऔषध ओसारपसारमा पनि १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता बढी देखिएको छ ।

प्रहरीले ११ अपराधलाई जघन्य अपराधको सूचीमा राखेको छ, जसमा खुन डाँका, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, लागूऔषध, अपहरण, हातहतियार तथा खरखजाना, मानव बेचबिखन तथा ओसारपसार, जबरजस्ती करणी र विष्फोटक पदार्थ छन् । डाँकाचोरी बाहेक सबै किसिमका अपराध बढेको तथ्यांकले देखाउँछ ।

बेरोजगार व्यक्तिले आफू अनुकूल उपलब्धि प्राप्त नगरेपछि अपराधतर्फ उन्मुख हुने जानकारहरू बताउँछन् ।

महेन्द्र मोरङ क्याम्पस समाज शास्त्रका उपप्राध्यापक चन्द्र उपाध्याय सामाजिक विचलनका कारण युवापुस्तामा आपराधिक मनोवृत्ति बढ्दै गएको बताउँछन् । उपाध्यायका अनुसार किशोर उमेरका युवामा अचानक स्वभाव परिवर्तन भइ रिसाउने, झोक्किने, इन्टरनेटमा बढी झुम्मिने र अश्लील चलचित्र हेर्ने बानीले गलत बाटो अबलम्बन गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप