शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लघुकथा : तातो बहस

शनिबार, २६ असार २०७८, १५ : ५७
शनिबार, २६ असार २०७८

बाहिर झमझम पानी परेर वातावरण चिसिएको थियो। भित्र वडा अध्यक्षको बैठक कक्ष भने  गरमागरम बहसले तातिरहेको थियो। स्थानीय सरकारले आगामी आर्थिक वर्षको निम्ति घोषणा गरेको वार्षिक बजेटको बारेमा अध्यक्षसँग असन्तुष्टि पोख्दै थिए युवाहरू ।

दुईजना कार्यालय सहयोगीहरुले उपस्थित सबैलाई चिया, बिस्कुट वितरण गरे । अध्यक्षले सोधे, `` चियाको स्वाद कस्तो छ ?´´ कसैले चिनी बढी भएको, कसैले कम भएको, कसैले रङ कडा भएको अनि कसैले कम भएको टिप्पणी गरे । ``चियाको तातोपन कस्तो छ नि ?´´ सबैले तातोपन ठिक्क भएको प्रतिक्रिया जनाए। 

सबैका कुरा सुनिसकेपछि अध्यक्षले बजेट र चियाको स्वादबीच तुलना गर्दै भने , `` बजेट  र चिया उस्तै उस्तै हो, बुझ्नुभयो ?  कसैलाई के मन पर्दैन त कसैलाई के । तर, जब बजेटबाट प्राप्त हुने तातोपनको अनुभूति हुन्छ नि, त्यतिबेला तपाईंहरू सबैको चित्त प्रसन्न हुनेछ । त्यो अनुभूति गराउने जिम्मा मेरो भो । ´´  सहभागीहरू अलमलमा परे । ``बजेटबाट तातोपनको अनुभूति कसरी हुन्छ अध्यक्षज्यू ?´´ सबैको एउटै स्वरमा हल गुन्जियो। 

त्यसपछि अध्यक्षले आफ्नो वडाभित्र विनियोजित सबै योजना कार्यान्वयनका निम्ति उपभोक्ता समिति निर्माण गरिने र असन्तुष्ट सबै युवाहरूलाई कुनै न कुनै समितिको अध्यक्षताको अवसर प्रदान गरिने वचन दिए । युवाहरूले आआफ्ना रुचिबमोजिमको योजनाको नाम प्रस्तुत गरे। उनीहरूबीच हार्दिकतापूर्वक छलफल भयो । अध्यक्ष मुसुक्क मुस्कुराए अनि छलफलको निचोड सुनाए, ``गाउँपालिकाको इन्जिनियर र उपभोक्ता समितिका अध्यक्षबीच समन्वय कायम गरी योजनाको स्वाद, तीतो, पिरो, टर्रो जस्तोसुकै भएपनि कार्यक्रम सम्पन्न भएको दिन सबैका खल्ती तातो हुने वातावरण म बनाउने छु। तपाईंहरू यो कुरामा ढुक्क हुनुस् । अर्को साल फेरि स्थानीय तहको निर्वाचन हुनेछ। यही बजेटबाट प्राप्त हुने तातोपनको बलमा अर्को पाँच वर्षको निम्ति आफ्नो स्थानीय सरकार निर्माण गर्नुपर्ने अभिभारा तपाईं युवाहरूको काँधमा छ। बरु, बजेट पास भएको उपलक्ष्यमा तपाईंहरू भरे साँझ मेरो निजी निवासमा हुने रात्रिभोजमा आउनुहोला ।´´ सबैले तरर ताली बजाए । 

कार्यालय सहयोगीले बैठक कक्षको ढोका खोले। पानी पर्न रोकिएर आकाश छ्याङ्ग खारिएको थियो। चिसिएको वातावरणमा सूर्यको प्रकाशले न्यानोपन ल्याएको महसुस भयो। सबै युवाहरू रात्रिभोजमा पाइने मिठासको कल्पनामा मुख मिठ्याउँदै आआफ्नो बाटो लागे। उता अध्यक्षले तुरुन्तै इन्जिनियरसापलाई फोन गरेर युवाहरूसित भएको छलफलको बेलिबिस्तार लगाउँदै रात्रिभोजमा प्रमुख अतिथिको रूपमा सहभागी हुन निमन्त्रणा दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत सिग्देल
भरत सिग्देल
लेखकबाट थप