शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

बढ्दै नेपालबाट जुस निर्यात, भारत प्रमुख गन्तव्य

शनिबार, २२ वैशाख २०८१, १० : ३७
शनिबार, २२ वैशाख २०८१

काठमाडौँ । नेपालबाट विदेशतर्फ जुसको निर्यात निरन्तररुपमा बढ्न थालेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा नै ६ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको जुस निर्यात भएको छ । यो बढ्दो जुस निर्यातको तथ्यांक हो ।

नेपालबाट विदेशतर्फ पाइनएप्पल, गोलभेडा, अंगुर, सुन्तला, आँप र स्याउ तथा मिक्स फलफुलको जुस निर्यात हुँदै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालबाट चालू वर्षको साउनदेखि चैत महिनासम्मको अवधिमा सबैभन्दा बढी ४ अर्ब ५१ करोडको मिक्स जुस निर्यात भएको छ ।

यसपछि ४८ करोड ८५ लाख रुपैयाँको पाइनएप्पलको जुस निर्यात हुँदा ३५ करोड १६ लाख रुपैयाँको स्याउको जुस निर्यात भएको छ । यसबाहेक ९० करोड २३ लाख रुपैयाँको सुन्तलाको जुस निर्यात भएको तथ्यांकले देखाएको छ । यो ‘मिक्स जुस’को निर्यातपछि सबैभन्दा धेरै हो ।

५ करोड रुपैयाँभन्दा बढी अंगुरको जुस निर्यात हुँदा ४ करोड २६ लाख रुपैयाँको गोलभेँडाको जुस निर्यात भएको छ । यस्तै ११ लाख रुपैयाँको आँपको जुस निर्यात भएको तथ्यांक भन्सार विभागले दिएको छ । चालू वर्षमा भएको जुसको निर्यात गत आर्थिक वर्ष २०७९÷८० को वर्षभरिको निर्यातको हाराहारी नै छ ।

गत आर्थिक वर्षभरीमा नेपालबाट ६ अर्ब ६३ करोड रुपैयाँको जुस निर्यात भएको थियो । जबकि चालू वर्षको ९ महिनाको अवधिमा नै ६ अर्ब ३५ करोड रुपैयाँको जुस निर्यात भएको छ । यो गत आर्थिक वर्षभरिको तुलनामा २८ करोडले मात्रै कम हो ।

डाबर नेपालको व्यापार प्रमुख एचएस वेदी नेपालमा उत्पादित जुस भारतीय बजारमा लोकप्रिय रहेको बताउँछन् । रातोपाटीसँगको कुराकानीका क्रममा उनले भनेका थिए, ‘भारतमा खपत हुने रियल जुसको ६० प्रतिशतभन्दा बढी हिस्सा नेपालमा उत्पादित जुसले लिएको छ ।’

नेपालबाट विदेशतर्फ निर्यात हुने जुसको बढीजसो हिस्सा भारतमा जान्छ । भारतपछि चीन, अमेरिका, अस्ट्रेलिया, क्यानडा, इटाली, ब्राजिल र जर्मनीमा समेत नेपालमा उत्पादित जुस पुग्ने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप